कोरोना कहर

अस्ट्रेलियाको सीमा बन्द हुँदा नेपाली विद्यार्थी मारमा

कोरोनाको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ दक्षिण अफ्रिकामा पहिचान भएपछि अस्ट्रेलिया, जापानलगायत केही देशहरूले सिमाना कडाइ गरेपछि पुन विद्यार्थी अन्योलमा छन्।

अस्ट्रेलियाको सीमा बन्द हुँदा नेपाली विद्यार्थी मारमा

काठमाडौं। कोभिड-१९ महामारीयता डेढ वर्षपछि पहिलोपटक खुलेको अस्ट्रेलियाको सीमा ओमिक्रोन भेरिएन्टको त्राससँगै फेरि बन्द भएको छ। यससँगै अस्ट्रेलिया जाने तयारीमा रहेका नेपाली विद्यार्थीहरुको सपनामा फेरि तुसारापात भएको छ।

विशेषगरी, ऋण लिएर भिसा प्रक्रिया अघि बढाएकाहरु आर्थिक संकटमा छन्। अस्ट्रेलिया पुगेपछि आकर्षक कमाई हुने आशमा ऋण लिएर भिसा प्रक्रिया अघि बढाउनेहरुको संख्या नेपालमा ठूलो छ।

अस्ट्रेलिया पढ्न जानका लागि त्यहाँको विश्वविद्यालयमा तिर्नुपर्ने शुल्क त अग्रिम बुझाउनै पर्यो‍, यसबाहेक ‘त्यहाँ पढ्दा खान  र बस्‍नका लागि आवश्यक पर्ने रकम बैंक खातामा सुरक्षित छ’ भनेर देखाउनुपर्ने नियम पनि छ। नेपाली विद्यार्थीहरुले ऋण काढेर सकी-नसकी यस्तो रकम देखाउने गरेका छन्।

मध्यम परिवारकी अनु खड्काले पनि गत वर्ष ऋण लिएर आफ्नो बैंक खातामा ५० लाख जम्मा गरेकी थिइन्। ‘अस्ट्रेलिया जान ‘नो अबजेक्सन लेटर’ (एनओसी) लिएर, आवश्यक कागजपत्र तयार गरी ५० लाख बराबरको रकम बैंकमा जम्मा गरेर राखेको थिएँ। भिसा नआएसम्म उक्त रकम बैँकमा नै राख्नुपर्ने नियम भएकाले आर्थिक संकट चुलिएको छ,’ उनले भनिन्।

केही समयका लागि भनेर उनका बुवाले आफ्नो नामको जग्गा धितो राखेर ऋण लिएका थिए। र, त्यसमा आफन्तसँग सापटी मागेर ५० पुर्या‍एका थिए। अहिले ऋणको ब्याज बुझाउनुपर्दाको पीडा एकातर्फ छ, अर्कोतर्फ छोरीको भिसा प्रक्रिया टुंगोमा नपुग्दाको दुख छ।

“भिसा लागेर कहिले जान पाइने हो थाहा छैन। डिसेम्बरबाट अस्ट्रेलिया जाने बाटो खुलेको थियो। तर, दक्षिण अफ्रिकामा पहिचान गरिएको कोरोनाको नयाँ भेरियन्टका कारण पुन आवागमन बन्द गरेकाले तनाव थपिएको छ”, अनुले भनिन्, “कोरोनाको महामारी नआएको भए अहिले अस्ट्रेलियामा पढिरहेको हुन्थें। अन्तर्राष्ट्रिय डिग्री पाउने सपनाको खुड्किलो उक्लँदै थिए। एक्कासी कोरोनाको आँधी-बेहेरीले भविष्य नै अन्योलग्रस्त बनेको छ।”

प्लस टु सकेर हेल्थ असिस्टेन्ट पढेकी सिन्धुपाल्चोककी सुनिता तामाङ पनि अस्ट्रेलिया जानका लागि तयार अवस्थामा छिन्। तर, भिसा आएको छैन।

अन्तर्राष्ट्रिय अंग्रेजी भाषा परीक्षण प्रणाली (आईएलटिएस)मा राम्रो अंक ल्याएपछि कलेज र युनिर्भसिटी खोजेर आवेदन दिएको उनले बताइन्। ‘केही समयपछि अफर लेटर आयो,’ उनले भनिन्,‘त्यसपछि नो अब्जेक्सन लेटर (एनओसी) बनाएर आवश्यक कागजपत्र र बैकिङ कारोबार सुरु गरेको थिएँ। अस्ट्रेलिया जाने मेरो सपना पुरा गरिदिन बुबाले ऋण काढेर बैंकमा पैसा जम्मा गरिदिनुभयो। त्यसपछि कोरोना महामारी एक देशबाट अर्को देशमा जान ठप्प भयो।’

उनले थपिन् “धेरै पैसा खर्च भइसक्यो। त्यसैले अब भिसा प्रक्रिया रद्द गर्न मन छैन। तर, बैंकमा देखाउन राखेको ३० लाखको ब्याज तिर्न पुन ऋण काढ्नु परेको छ।” अस्ट्रेलिया जाने प्रक्रियामा रहेका धेरै नेपाली विद्यार्थी र अभिभावकको समस्या यस्तै छ।

मंसिर पहिलो सातामा अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले अन्तर्राष्ट्रिय यात्रुका लागी सिमाना खोल्ने घोषणा गरेका थिए, त्यतिबेला अस्ट्रेलिया जाने पर्खाइमा रहेका नेपाली विद्यार्थी पनि आशावादी बने। तर, कोरोनाको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ दक्षिण अफ्रिकामा पहिचान भएपछि अस्ट्रेलिया, जापान लगायत केही देशहरूले सिमाना कडाइ गरे। जसकारण, विद्यार्थी फेरि अन्योलमा छन्।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाका अनुसार आर्थिक वर्ष २०७७-०७८ मा २७ हजार ९ सय ७८ जनाले एनओसी लिएका छन्। अघिल्लो आर्थिक वर्षमा ३४ हजार ९४ जनाले एनओसी लिएको शाखाले जनाएको छ।

यसमध्ये अहिले चार हजार ८४९ जना विद्यार्थीले अस्ट्रेलिया जानका लागि भिसा प्रक्रिया अघि बढाएका छन्। कोरोनाको नयाँ भेरिएन्टका कारण अस्ट्रेलियाको यात्रा केही पर धकेलिएको नेपाल शैक्षिक परामर्श संघका उपाध्यक्ष सेसराज भट्टराईले बताए।

‘कोरोनाका कारण विद्यार्थीले निकै ठुलो क्षति ब्यर्होनु पर्यो‍, उनले भने,‘कोरोना महामारी मन्थर हुने र अस्ट्रेलिया जान पाइने आशा राखेका केही विद्यार्थीमा मानसिक असर समेत परेको छ।’

यद्यपी, यो अन्यौल धेरै समय नरहने उनको दाबी छ। “प्रक्रियामा रहेका केही विद्यार्थीलाई योजना नै रद्द गरौं या निरन्त प्रयास गरौं भन्ने अन्योल छ। तर यस्तो अवस्था धेरै समय नरहने संकेत पाएको छु”, उनले भने, “अस्ट्रेलियन प्रधानमन्त्रीले कोरोना सँगसँगै हिँड्नुपर्ने धारणा राखेका छन्। त्यसैले, केही समयमै विद्यार्थी आवागमनको बारेमा अस्ट्रेलिया सरकारले निर्णय गर्न सक्ला।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved