राप्रपा महिला महामन्त्रीमा पूर्वराज्यमन्त्री र अभिनेत्रीको प्रतिस्पर्धा

थापाले आफ्नो प्यानलबाट पूर्वराज्यमन्त्री कुन्तीलाई अघि सार्दा यता लिङ्देन प्यानलमा अभिनेत्री रेखा समेटिएकी छन्।

नेपालभ्युज

राप्रपा महिला महामन्त्रीमा पूर्वराज्यमन्त्री र अभिनेत्रीको प्रतिस्पर्धा

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को जारी महाधिवेशनमा महामन्त्रीमा कुन्ती शाही र अभिनेत्री रेखा थापा आमनेसामने भएका छन्।

काठमाडौंको भृकुटीमण्डपमा जारी महाधिवेशनमा महिला महामन्त्रीका लागि शाही र थापा प्रतिस्पर्धामा उत्रिएका छन्। राप्रपामा एक जना महिलासहित तीन महामन्त्री निर्वाचित हुने व्यवस्था छ। अध्यक्ष, उपाध्यक्ष र महामन्त्री पदमा थापा र लिङ्देन पक्षले प्यानलसहित उम्मेदवारी दिँदै छन्। थापाले आफ्नो प्यानलबाट पूर्वराज्यमन्त्री कुन्तीलाई अघि सार्दा यता लिङ्देन प्यानलमा अभिनेत्री रेखा समेटिएकी छन्।

शाही दैलेखबाट राष्ट्रिय राजनीतिमा उदाएकी थिइन्। उनले कार्यकर्तादेखि जिल्ला नेता र सांसद् हुँदै स्थानीय विकास मन्त्रालयमा राज्यमन्त्रीको जिम्मेवारी सम्हाली सकेकी छन्।

शाहीले राप्रपाको महिला संगठनको केन्द्रीय अध्यक्षको भूमिकामा लामो समय काम गरिन्। लामो समय राप्रपामा काम गरेकी उनले पार्टीको संगठन विस्तारमा उल्लेखनीय योगदान दिएको उनी निकटवर्तीहरु बताउँछन्।

यता थापाको भने राजनीति यात्रा धेरै लामो छैन। पाँच वर्षअघि २०७३ मंसीरमा उनी राप्रपामा प्रवेश गरेकी हुन्। राजनीतिक यात्रा नयाँ भए पनि उनको कलाकारिता यात्रा भने छोटो छैन। १६ वर्षको उमेरदेखि नेपाली सिने क्षेत्रमा सक्रिय उनी केही वर्ष अघिसम्म चलचित्र जगतमा एकछत्र राज गर्न सफल थिइन्।

फिल्म क्षेत्रमा ‘वाहवाही’ कमाइरहेकै अवस्थामा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नाचेको भिडियोको चर्चा अहिले पनि हुने गर्छ। माधवकुमार नेपाल नेतृत्वको सरकार ढाल्नको लागि माओवादीले गरेको आन्दोलनमा प्रचण्ड र रेखा थापा ‘लालुपाते नुहियो भुईँतिर’ भन्ने गीतमा नाचेकी थिइन्।

त्यतिबेला माओवादी निकट थिइन्। तर खासै सक्रिय भने देखिइनन्। राप्रपामा आएपछि भने उनी सक्रिय गतिविधिमा क्रियाशील छिन्।

पार्टी विभाजनपछि २०७४ सालमा कमल थापाको साथ छाडेर पशुपति शमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकतर्फ लागेकी रेखा अहिले फेरि राजेन्द्र लिङ्देन समूहमा लागेकी छन्।

हाल तीन अध्यक्ष रहेको राप्रपामा महाधिवेशनले एकल अध्यक्ष स्थापित गर्दैछ। यसैले यो महाधिवेशनलाई महत्त्वका साथ हेरिएको छ। हालका एक अध्यक्ष कमल थापा र महामन्त्री राजेन्द्र लिङ्देनले आगामी नेतृत्वका लागि अध्यक्षमा प्रतिस्पर्धा गर्दैछन्।

अध्यक्ष थापा पक्षबाट उपाध्यक्षमा विक्रम पाण्डे, वुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान, जयन्त चन्द, रोशन कार्कीलगायत चर्चामा छन्। राप्रपामा एक महिलासहित तीन जना उपाध्यक्ष रहने व्यवस्था छ। लिङ्देन पक्षबाट जगत गौचन, दुर्गा श्रेष्ठ, श्याम तिमिल्सीना उपाध्यक्षमा आकांक्षी छन्।

महामन्त्री पदमा थापा पक्षबाट भाष्कर भद्रा, कुन्ती शाही र भुवन पाठकको चर्चा छ। साथै महामन्त्री पदमा लिङ्देन पक्षबाट गोविन्द खनिया, धवलशम्शेर राणा र रेखा थापा आकांक्षी छन्। राप्रपामा एक सय ९९ सदस्यीय केन्द्रीय कार्यसमितिमध्ये एक सय ४९ जनाका लागि निर्वाचन हुँदै छ भने बाँकी निर्वाचित अध्यक्षबाट मनोनीत हुन्छन्। सहमहामन्त्री ७ जना, कोषाध्यक्ष, सहकोषाध्यक्ष, प्रवक्ता, सहप्रवक्ता पनि निर्वाचित अध्यक्षबाट मनोनीत हुने व्यवस्था छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved