सिटौलाको अबको बाटो : देउवा समूहमा कत्तिको प्रभाव पार्लान् ?

सिटौला ७२ वर्षको भइसकेका छन्। कांग्रेसमा युवाहरुको जर्बजस्त हस्तक्षेप बढिरहेका कारण पनि अर्कोपटक नेतृत्वमा दाबी गर्न उनलाई सहज हुनेछैन।

सिटौलाको अबको बाटो : देउवा समूहमा कत्तिको प्रभाव पार्लान् ?
फाइल फोटो

काठमाडौं । कृष्णप्रसाद सिटौलाले कांग्रेसको १४ औं महाधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवालाई सभापतिमा समर्थन गरेका छन्।  आफ्नो समूहका नेताहरुलाई देउवा प्यानलबाट महामन्त्री, सह–महामन्त्रीलगायत पदमा उम्मेदवार बनाउन सफल भएपनि उनी आफैं भने प्रतिस्पर्धामा उत्रिएनन्।

अघिल्लो महाधिवेशनमा उनी आफैं उम्मेदवार थिए। तर, त्यसको उपादेयता रामचन्द्र पौडेललाई हराउन र देउवालाई जिताउनमै सिमित रह्यो।

क्याम्प फेर्न माहिर
राजनीतिक विश्लेषक डा. राजेश गौतमका अनुसार सिटौलालाई केन्द्रीय राजनीतिमा ल्याउने काम कृष्णप्रसाद भट्टराईले तथा राष्ट्रिय राजनीतिमा स्थापित गर्ने काम गिरिजाप्रसाद कोइरालाले गरे। “झापाको स्थानिय राजनीतिमा अल्झिएका सिटौलालाई केन्द्रीय राजनीतिमा ल्याउने काम भट्टराईले गरेका हुन्,” डा.गौतम भने।

माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन महत्वपूर्ण भूमिका खेलेका सिटौला गिरिजाप्रसाद कोइराला नेतृत्वको अन्तरिम सरकारमा गृहमन्त्रीसमेत थिए।

१२ औं महाधिवेशनपछि सुशिल कोइरालाले उनलाई पार्टीको महामन्त्री र संविधानसभाको संवैधानिक मस्यौदा समितिको सभापतिसमेत बनाए। । लगातार सिटौलालाई यसरी महत्वपूर्ण जिम्मेवारी दिइएको वरिष्ठ नेता रामचन्द्र पौडेललाई चित्त बुझेको थिएन।

भविष्यमा, सिटौला आफ्नो प्रतिस्पर्धी बन्नसक्ने त्रास पौडेललाई थियो। र, १३ औं महाधिवेशन आइनपुग्दै यो साँचो ठहरियो। यस महाधिवेशनमा कोइराला क्याम्पको मुख्य टाउको दुखाई नै सिटौला बने।

पौडेललाई सभापति मान्‍न सिटौला तयार भएनन्। सुशिल कोइरालाको निधनपछि कोइराला क्याम्पको नेतृत्व आफैं गर्ने चाहना उनमा थियो। तर, वरिष्ठ नेता पौडेललाई पाखा लगाएर सिटौलालाई नेता मान्‍न कोइराला क्याम्प तयार देखिएन।

फलस्वरुप, कोइराला क्याम्प विभाजित गरेर सिटौलाले तेस्रो धार जन्माए। र, आफैं सभापतिको उम्मेदवार बने। उनले युवा मतदातालाई आकर्षित गर्न गगन थापालाई महामन्त्रीका रुपमा अघि सारेका थिए।

१३ ‍औं महाधिवेशनमा सभापतिका लागि भएको पहिलो चरणको निर्वाचनमा खसेको जम्मा मत ३ हजार १ सय २८ मतमा देउवाले १ हजार ५ सय ६४ मत प्राप्त गरे।  त्यस्तै, सभापतिका अर्का आंकाक्षी रामचन्द्र पौडेलले १ हजार १ सय ५४ र सिटौलाले केवल ३ सय २४ मत प्राप्त गरेका थिए।

यसरी, सभापतिको दौडमा तेस्रो हुँदै उनी पहिलो चरणबाटै बाहिरिए। तर, खेल यतिमै सकिएको थिएन।

दोस्रो चरणमा देउवा र पौडेलको भाग्यको फैसला गर्नसक्ने ‘तुरुप’ सिटौलासँगै थियो।
उनी देउवापट्टी खुल्दा पौडेल पराजित भए। कुल ३ हजार १ सय २० मत खसेको दोस्रो चरणको निर्वाचनमा देउवाले १ हजार ८ सय २२ मत र पौडेलले १ हजार २ सय ९६ मत ल्याए।

अधुरो महत्वाकांक्षा
१४ औँ महाधिवेशनमा सिटौलाले फेरि सभापतिमा लड्ने प्रचार गरे। तर अन्त्यमा, उम्मेदवारी दिनुको साटो देउवा प्यानलसँगै मिलेर अघि बढ्ने निर्णय लिए।

देउवालाई सभापतिमा समर्थन गरेबापत सिटौलाले दुई महामन्त्रीमध्ये एक महामन्त्रीमा भाग पाए,  त्यसमा उनले आफ्नो प्यानलका प्रदीप पौडेललाई उम्‍मेदवार बनाए।

यसपटक प्रदेश महाधिवेशनदेखि नै सिटौलाले देउवासँग सहकार्य गरिरहेका थिए। यही सहकार्यकै कारण उनी आफु पक्षीय उद्धव थापालाई प्रदेश १ मा सभापति जिताउन सफल भए।

उनले बागमति प्रदेशमा पनि देउवासँग सहकार्य गरे, सिटौला समूहबाट सभापति उठेका भीमसेनदास प्रधानकै समर्थनमा दोस्रो चरणमा देउवा पक्षका इन्द्र प्रधान सभापतिमा विजयी भए। पौडेल समूहका जगदिश्वर नरसिंह केसी पराजित भए।

यसरी, प्रदेशदेखि नै देउवा र सिटौलाले मिलेर जित्दै आएका छन्। जसकारण, अहिले देउवा र सिटौला समूह एकअर्कामा समायोजित भएजस्तै देखिन्छ। महामन्त्रीमा प्रदीप पौडेल विजयी हुनसके पार्टी र देउवा समूहमा सिटौलाको प्रभाव बढ्न सक्नेछ।

निधिको ठाउँ लिने प्रयास

यसअघि, विमलेन्द्र निधिलाई देउवा समूहको विरासत थाम्‍नसक्ने नेताको रुपमा हेरिएको थियो। देउवाले यस महाधिवेशनमा आफैं सभापति उठ्ने र अर्को महाधिवेशनमा निधिलाई सहयोग गर्ने वाचा नै गरेका थिए।

तर, निधिले मानेनन्। देउवा समूहबाट विद्रोह गरेर उनी आफैं सभापतिका उम्‍मेदवार बनेका छन्। यही महाधिवेशनबाट नयाँ नेतृत्व आउनुपर्ने अडानमा निधि कायम रहेकाले देउवालाई समस्या पर्ने आँकलन गरिएको थियो।

तर, कम्तिमा प्रदेश अधिवेशनमा यस्तो आँकलन फेल खायो ।

किनकी, प्रदेशमा देउवालाई सिटौला समूहको साथ रह्यो। कतै भविष्यमा देउवा समूहको नेतृत्व आफ्नै काँधमा लिनेगरी ‘‘सिटौलाले निधिको ठाउँ लिन खोजेका त होइनन् ?’’ अशंका उब्जिएको छ।

जवाफमा राजनीतिक विश्लेषक पुरञ्जन आचार्य भन्छन्,” विगतमा उनले नेतृत्व गरेको तेस्रो धारको उपादेयता भागवण्डामा मात्रै देखिएको छ। सिटौला नेतृत्व गर्नसक्ने व्यक्ति होइनन्।’’

पूर्णबहादुर र प्रकाशशरणको थ्रेट

सिटौला ७२ वर्षको भइसकेका छन्। उनी अर्को महाधिवेशनसम्म ७७ वर्षको भइसक्नेछन्। कांग्रेसमा युवाहरुको जर्बजस्त हस्तक्षेप बढिरहेका कारण पनि अर्कोपटक नेतृत्वमा दाबी गर्न उनलाई सहज हुनेछैन।

बरु, पूर्णबहादुर खड्का र प्रकाशशरण महतलाई भविष्यमा देउवा प्यानलको नेतृत्व गर्नसक्ने व्यक्तिका रुपमा हेरिएको छ। कर्णाली प्रदेशमा कांग्रेसको खम्बा मानिने ६८ वर्षीय खड्का देउवाका विश्वासपात्र हुन्।

उनी अहिले उपसभापति पदका उम्मेदवार छन्। देउवा प्यानलबाटै ६२ वर्षीय महत अहिले महामन्त्रीको उम्मेदवार छन्।

यी दुबै नेताले अफ्टेरो परिस्थितीमा पनि देउवाको साथ छाडेका छैनन्। देउवाले पार्टी फुटाएर कांग्रेस प्रजातान्त्रिक गठन गर्दा पनि उनीहरु साथमै थिए।

देउवा समूहमा निधि अनुपस्थित हुँदाको लाभ उठाएर आफुलाई स्थापित गर्ने ध्याउन्‍नमा उनीहरु पक्कै छन्।

तर, उनीहरुलाई पनि युवाकै चुनौती भारी पर्नसक्छ। यसपटक, कांग्रेसमा धेरै युवाहरुको जमात् महाधिवेशन प्रतिनिधिमा चुनिएको छ।

केन्द्रीय पदाधिकारीतर्फ उम्मेदवारी दिने युवाको संख्या पनि राम्रो छ। तत्कालका लागि कांग्रेसको शक्ति–समीकरण जेजस्तो देखिएपनि, भविष्यमा यसको प्रभाव ठूलो रहनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved