गोवामा रोनाल्डोको शालिकले जन्माएको बहस

नेपालभ्युज

गोवामा रोनाल्डोको शालिकले जन्माएको बहस

एजेन्सी। केही समयअघि मात्रै पोर्चुगलका फुटबल स्टार क्रिष्ट्रियानो रोनाल्डोको शालिक भारतको गोवा राज्यमा अनावरण गरियो। गोवा पोर्चगुलको पूर्व उपनिवेश हो।

त्यहीकारण अहिले शालिकलाई लिएर बहस सुरु भएको छ। गोवामा फुटबल लोकप्रिय खेल हो र यस खेलका सर्वोत्कृष्ट खेलाडीमध्येका एक रोनाल्डोको शालिक राख्दा युवाहरूलाई प्रेरणा मिल्ने एकथरीको तर्क छ।

आलोचकहरू यहाँ रोनाल्डो नभएर स्थानीय खेलाडीको प्रतिमा राख्नुपर्ने तर्क गर्छन्। भारतीय टिममा विगत र वर्तमान समयमा पनि गोवाका फुटबलरहरूले योगदान गर्दै आएका छन्।

”समिर नइक र ब्रुनो काउटिन्होजस्ता हाम्रा आफ्नै आर्दशको शालिक हामीले बनाउनुपर्ने थियो। रोनाल्डोको शालिक बनाउनु निकै दुखद् कुरा हो,” आईएएनएस न्युजि एजेन्सीसँग एक स्थानीयले भने।

अनावरण कार्यक्रममा केही स्थानीयहरूले कालो झन्डा देखाएका थिए।

पुरानो सम्बन्ध

पोर्चुगलको फुटबल टिम गोवामा निकै प्रसिद्ध छ। उपनिवेशदेखिको सम्बन्धका कारण गोवाका स्थानीयहरू पोर्चगुल जाने गरेका छन् वा पोर्चुगलमा उनीहरूका परिवारका सदस्य छन्।

गोवाले पोर्चुगलबाट स्वतन्त्रता पाएको ६० औं वर्षगाठँमा यहाँ रोनाल्डोको शालिक राखिनुलाई कतिपयले बेइज्जतीका रुपमा हेरेका छन्। बाँकी भारतले बेलायती शासनबाट स्वतन्त्रता पाएको १४ वर्षपछि मात्रै गोवा उपनिवेशबाट मुक्त भएको थियो।

”पोर्चुगलका फुटबलरको शालिक राख्नुलाई हामी निन्दा गर्छौं,” दक्षिणपन्थी अभियन्ता गुरु शिरोधकरले भने,”गोवामा स्वतन्त्रता संग्रामका धेरै योद्धाहरू छन्। जसको अपमान भएको छ।”

भारतमा क्रिकेट सर्वाधिक लोकप्रिय खेल हो। तर, दक्षिणमा कोरला, पश्चिममा गोवा, पूर्वमा पश्चिम बंगाल र उत्तरपूर्वका सबै आठ राज्यमा फुटबल लोकप्रिय छ।

यहाँका जनता इंलिस प्रिमियर लिग नियमितजसो हेर्ने गर्छन्। म्यानचेस्टर युनाइटेडबाट खेल्ने क्रिष्ट्रियानो रोनाल्डोलाई मन पराउनेहरूको संख्या पनि ठूलो छ।

रोनाल्डो फुटबल इतिहासकै सर्वोत्कृष्ट खेलाडीमध्ये एक मानिन्छन्। उनले शालिकबारे देखिएको बहसमा कुनै प्रतिक्रिया भने जनाएका छैनन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved