लालकृष्ण आडवाणीलाई भारत रत्न दिने घोषणा

नेपालभ्युज

लालकृष्ण आडवाणीलाई भारत रत्न दिने घोषणा

काठमाडौं । भारतीय जनता पार्टीका वरिष्ठ नेता तथा पूर्व उपप्रधानमन्त्री लालकृष्ण आडवाणीलाई देशको सर्वोच्च नागरिक सम्मान भारत रत्नले सम्मान गर्ने घोषणा गरिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले सोसल मिडिया साइट एक्समा यसको घोषणा गरेका छन् ।

उनले सो घोषणा गर्दै लेखेका छन्, ‘लालकृष्ण आडवाणी जीलाई भारत रत्नबाट सम्मानित गरिने जानकारी गराउन पाउँदा मलाई धेरै खुशी लागेको छ । मैले उहाँसँग पनि कुरा गरेँ र उहाँलाई यो सम्मानबाट सम्मानित भएकोमा बधाई दिएँ ।’

भारतको विकासमा आडवाणीको योगदान अविस्मरणीय रहेको मोदीको भनाई छ ।

को हुन् आडवाणी ?

लालकृष्ण आडवाणी अहिले ९६ वर्षका छन् । उनी बीजेपीका ती अनुहारहरूमध्ये एक हुन् जसले १९९० को दशकमा श्री राम मन्दिर आन्दोलनको नेतृत्व गरेका थिए।

नब्बे दशकमा विश्व हिन्दू परिषदले अयोध्या, काशी र मथुराका मन्दिरहरूलाई ‘मुक्त’ गराउन अभियान चलाएको थियो । त्यसअन्तर्गत लालकृष्ण आडवाणीले सोमनाथदेखि अयोध्यासम्मको रथयात्रा निकालेका थिए।

२५ सेप्टेम्बरबाट सुरु भएको रथयात्रा ३० अक्टोबरमा अयोध्या पुग्ने थियो । तर, विहारका तत्कालीन मुख्यमन्त्री लालुप्रसाद यादवले उनलाई अक्टोबर २३ मा समस्तीपुर जिल्लाबाट पक्राउ गरेका थिए ।

मस्जिद भत्काउने षड्यन्त्र गरेको आरोपमा आडवाणीविरुद्ध फौजदारी मुद्दा पनि दायर गरिएको थियो। उनी हाल भाजपाको मार्गदर्शक मण्डलमा छन्। तर, उनी अहिले सार्वजनिक जीवनमा खासै सक्रिय देखिँदैनन् ।

लालकृष्ण आडवाणी बाल्यकालदेखि नै राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस)सँग सम्बन्धित छन्। एकपटक राजस्थानको माउन्ट आबुमा ब्रह्मा कुमारी ईश्वरीय विद्यालयको एक कार्यक्रममा आडवाणीले भनेका थिए, ‘म बाल्यकालदेखि नै जुन संस्थासँग आबद्ध छु र यो संस्था आरएसएस हो, त्यसप्रति म सम्मान र गर्व गर्छु।’

संक्षिप्त जीवनी

  • आडवाणीको जन्म ८ नोभेम्बर १९२७ मा कराँचीमा ।
  • उनको स्कुल पढाइ कराँचीमा भएको थियो । त्यसपछि उनले हैदराबाद (हाल सिन्ध, पाकिस्तान)को कलेजमा अध्ययन गरे ।
  • सन् १९४४ मा कराँचीमा एक शिक्षकको रूपमा काम गरे र त्यसपछि विभाजनपछि सेप्टेम्बर १९४७ मा भारत आए ।
  • सन् १९४२ मा स्वयंसेवकको रूपमा राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस)मा सामेल । भारतमा पनि आरएसएसमा सक्रिय रहे र केही वर्ष आरएसएस मुखपत्र आयोजकमा पनि काम गरे ।
  • सन् १९७० मा पहिलो पटक राज्यसभा पुगेका थिए । १९७२ मा भारतीय जनसंघ के अध्यक्ष निर्वाचित ।
  • सन् १९७५ मा आपतकालका बेला जनसंघका सदस्यहरूसँग जेलमा रहे ।
  • मार्च १९७७ देखि १९७९ सम्म मोरारजी देसाईको सरकारमा सूचना तथा प्रसारण मन्त्री ।
  • सन् १९९० मा सोमनाथदेखि अयोध्यासम्म राम रथयात्रा सुरु गरेका थिए ।
  • सन् १९९८ मा वाजपेयी सरकारमा गृहमन्त्री र उपप्रधानमन्त्री । २००४ देखि २००९ सम्म लोकसभामा विपक्षी दलका नेता ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved