‘सञ्चारको साधारणीकरण ढाँचा निर्माणको दुई दशक’ विषयक अन्तर्राष्ट्रिय सेमिनार हुँदै

नेपालभ्युज

‘सञ्चारको साधारणीकरण ढाँचा निर्माणको दुई दशक’ विषयक अन्तर्राष्ट्रिय सेमिनार हुँदै

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)ले ‘सञ्चारको साधारणीकरण ढाँचा निर्माणको दुई दशक’ विषयक अन्तर्राष्ट्रिय सेमिनार आयोजना गर्ने भएको छ ।

केयूको कला सङ्कायअन्तर्गत भाषा तथा आमसञ्चार विभागले सह-प्राध्यापक डा. निर्मलमणि अधिकारी (Dr. Nirmal mani adhikary) द्वारा प्रतिपादित सञ्चारको साधारणीकरण ढाँचा निर्माणको दुई दशक पूरा भएको अवसरमा उक्त सेमिनार आयोजना गर्न लागेको हो ।

भाषा तथा आमसञ्चार विभागले आउँदो जेष्ठ १३ गते विश्वविद्यालयको हात्तीवनस्थित कला सङ्काय प्राङ्गणमा आयोजना हुने सेमिनारका लागि गोष्ठीपत्रको सार (Abstracts)का लागि आह्वान गरिसकेको छ । सेमिनारमा आफ्नो अनुसन्धान पत्र प्रस्तुत गर्न चाहने अनुसन्धानदाता/अध्यताले वैशाख ३ गतेभित्र गोष्ठीपत्रको सार (Abstracts) बुझाई सक्नुपर्ने छ ।

अनुसन्धान पत्र प्रस्तुत गर्न इच्छुक प्राध्यापक, अध्यापक, पीएचडी सोधार्थी, विद्यार्थी तथा स्वतन्त्र अनुसन्धानकर्ताहरूले विश्वविद्यालयले तय गरेको विविध विषयमा अनुसन्धान पत्रहरू पेश गर्न सक्ने विश्वविद्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

अनुसन्धान पत्र प्रस्तुत गर्न चाहने अनुसन्धानकर्ता तथा अध्यताले सञ्चारको साधारणीकरण ढाँचा र सञ्चारका अन्य सिद्धान्तहरू/ढाँचाहरू बीचको तुलनात्मक विश्लेषण, डिजिटल युगमा भरतमुनिको नाटयशास्त्रको सान्दर्भिकता, साधरणीकरण मिडिया विश्लेषण प्रविधि तथा संचारयोग लगायतमा अनुसन्धान पत्र प्रस्तुत गर्न सक्ने विश्वविद्यालयले जनाएको छ।

सञ्चारको साधारणीकरण ढाँचा

नेपालमा सन् २००३ मा निर्माण गरिएको सञ्चारको साधारणीकरण ढाँचा दुई दशक अवधिमा थप अनुसन्धानले विकसित भएको छ । यो विश्वव्यापीरूपमा प्रख्यात सञ्चार ढाँचासमेत हो, जुन हाल विश्वका धेरै विश्वविद्यालयहरूमा पढाइन्छ भने विभिन्न विश्वविद्यालयहरू र विभिन्न विषयहरूका विद्वान् तथा अनुसन्धान दाताहरूले यस ढाँचाको आधारमा थप अनुसन्धान गरिरहेका छन्।

नाट्यशास्त्र र वाक्यपदीयका आधारमा सञ्चारका शाब्दिक र गैरशाब्दिक दुवै प्रकारबारे अन्वेषण गरी सञ्चारको साधारणीकरण ढाँचा प्रस्तुत गरिएको छ । साधारणीकरणढाँचाका सन्दर्भमा सञ्चारलाई सहृदयताप्राप्तिको प्रक्रियाका रूपमा विवेचना एवम् सञ्चारप्रक्रियाको आधिभौतिक, आधिदैविक एवम् आध्यात्मिक आयामसमेत हुने विश्लेषण गरिएको छ । हिन्दूअवधारणाअनुरूपको सञ्चार सामञ्जस्य, समन्वय एवम् एकत्वका साथै मोक्षका लागिसमेत साधन बन्न सक्ने पनि उक्त शोधपत्रमा विवेचना गरिएको छ ।

सहृदय (प्रेषक र प्रापक), भाव, अभिव्यञ्जन, सन्देश, सरणि, रसास्वादन, सम्भाव्य दोष, सन्दर्भ र प्रतिक्रियालाई साधारणीकरणप्रक्रियाका तत्त्वहरूका रूपमा व्याख्या गरिएको छ । प्रेषकद्वारा अभिव्यक्त भाव उपयुक्त सन्देशको रूपमा सरणिमार्फत् प्रापकसम्म पुगी उसले सन्दर्भ एवम् सङ्केतको अनुकूलता र दोषको अभाव वा अपेक्षाकृत कम अस्तित्वमा त्यसलाई रसास्वादन गर्नु र त्यसको फलस्वरूप दुवै पक्षलाई साझापन वा एकत्वको अनुभूति हुनुलाई नै साधारणीकरण भनिएको छ । लौकिक वा भौतिक सन्दर्भमा हिन्दूअवधारणात्मक सञ्चारप्रक्रियाको उद्देश्य भावहरूको साझेदारी, पारस्परिक समझदारी, सहमति एवम् सामूहिक क्रियान्विति र उच्चतर रूपमा यसको उद्देश्य मोक्षप्राप्ति भएको पनि निष्कर्ष निकालिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved