रामजानकी विवाह पञ्चमी महोत्सवको ‘मटकोर’ विधि सम्पन्न

महँगो गरगहना लगाएर सहभागी नहुन आग्रह

यसवर्ष विवाह पञ्चमीमा भारतको सीमावर्ती क्षेत्र र नेपालका विभिन्न स्थानबाट लाखौँ श्रद्धालु सहभागी भएका छन्।

नेपालभ्युज

रामजानकी विवाह पञ्चमी महोत्सवको ‘मटकोर’ विधि सम्पन्न

जनकपुरधाम। प्रदेश २ को राजधानी जनकपुरधाममा साताव्यापी रामजानकी विवाह पञ्चमी महोत्सवको आज पाँचौँ दिन मटकोर (माटो कोर्ने कार्य) विधि सम्पन्न भएको छ। जनकपुरधामको धार्मिक तथा ऐतिहासिक गंगासागरमा मंगलबार मिथिलाको परम्परा अनुसार भगवान् श्रीराम र जानकीको मटकोर गरी मटकोर विधि सम्पन्न गरिएको हो।

मटकोरमा प्रसादको रूपमा भिजाएको चना र चामल, मिट्ठा वितरण गरिन्छ। मिथिलामा विवाहको शुद्धिकरणका लागि मटकोर गर्ने परम्परा छ। मंगलबार जानकी मन्दिरको प्राङ्गणबाट बाजागाजासहित बिहेको वेदी बनाउन जनकपुरधामको ऐतिहासिक गंगासागर पोखरीमा माटो ल्याउन पुगेका थिए। पोखरीबाट जानकी मन्दिर भित्र्याइएको माटोले सीताराम विवाहका लागि वेदी तयार गर्ने चलन छ।

त्रेता युगमा मङ्सिर शुक्ल पञ्चमीका दिन भगवान् राम र सीताको विवाह जनकपुरधाममा भएको सम्झना स्वरूप मङ्सिर शुक्ल पञ्चमी तिथिका दिन परापूर्वकालदेखि नै जनकपुरधाममा प्रत्येक वर्ष धूमधामसँग विवाह पञ्चमी महोत्सव मनाउने गरिन्छ। यसवर्ष सप्ताहव्यापी कार्यक्रम अन्तर्गत शुक्रवार जनकपुरधाम नगर दर्शन, शनिवार फूलबारी लीला, आइतबार धनुष यज्ञ र सोमवार तिलकोत्सव विधि मनाइएको थियो र म‌गलबार मटकोर बुधवार स्वयंवर तथा विवाह र बिहीबार रामकलेवा विधिको आयोजना गरी महोत्सव सम्पन्न हुनेछ। यस वर्ष विवाह पञ्चमीमा भारतको सीमावर्ती क्षेत्र र नेपालका विभिन्न स्थानबाट लाखौँ श्रद्धालु सहभागी भएका छन्।

महँगो गरगहना लगाई सहभागी नहुन स्थानीय प्रशासनको आग्रह

महँगो गरगहना लगाई विवाह पञ्चमी महोत्सवमा सहभागी नहुन श्रद्धालुसँग जिल्ला प्रशासन कार्यालय धनुषाले अपिल जारी गरेको छ। विवाह पञ्चमीमा लाखौँ श्रद्धालु सहभागी हुने गरेकाले अत्यधिक भिडभाड हुन्छ। भिडभाडमा चोरी हुने सम्भावना रहने गरेकाले महँगो गरगहना लगाई विवाह पञ्चमीमा सहभागी नहुन धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले सूचना जारी गरेका छन्।साथै भिडभाडमा जोखिमयुक्त समान समेत लिएर नजान भनेका छन्। कोरोनाको जोखिम पनि कायमै रहेकाले विवाह पञ्चमीका सहभागीलाई अनिवार्य मास्क प्रयोग गर्न पनि प्रशासनले अनुरोध गरेको छ।

नेपाल–भारत प्रवेश नाकामा ‘हेल्थ डेस्क’ सञ्चालन

विवाह पञ्चमी महोत्सवलाई मध्यनजर गर्दै महोत्तरीका नेपाल–भारत प्रवेश नाकामा ‘हेल्थ डेस्क’ सञ्चालन गरिएको छ। महोत्सवका लागि भारतबाट नेपाल आउने श्रद्धालु भक्तजन, साधुसन्त र सर्वसाधारण लागि जिल्लाका नेपाल–भारत सीमा क्षेत्रका प्रवेश नाकामा ‘हेल्थ डेस्क’ सञ्चालन गरिएको हो। महोत्सवका लागि भारतीयहरू आउने मटिहानी र भिठ्ठामोड मुख्य प्रवेश नाका रहँदै आएका छन्।

जनकपुरधाममा आयोजना हुने विवाह पञ्चमी महोत्सवकै मुखमा भारतका विभिन्न ठाउँमा कोभिड–१९ को नयाँ भेरिअन्ट ‘ओमिक्रोन’ सङ्क्रमण पुष्टि भएपछि पूर्व सजगताका लागि ‘हेल्थ डेस्क’ सञ्चालन गरिएको हो। महोत्सवको मुख्य दिन विवाहपञ्चमीको एक दिन पूर्व भारतीय श्रद्धालु नेपाल प्रवेश गर्ने पुरानो परम्परा छ।

यसअनुसार भोलिको पञ्चमीका लागि भारतीय साधुसन्त र सर्वसाधारण मंगलबार नेपाल प्रवेश गर्दै छन्। नेपाल प्रवेश गर्नेहरूको स्वास्थ्य जाँचसहित प्रारम्भिक आकस्मिक उपचारलाई पनि मध्यनजर गर्दै औषधिको व्यवस्था पनि मिलाइएको मटिहानी नगरपालिकाका नगर प्रमुख हरि मण्डलले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved