राष्ट्रियसभा निर्वाचनमा एमाले हार्नसक्छ : केपी ओली

नेपालभ्युज

राष्ट्रियसभा निर्वाचनमा एमाले हार्नसक्छ : केपी ओली
फाइल तस्वीर

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभा निर्वाचनको परिणाम आफूहरूका लागि प्रतिकूल आउन सक्ने बताएका छन्। पार्टीको जिल्लाहरूको अधिवेशनलाई शुक्रबार भर्चुअल माध्यमबाट सम्बोधन गर्दै अध्यक्ष ओलीले राष्ट्रियसभाको निर्वाचन पहिलेकै जनादेशलाई दुरुपयोग गरेर हुने भएकाले त्यसको परिणाम आफ्नो पार्टीको लागि प्रतिकूल हुने बताए।

उनले राष्ट्रियसभाको निर्वाचन पार्टीका लागि अनुकूल नभएपनि आफ्नो पार्टी मुलुकको पहिलो शक्ति रहेको बताए। अध्यक्ष ओलीले राष्ट्रियसभाको निर्वाचनमार्फत् सत्तारुढ गठबन्धनले आफ्नो पार्टीलाई गर्ने अन्तिम प्रहार भएको बताए। त्यो प्रहारबाट नआत्तिन र जनतामा भ्रम पर्न नदिन अध्यक्ष ओलीले पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए।

‘‘अहिले हाम्रा अगाडि राष्ट्रियसभाको निर्वाचनको परिणाम हाम्रा निम्ति अलि प्रतिकूल आउन सक्छ, तर त्यो कुनै यथार्थ जनमत होइन,” उनले भने, ‘‘विपक्षी गठबन्धन भन्ने अहिले जुन छ, यो अपवित्र गठबन्धन, यो प्रतिगामी गठबन्धन, यसको ४९ बाट ५१ हुन सक्छ, ४८ बाट ५२ हुन सक्छ, ४५ बाट ५५ हुन सक्छ। तर अहिले पनि हामी एक्लै अरुभन्दा माथि छौं।”

एमाले कसैसँग गठबन्धन नगरी एक्लै चुनौतीको सामना गर्ने उनको भनाइ थियो।

उनले संसद्बाट नभई अन्यत्रैबाट बनेको सरकारलाई करीब ३ करोड नेपाली जनताले आगामी निर्वाचनमा मतपत्रको माध्यमबाट अन्त्य गर्नुपर्ने बताए।

अध्यक्ष ओलीले नर्सिङ कलेजहरू हटाउने, हरेक ठाउँलाई पार्टीको भर्तीकेन्द्र बनाउने काम सरकारले गरिरहेको भन्दै आक्रोश समेत व्यक्त गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved