पुस्तक–समीक्षा

प्रीतिकर यात्राका सुरम्य बखान

कृतिमा हेलम्बु, मुस्ताङ, पोखरा, सिराइचुली, नारपाभूमि, कोरोला, रुबी भ्याली, सिन्धुलीका साथै काठमाडौं वरपरका चुलीहरू र इन्द्रदह घुम्दाखेरी बटुलिएका अनुभूतिहरू समेटिएका छन्।

नेपालभ्युज

प्रीतिकर यात्राका सुरम्य बखान

पर्यटन व्यवसायमा आबद्ध नियात्राकार राजेन्द्रमान डंगोल जुन धरालतमा पुग्छन्, त्यसभित्र छिपेका विविधतालाई शब्दले सिँगारपटार गर्न रत्तिभर कन्जुस्याइँ गर्दैनन्। आफूले पदचिह्न बिछ्याएका बाटा र गोरेटाहरू, आँखाले भ्याउन्जेल टिपेका भूदृश्यावलीहरूको सपाट वर्णन मात्र गर्दैनन्, अनेक खोजविन गर्नमा पनि उत्तिकै रुचि राख्छन्। उनको नियात्रामा आउँछन् इतिहासका कुरा। आउँछन् सांस्कृतिक वैशिष्ट्यहरू। आउँछन् मिथकीय कुराहरू। कोट्याउँछन् राजनीतिक विसंगतिका धर्साहरू। र, उत्तिकै घनीभूत रूपमा आउँछन्- सामाजिक र आर्थिक प्रश्नहरू पनि।

डंगोलको नवीन नियात्रा-कृति ‘पैतालामा हिउँ, आँखामा हिमाल’ पर्यटकीय दृष्टिले अनुपम ठानिएका केही थलोमा उनले साठीको दशकयता यात्रा गर्दा उब्जिएका अनुभूतिहरूको लेखोट हो। जुन कृतिमा हेलम्बु, मुस्ताङ, पोखरा, सिराइचुली, नारपाभूमि, कोरोला, रुबी भ्याली, सिन्धुलीका साथै काठमाडौं वरपरका चुलीहरू र इन्द्रदह घुम्दाखेरी बटुलिएका अनुभूतिहरू समेटिएका छन्।

हरेक नियात्राकारका लेखनमा आ-आफ्नै शिल्प, कथ्य, संवेदना, अर्थबोध र विश्लेषण गर्ने क्षमता हुन्छ। पर्यटन पेसामा भिजेका डंगोलको यात्रा-लेखन उद्देश्यपरक देखिन्छ र उनको लेखनमा अन्तरनिहीत केही विशेषताहरू सहजै फेला पार्न सकिन्छ। मूलतः कुनै ठाउँको यात्रा गर्दा उनी ऐतिहासिक, धार्मिक, पुरातात्विक, सांस्कृतिक, सामाजिक, आर्थिक सबै पक्षलाई पिँधमै पुगेर नियाल्न चाहन्छन्। हुन पनि, यात्रा सामाजिक अध्ययनको भरपर्दो माध्यम हो र जसबाट हाम्रो समाजको जीवन-पद्धतिलाई गहिराइमै पुगेर बुझ्न र नियाल्न सकिन्छ। डंगोलको लेखनको अर्को विशेषता के हो भने, उनले यात्रा गर्दा अन्य पक्षहरूका साथै समाज, राजनीति, सांस्कृतिकलगायत क्षेत्रमा व्याप्त अन्तरविरोधलाई पनि केलाउन चाहन्छन्।

‘फ्ल्यासब्याकमा हेलम्बु’ मा आमायाङ्ग्रीमा पुग्दा रानी राजराजेश्वरीलाई सो ठाउँमा राखिएको प्रसंग उप्काउँदै उनी नेपालको इतिहासको एक विडम्बनापूर्ण र दुःखद घटनातिर आफूलाई केन्द्रित तुल्याउँछन्, ‘१८६० सालमा काशीबाट काठमाडौं फर्किए भोगी राजा रणबहादुर शाह। उनलाई असहयोग गरेबापत दामोदर पाँडे काटिए। परिस्थितिले कोल्टे फे¥यो। सुवर्णप्रभाको ठाउँमा जेठी महारानी राजराजेश्वरी कैद हुन पुगिन्। त्यसपछि उनलाई पठाइयो हेलम्बु निर्वासनमा।’
धादिङको उत्तरी भेग रुबी भ्यालीमा यात्रा गर्दा भने इसाई धर्मको बढ्दो प्रभाव देखेर उनी चकित पर्छन् र काठमाडौं उपत्यका (कान्तिपुर, ललितपुर र भक्तपुर) का अन्तिम तीन मल्ल राजाहरूले इसाई धर्मप्रति देखाएको उदारताको चर्चा गर्छन्। इसाई धर्मको बढ्दो प्रभाव देखेर उनीभित्र प्रश्न सल्बलाउन पुग्छ, ‘एउटा सवालको ज्वारभाटा उठ्यो मेरो मनमा, सडकले परम्परागत गोरेटोलाई विस्थापित गरे झैं आयातित धर्मसंस्कृतिले कतै हाम्रो मौलिक कला र संस्कृति विलोप हुने त होइन ?’

जलवायु परिवर्तनको नकारात्मक प्रभावको कारण केही दशकयता पर्यावरणीय जगतमा देखा पर्दै गएको संकटप्रति सर्जकहरूले आफ्ना सिर्जनामार्फत चिन्ता प्रकट गर्दै आएका छन्। पूर्ववर्ती समयमा सर्जकहरूको चिन्ता र सरोकारको विषयभित्र जलवायु परिवर्तनले पु¥याएको नकारात्मक असरले स्थान पाउँदैनथ्यो। किनभने तात्कालिक समय यो संकट त्यति गहिरो भइसकेको थिएन। पछिल्लो समय भने यो विषय विश्वव्यापी चिन्ताभित्र समेटिएको छ। डंगोलको दृष्टि पनि बढ्दो पर्यावरणीय संकटतिर सोझिन्छ। ‘माझी गाउँका मनहरू’ मा उनको सरोकार सघन रूपमा पोखिएको छ, ‘फिस्टे चराका एकाध जोडी मात्र निस्किरहेका छन्, हरिया काँसका गाँजबाट। नदी तटमा त अरू खालका चरा पनि देखिनुपर्ने हो। खोइ त फ्यालफ्याले ? खोइ त पानीहाँस ? खोइ त जलपक्षी ? हृटिट्याउँधरी उडेका थिएनन्, सुनकोशीको आकाशमा।’

डंगोलले जुन भूगोललाई टेक्छन्, त्यहाँको प्राकृतिक भूदृश्यमा मात्र लोभिदैनन्, स्थानीय सांस्कृतिक माहोल र जागरुकताका साथै ऐतिहासिक पक्षबारे पनि बुझ्न खोजिहाल्छन्। उनको त्यही बुझ्ने हुट्हुटीले पाठकलाई उनीसँगै यात्रा गरिरहेको छु जस्तो अनुभूत गराउँछ, पक्कै पनि। अझ, कुनै ठाउँमा पुग्दा त लगत्तै फुर्छ- सम्बन्धित थलोलाई चिनारी गराउने गीतको स्थायी हरफ पनि। सिन्धुलीगढीको नाम सुन्नेबित्तिकै त्यसको ऐतिहासिक पाटोतिर विचारमग्न हुन पुग्छन् र गढी दरबारसँग सम्बन्धित कृष्णविक्रम थापाको गीत ‘सिन्धुलीगढी घुमेर हेर्दा…’ सम्झिइ हाल्छन्। सगरमाथाको प्रसंग आउने बित्तिकै जनकविकेशरी धर्मराज थापाको चर्चित गीत ‘हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरा…’ को यादमा डुबुल्की मार्न पुग्छन्।

यति मात्र होइन, कुनै ऐतिहासिक वा प्रतिभाशाली व्यक्तित्वको जन्मथलोमा टेक्दा त्यस्ता व्यक्तित्वको स्मरण गर्न चुक्दैनन्, उनी। मुस्ताङ यात्राको दौरान टुकुचे पुगेका उनले कवि भूपी शेरचनको काव्य-पंक्तिहरू सम्झिन थाल्छन्। भूपिका कतिपय कवितामा मुस्ताङ भेगको परिवेश अंकित छन्। भूपीले माछापुच्छ्रे, लेते खोलालाई आफ्नो काव्यमा प्रशस्तै समेटेका छन्। उनी भूपीको चर्चित काव्यहरफमा एकाएक डुबुल्की मार्न चाहन्छन्-

‘हरिया-हरिया पहाडका फरिया
अलिक तल सारेर
निर्मल, स्वच्छ र न्यानो घाममा
हिमालले सधैं ढाड सेकेको हुन्छ…।’

हाम्रा हरेकजसो भूभागसँग एउटा न एउटा मिथक जोडिएका छन्। कुनै मठमन्दिर होस् वा पृथक आकारप्रकारका ढुंगा वा नदीनालाहरू नै। सबैमा मिथक नै मिथक पाइन्छन्। आफू कुनै नयाँ ठाउँमा पुग्दा सुनेका मिथकलाई लेखनमा समेटेर अझै पठनीय बनाउन चाहेका छन् लेखकले। मुस्ताङ जाँदा थाकखोला क्षेत्रका चार चन अर्थात् शेरचन, तुलाचन, भट्टचन र गौचनको मिथकसँग जोडिएको एउटा प्रसंगलाई उनी यसरी सम्झिन्छन्, ‘चार चनका पुर्खाहरू तिब्बतको नोप्चेन भन्ने ठाउँबाट कर्णालीको सिँजा उपत्यकामा आएका थिए रे। त्यहाँ उनीहरूले खेतीपाती र पशुपालनबाट जीविकोपार्जन गर्न थाले रे। त्यहीं उनीहरूले चन्दनको एउटा ठुलो कल्पवृक्षलाई पुज्न थाले रे। एक पटक उनीहरूलाई डाह गर्ने स्थानीयले रुखको जरा काटिदिएछ। रुख सुक्दै जाँदा उनीहरूको दैनन्दिनी कष्टपूर्ण बन्दै गयो। आफूहरूले पुजेको रुख सुक्दै गएपछि उनीहरू अचम्भित भए। किन सुक्यो त रुख भनेर चारै चनका पुर्खाले एकएक ओटा हाँगा काट्दा प्रत्येकले काटेको हाँगाबाट एकएक ओटा चरा उत्पत्ति भएछन्। कस्तो अचम्म, गौचनले काटेको हाँगाबाट रातो, तुलाचनकोबाट हरियो, शेरचनकोबाट सेतो र भट्टचनकोबाट कालो चरा निस्केछ…।’

काठमाडौं वरपरका चुलीहरूलाई उनी ‘नजिकको तीर्थ हेलाँ’ को संज्ञा दिन्छन्। काठमाडौंमा बसोवास गर्नेहरूका पाइला शिवपुरी, जामाचो, इन्द्रदह, फुल्चोकीजस्ता रमणीय थलोहरूका कमै पर्छन्। यही यथार्थ बुझेका उनले उपत्यकालाई घेरेर बसेका तिनै रमणीय थलोहरूमा घुम्ने अग्रसरता देखाउँछन्। जैविक विविधताको खानी रहेका उपत्यका वरपरका डाँडाकाँडाहरूमा पुग्दा उनी बयान गर्न चुक्दैनन्, ‘सिस्नुदेखि गाँजासम्म, असुरोदेखि अमलासम्म, गन्धेको झारदेखि रानीसिन्कासम्म झुलिरहेका छन् भुइँभरि। औंला फिँजाइरहेका छन्, अडिरका पाँचऔंले पातले। नरम काँडेदार दानाका झुप्पा लागेका छन्, हेर्दा ठ्याक्कै कोभिडको आकृति जस्तै। कतै कोभिडको ओखती पनि यही त होइन भने झैं भान हुने। जडीबुटी त कति हो कति।’

नियात्रा-कृतिमा काव्यात्मक शैली हावी छ, जुन काव्यात्मक शैलीबाट पाठकले यात्राका स्वादिला विम्बहरू सहजै ग्रहण गर्ने सुविधा पाउँछन्। उनी लेख्छन्, ‘पन्छीका प्वाँखझैं निर्बाध फर्फराइरहेका छन्- खसु्र, झिंगाने, बाँझ र लिसोका पातहरू। झर्झराउँदो जवानी फिँजाइरहेका छन्, सडक छेउछाउका फूलहरूले। कतै सुकिला पैयुँ त कतै चिमाली र लालीगुराँस…।’

निश्चय नै, यात्रा मानवीय स्वभाव र प्रवृत्तिसँग जोडिएको विषय हो। यात्रालाई जीवनको नयाँ एवं सार्थक अर्थ खोज्ने अत्यन्तै प्रभावकारी माध्यमको रूपमा पनि परिभाषित गर्न सकिन्छ। यात्राले मानवभित्र सुषुप्त अवस्थामा रहेको ऊर्जालाई ‘रिचार्ज’ गर्न उत्तिकै सहयोगी भूमिका पनि खेल्छ। र, जीवनलाई व्यापक परिदृश्यतिर डोर्‍याउन घच्घच्याउँछ।

तर एक सामान्य यात्री र लेखनमा अभिरुचि राख्ने यात्रीबिच भने धेरै अन्तर पाइन्छन्। यात्रा-लेखकले आफूले स्पर्श गरेको स्थान, समाज, संस्कृतिलगायत पक्षलाई जुन कोणबाट नियालेका हुन्छन्, आफूले टेकेको थलो एवं दृश्यविम्बहरूमा लुकेको जीवनको रहस्यलाई जसरी उजागर गर्न चाहन्छन्, सामान्य यात्रीमा यस्तो कमै पाइन्छ। मूलतः मनुष्यता र प्रकृतिबिचको सम्बन्धलाई उजिल्याउन यात्रा-लेखकहरू सदैव अग्रसर रहन्छन्, जुन कुरा डंगोलको नियात्रा-कृतिमा स्पष्ट रूपमा दृष्टिगोचर हुन्छ।

डंगोलको नियात्रा-लेखनमा सांस्कृतिक, ऐतिहासिक चेतनाप्रति प्रष्ट जागरुकता देखिन्छ। ग्रामीण जनका निश्छलता र श्रमसौन्दर्यको रेखांकनका साथै इतिहासबोध पनि उनको लेखनमा बारम्बार आइरहन्छन्। यिनै पक्षहरूसहित भाषाको लयबद्ध प्रवाह, सहजता र सम्प्रेषणीयताका साथै छोटा र सरल वाक्यले पाठकलाई रत्तिभर झिजो तुल्याउँदैन। यसलाई नै डंगोलको लेखन कौशलको परिचय मान्नुपर्ने हुन्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved