प्रचण्डको राजनीतिक प्रतिवेदन भन्छ : पुँजी बजारमा लगानी बढ्दा संकट आउँछ

नेपालभ्युज

प्रचण्डको राजनीतिक प्रतिवेदन भन्छ : पुँजी बजारमा लगानी बढ्दा संकट आउँछ

काठमाडौं । नेकपा माओवादी केन्दका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही समयअघि शेयरबजारबारे विवादित अभिव्यक्ति सार्वजनिक गरे।

जसको चौतर्फी आचालोनापछि केही सुधार गरेर नयाँ अभिव्यक्ति दिएका थिए। त्यतिबेला उनले भनेका थिए, “पुँजीबजार सम्राज्यवादको विकसित रूप हो।’ उनको सो अभिव्यक्तिको चर्को आलोचनापछि आफूले भन्न खोजेको विषयलाई गलत व्याख्या गरिएको स्पष्टीकरण दिएका थिए।

पुँजी बजारको इतिहासमै खराब अभिव्यक्तिको संज्ञा दिइएको उक्त विषयलाई थप पुष्टि गर्नेगरी उनले फेरि अर्को अभिव्यक्ति दिए। अध्यक्ष प्रचण्डले पार्टीको आठौं महाधिवेशन चलिरहेका बेला पुँजी बजारको लगानी अनुत्पादक भएको राजनीतिक प्रतिवेदनमै उल्लेख गरेका छन्।

पुँजीवादी अर्थ व्यवस्थाबारे उल्लेख गरिएको उक्त प्रतिवेदनको एक बुँदामा उल्लेख छ, ‘आजको भुमण्डलीकृत वित्तीय पुँजीवादको चरणमा बैंक र वित्तीय संस्थाहरूको त्यो भूमिकामा परिवर्तन आएको छ। पुँजीपतिहरूको हातमा अत्यधिक केन्द्रीकरण भएको अत्यधिक पुँजीलाई उत्पादनको क्षेत्रमा नभई मुख्यतः वित्तीय क्षेत्रमा लगानी गरी छाटो समयमा अत्यधिक मुनाफा लिनु वित्तीय पुँजीवादको प्रमुख विशेषता हो।’

यस्तो अवस्थाले संकट उत्पन्न भएको स्पष्ट पार्दै प्रतिवेदनको अर्को बुँदामा उल्लेख छ, ‘उत्पादनमुलक क्षेत्रबाट वित्त क्षेत्रमा पुँजी पलायन हुनाले समाजमा बेरोजगारी तथा विभिन्न प्रकारका संकट उत्पन्न भएका छन्। उत्पादनका क्षेत्रमा लगानी गर्दा धेरै मेहनत गर्नुपर्ने, मजदुर आन्दोलनको सामना गर्नुपर्ने नाफा पनि कम आउने हुँदा पुँजीपतिहरूले अरूको सम्पत्ति हडपेर छोटो समयमा अकुत सम्पत्ति आर्जन गर्न पुँजीलाई शेयरबजार, मुद्रा बजार, धितोपत्र खरिदबिक्री तथा घरजग्गा किनबेचमा लगानी गर्न थालेका हुन्।’

प्रचण्डको उक्त अभिव्यक्तिको चर्चा अहिलेसम्म नभए पनि यसअघिकै अभ्व्यिक्तिलाई थप पुष्टि गरेको हुँदा बजारमा यसको प्रभाव पानै विश्लेषकहरू बताउँछन्। प्रचण्डले दिने यो अभिव्यक्तिलाई पुँजी बजारले झनै महत्वका साथ हेर्न गर्छ। प्रचण्डकै विश्वासपात्रका रूपमा चिनिने अर्थमन्त्री जनार्दन शर्माले पनि प्रचण्डको अभिव्यक्तिलाई नै पछ्याउने भन्दै प्रचण्डले दिने कैयन् अभिव्यक्ति नै अर्थ मन्त्रालयबाट आउने ठान्दछन्।

उसो त राजनीतिक नेतृत्व तथा जिम्मेवार निकायका अधिकारीहरूको बोलीकै कारण पछिल्लो महिना शेयर बजारमा निकै उतारचढाव देखा पर्‍यो। बजार चलेको कुनै पनि शेयर मूल्य अत्यधिक घटेर सर्किट ब्रेक लाग्यो भने कुनै दिन बढेरै पनि ब्रेक लाग्यो। यसो हुनुको प्रमुख कारण जिम्मेवार व्यक्तित्व अभिव्यक्तिहरू भएको विश्लेषकहरू बताउँछन्।

चालू आर्थिक वर्षको शुरुवातीदेखि नै उतारचढावको स्थितिमा रहेको शेयर बजारमा पछिल्लो महिना राजनीतिक नेतृत्वको आँखामा पर्‍यो। फलस्वरुप बजारबारे विभिन्न अभिव्यक्तिहरू आइ नै रहेका छन्।

गत साता अर्थमन्त्री जनार्दन शर्मा प्रभाकर आफैं शेयर बजारबारे नकारात्मक बोलेको आरोप लाग्यो। अर्थमन्त्री शर्माले शेयर बजारलाई ‘हावा भरिएको बेलुन’ भन्दा बजारमा ‘नो भोट’ को अभियान नै चलेपछि उनले अभिव्यक्ति फेरि सच्याए। उक्त साताभर केही सीमित कम्पनीको मात्र शेयरको अवस्था राम्रो रह्यो, अन्यको खस्कियो।

त्यसपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एक कार्यक्रममा दिएको अभिव्यक्तिले फेरि शेयर बजारमा धक्का पुग्यो।

त्यसो त अर्थमन्त्रीहरूले यस्तो अभिव्यक्ति दिएको यो पहिलो पटक होइन २०७४ सालमा पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा र २०६५ सालमा डा. बाबुराम भट्टराईले पनि शेयरबजारबारे नकारात्मक अभिव्यक्ति दिएका थिए।

डा. खतिवडाले बजारलाई अनुत्पादक क्षेत्र भनेका थिए भने डा. भट्टराईले त यसलाई जुवाघरको संज्ञा दिएका थिए। २०७४ सालमा डा. खतिवडाको अभिव्यक्ति र २०६७ सालमा तत्कालीन अर्थमन्त्री डा. भट्टराईको अभिव्यक्तिले पनि शेयर बजारमा ठूलो संकट उत्पन्न गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved