कोभिडविरुद्ध खोप आयातको झण्डै एक वर्ष : कस्तो छ अवस्था ?

विभिन्न माध्यमबाट खोप आएको यो एक वर्षको समयमा (५ पुससम्म) सरकारले एक करोड ९९ लाख २२ हजार १६४ जनालाई खोप लगाउने बाचा गरेको थियो। त्यसअनुसार कतिले लगाए त ?

कोभिडविरुद्ध खोप आयातको झण्डै एक वर्ष : कस्तो छ अवस्था ?

काठमाडौं। नेपालमा कोभिड-१९ विरुद्ध खोप अभियान सञ्चालन भएको झण्डै एक वर्ष पुग्न लागेको छ। विभिन्न माध्यमबाट खोप आएको यो एक वर्षको समयमा ( चैतसम्म) सरकारले एक करोड ९९ लाख २२ हजार १६४ जनालाई खोप लगाउने बाचा गरेको थियो।

तर यसमध्ये ६१ प्रतिशतले पहिलो मात्रा र ४८ दशमलव ४ प्रतिशतले मात्र दोस्रो मात्राको खोप लगाउन पाए। सारमा भन्दा कूल जनसंख्यामध्ये ४० प्रतिशले पहिलो र ३१ प्रतिशतले खोपको पूर्ण मात्रा लगाएका स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाएको छ।

४ पुससम्ममा प्रदेश १ मा पहिलो मात्रा खोप ५३ प्रशितशतले लगाए भने दोस्रो मात्रा ४५ प्रतिशतले लगाए। यस्तै प्रदेश २ मा पहिलो मात्रा ४२ र दास्रो मात्रा ३४ प्रतिशतले लगाएका परिवार कल्याण महाशाखा बताउँछ।

त्यसैगरी बाग्मती प्रदेशमा पहिलो मात्रा लगाउने ७५ र दोस्रो मात्रा लगाउने ७० प्रतिशत रहे। गण्डकीमा  ८० प्रतिशत जनसंख्याले पहिलो र ६६ प्रतिशतले दोस्रो मात्रा लगाए। लुम्बिनी प्रदेशमा भने ७० प्रतिशत पहिलो र ४० प्रतिशतले दोस्रो मात्राको खोप लगाएका महाशाखाले जनाएको छ।

कर्णाली प्रदेशमा भने ४८ प्रतिशतले मात्र पहिलो मात्रा लगाएका छन् भने दोस्रो मात्रा लगाउने ३५ प्रतिशत मात्र छन्। दोस्रो मात्र लगाएका छन्। यस्तै सुदूरपश्चिम प्रदेशमा ५६ प्रतिशतले पहिलो र ४३ प्रतिशतले दास्रो मात्रा लगाएका महाशाखाले जनाएको छ।

अहिलेसम्म कति आयो खोप?

५ पुससम्म नेपालमा तीन करोड ८५ लाख ३९ हजार ८४७ खोपको मात्रा आएको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाअन्तर्गत आपूर्ति व्यवस्थापन शाखाका प्रमुख डा.सुरेन्द्र चौरसियाले जानकारी दिए।

नेपालमा हालसम्म ९४ लाख ८६ हजार पाँच सय कोभिशिल्ड खोपको मात्रा आएको छ। जसमध्ये २० लाख मात्रा नेपाल सरकारले खरिद गरेको हो भने बाँकी खोप भारत र कोभ्याक्स सुविधामार्फत ल्याइएको आपूर्ति शाखाका फार्मेसी अधिकृत बढेबाबु थापा मगरले बताए।

त्यस्तै भेरोसेल खोप एक करोड ८५ लाख ५१ हजार ४८७ खोप आएको छ। जसमध्ये एक करोड १५ लाख जति खोप खरिद गरिएको र बाँकी अनुदानस्वरूप प्राप्त गरिएको डा.चौरसिया बताउँछन्।

उनका अनुसार अमेरिकी र जर्मन सरकारले कोभ्याक्स सुविधामार्फत जोनसन एण्ड जोनसनको ३७ लाख १० हजार पाँच सय डोज खोप आएको छ। एक लाख ६ लाख २० हजार फाइजरको मात्रा पनि कोभ्याक्स सुविधाबाटै नेपालले प्राप्त गरेको हो। मोर्डनाको ३६ लाख ९१ हजार दुई सय डोज पनि अनुदानमै आएको हो।

त्यस्तै एस्ट्राजेनेकाको ३० लाख ३७ हजार ५६० डोज पनि अनुदानमै आएको उनले बताए। लगभग चार करोड खोपमध्ये डेढ करोड मात्रा नेपाल सरकारले खरिद गरेको हो भने बाँकी सबै अनुदानमै प्राप्त भएको हो।

सरकारले चैत अन्तिमसम्म लक्षित समूहलाई शतप्रतिशत खोप लगाइसक्ने लक्ष्य लिएको छ भने पुस मसान्तसम्म लक्षित समूहको ७५ प्रतिशतलाई खोप लगाइसक्ने सरकारको लक्ष्य छ।

त्यस्तै सरकारले लक्षित समूहलाई छिटोभन्दा छिटो नजिकैको खोप केन्द्रमा खोप लगाउन पनि अनुरोध गर्दै आइरहेको छ। ४ पुसबाट १२ देखि १७ वर्षसम्मका सबै बालबालिकाहरूलाई ५७ जिल्लाका सबै विद्यायालयबाट मोडर्ना खोप लगाइरहेको छ।

कति छन् कोल्ड रुम ?

कोभिड-१९ विरुद्ध सबै खोप भण्डारण गर्न फरक फरक तापक्रम चाहिन्छ। जसका लागि त्यसैअनुसार कोल्ड रुम बनाउनुपर्ने हुन्छ।

केन्द्रीय खोप भण्डारण टेकु काठमाडौंमा ८ वटा कोल्ड रुम छन् भने प्रदेश स्वास्थ्य केन्द्र विराटनगरमा चार वटा कोल्ड रुम रहेका फार्मेसी अधिकृत मगरले जानकारी दिए।

‘‘केन्द्रीय मेडिकल स्टोर, पथलैयामा चार वटा कोल्ड रुम, प्रदेश स्वास्थ्य केन्द्र जनकपुर र बुटवलमा तीन तीन वटा कोल्ड रुम छन् भने पोखरामा चार वटा छन्,” उनले भने।

त्यस्तै नेपालञ्जमा दुई र धनगढीमा तीन वटा कोल्ड रुम रहेका उनले बताए। भन्छन्, ‘‘एउटा कोल्ड रुमको क्षमता यति नै हुन्छ भनेर भन्न सकिँदैन, किनभने हरेक खोपको आकार फरक फरक हुन्छ।”

उनले उदाहरण दिँदै प्रस्टयाए, “जस्तैः दश हजार लिटरको कोल्ड रुममा कोभिशिल्ड खोप एक करोड डोज अट्न सक्छ भने भेरोसेल त्यति अट्दैन।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved