दोस्तोएभ्स्कीको २००औं जन्मजयन्ती

६ नेपाली लेखकको दृष्टिमा फ्योदोर दोस्तोएभ्स्की

६ नेपाली लेखकको दृष्टिमा फ्योदोर दोस्तोएभ्स्की

रुसी साहित्यकार फ्यादोर दोस्तोएभ्स्कीको आज दुई सयौं जन्मजयन्ती। ११ नोभेम्बर१८२१ मा जन्मिएका उनले विश्व साहित्यमा दिएको देन आज पनि उत्तिकै स्मरणीय छ। ‘क्राइम एन्ड पनिसमेन्ट’, ‘द इडियट’, ‘डेमोन्स’ र ‘द ब्रदर्स करमाजोभ’ उनका प्रसिद्ध उपन्यास हुन्। मानव मनोविज्ञानका अँध्यारा पाटाहरू उजिल्याउने दोस्तोएभ्स्की मूलतः अन्तरविरोधका द्रष्टा हुन्। उनका हरेकजसो साहित्यमा मानिसको मनमा हुने अन्तद्र्वन्द्व केलाइएको हुन्छ। मानव मनोविज्ञानको सुक्ष्म चित्रण गरेर समाजको कथा भन्ने शैली दोस्तोएभ्स्कीको विशेषता हो। उनले तत्कालीन रुसी समाजले मूलतः मध्यम र तल्लो वर्गमा सिर्जना गरेको मनोदशा उजागर गरेका छन्। नेपालीमा अनुवाद नभए पनि अंग्रेजी र हिन्दी भाषाबाट दोस्तोएभ्स्की नेपाली पाठकमाझ परिचित छन्। दोस्तोएभ्स्कीले नेपाली साहित्यलाई कस्तो प्रभाव पारे त ? उनलाई किन सम्झिने ? कसरी सम्झिने ? नेपालभ्यूजका काशीराम बजगाईंले ६ लेखकलाई यस्तै प्रश्न गरेका छन्।

दार्शनिक, अर्थविद् र समाजशास्त्रीभन्दा माथि

नारायण ढकाल

दोस्तोएभ्स्की आफ्नो समयको प्रचलित परम्परा भन्दा बेग्लै र मान्छेको अन्तःस्करण आवाज सुनेर लेख्ने लेखक लाग्छ मलाई। अरु धेरै लेखकहरुले बाहिरको सतही कुराहरु लेख्ने गरेकोमा उहाँ मानिसको भित्री कुरा लेख्ने सामर्थ्य भएको लेखक हो। उहाँको विशेषता चाहिँ चरित्र र विचारमा रंगहरुको बहुलता भर्न सक्नु हो। अन्तःस्करणको धेरै ठूलो आयामलाई उहाँले अभिव्यक्त गर्नुभयो।

उहाँको ‘क्राइम एण्ड पनिसमेन्ट’, ‘अ रअ युथ’, ‘द गेमर’, ‘द ब्रोदर्स करमाजोभ’ लगायत थुप्रै किताब र साना साना धेरै रचनाहरु छन्। मुलरुपमा यी रचनाहरु कालजयी रचना हुन्। वास्तवमा आज पनि उहाँले लेखेको विषय धेरै अद्भूत छ। पुरानो हुँदै त्यो त्यति शक्तिशाली छ। मान्छेको मस्तिष्कको जटिलताहरुको तहसम्म पुग्नसक्ने क्षमता उनका रचनामा देखिन्छ। रुसि साहित्यमा टोल्सटोयहरु हुनुहुन्छ, उहाँको छुट्टै महत्व छ। तर दोस्तोएभ्स्की टोल्सटोयभन्दा धेरै परको लेखक हो।

उपन्यासमा उहाँको जुन काव्यशास्त्र छ, त्यस्तो किसिमको क्षमता विश्वमा धेरै कम लेखकमा छ। मान्छेका कतिपय स्थिति समयले बदल्दैन। समयले बदल्ने केही भौतिक कुराहरु होलान्। तर आत्माको आवाज पहिले जस्तो थियो अहिले पनि त्यस्तै छ। समाज जटिल हिसाबले बनेको छ। शुत्रमा बाँध्न खोजेर अर्कै किसिमले संरचना निर्माण भएको छ। त्यो दोस्तोएभ्स्कीले लेखेका छन्। आजको दिनमा दोस्तोएभ्स्कीलाई पढ्ने सन्दर्भमा कुनै दार्शनिक, अर्थविद् र समाजशास्त्रीले भन्दा पनि अझ गहिराईमा गएर दोस्तोएभ्स्कीले लेखेका छन्।

व्यक्तिगत रुपमा दोस्तोएभ्स्की मलाई धेरै मन पर्छन्। समाजलाई बुझ्न धेरै हाँगाबिगा छरिएकोमा एकै स्रष्टाले समेटेको धेरै ठूलो कुरा हो। दोस्तोएभ्स्की हाम्रो समाजले पढ्न अत्यन्तै जरुरी भएकाले नेपालीमा पनि अनुवाद हुनुपर्छ।

मानिसको चेतनाका चिन्तक

अभि सुवेदी

दोस्तोएभ्स्कीलाई सम्झिँदा एउटा रमाइलो घटना के भने मैले भैँसीको ढाडमा बसेर दोस्तोएभ्स्कीलाई पढेको। स्कूलमा पढ्ने बेला दक्षिण भारतबाट आएका पादरीले अँग्रेजी बुझाइदिएकाले ‘द ब्रोदर्स करमाजोभ’ पढेँ। मजाले चरिरहेको भैँसीका ढाडमा बच्चा हुँदै पढेकाले समाजलाई चित्रण गरेको, मानिसका अन्तःस्करणका कुरा बुझ्ने कुरा भएन। त्यो बेला मैले अनौठो पात्र रहेछ भनेर मजा मात्रै लिएँ।

पछि प्रध्यापक भएपछि आधुनिक साहित्य पढाउने क्रममा दोस्तोएभ्स्कीलाई विस्तृतमा पढेँ। ‘नोट्स फ्रम द अन्डरग्राउन्ड मेन’को एउटा पात्र छ, जुन आधुनिक साहित्यको अग्रज तथा पुर्खा नै मानिन्छ। व्यक्तिकेन्द्रित मानिसको चित्रण दोस्तोएभ्स्कीले त्यसमा गरेका छन्। त्यो दुखी पात्र छ, त्यसले आफ्नो चिन्ता बोल्छ। आधुनिक साहित्यमा निजी चिन्ता र अन्तःमुखी मानवको पृष्ठभूमिमा समाजशास्त्रलाई उनले त्यहाँ अभिव्यक्त गरेका छन्। लगभग उनका लेखनमा त्यही विशेषता हो।

उनको जीवन पनि अनौठो अनौठो कालखण्ड भोगे। उनलाई फाँसी दिनुपर्छ भनियो। पछि उनको लेखनका कारण फाँसी रोकियो। तर उनले फाँसीमा जानैपर्छ भनेर फाँसी भएको ठाउँमा गएर डोरी लगाएर नाटकीय ढंगले त्यो कर्म पूरा गरे। तर झुण्डाएनन्। त्यसैले उनको जीवन नै नाटकीय वा अनौठो थियो। उनी आफू पनि दुखी मानिस थिए। उनी समाजको चित्रण गर्ने लेखक थिएनन्, मानिसको चेतनाको चिन्तन गर्ने लेखक थिए।

रसियन समाजभित्र भोगेका घटनाको चित्रण त्यहाँ छ, एउटा व्यक्ति कसरी भूमिगत हुन्छ समाजका कारण भन्ने त्यहाँ छ। त्यतिबेला रुसमा व्यक्तिको चेतनाको खासै महत्व थिएन, त्यसैले दोस्तोएभ्स्कीको लेखन विद्रोही स्वर पनि थियो। भूगोलको हिसाबले सामन्तहरुको ठूलो जमिन भएको समाज थियो रुस। माक्र्सले रुसमा कहिल्यै क्रान्ति होला भन्ने परिकल्पना पनि गरेका थिएनन् किनकी त्यो कृषि समाज थियो। उनले बेलायत, फ्रान्स र जर्मनी जस्ता देशमा औद्योगिक क्रान्ति हुन्छ सोचेका थिए, तर पछि भयो रुसबाटै। त्यसमा एउटा तरंग चेतनशील मानिसको समाजसँग द्धन्द्ध हुँदै गएको थियो। त्यही द्धन्द्धको अवस्थाको क्षणलाई व्यक्तिलाई केन्द्रित गरेर दोस्तोएभ्स्कीले लेखे।

व्यक्ति चेतनाको दृश्टिकोणले आधुनिक साहित्यको पथप्रदर्शक हुन् उनी। साहित्यमा दोस्तोएभ्स्कीले जुन चेतना प्रयोग गरे पछि गएर त्यो युगसम्बत चेतना भयो।

निजत्वका लेखक

कुमार नगरकाेटी

दोस्तोएभ्स्की मेरो सबैभन्दा मन पर्ने लेखक। मैले पढेको उसको पहिलो उपन्यास ‘द इडियट’ हो। इडियटपछि ‘क्राइम एण्ड पनिस्मेन्ट’, ‘द ब्रोदर्स करमाजोभ’ लगायत पढेँ। मलाई सबैभन्दा मन परेको चाहिँ ‘क्राइम एण्ड पनिस्मेन्ट’ हो। युवा कालमा पढेको दोस्तोएभ्स्की मेरो दिमागमा सँधैं बसिराख्ने पात्र हो।

दोस्तोएभ्स्कीको लेखनमा मेरो व्यक्तिगत अनुभव मलाई उनी सबैभन्दा मन पर्ने कारण उनी समाजभन्दा पनि ‘पर्सनाज’ (निजत्व)का लेखक हुन्। मानिसको मस्तिष्कमा छिरेर पर्सनाज, मानिसको मानसिक संरचनालाई सुन्दर ढंगले प्रोटेट गर्ने उनको ठाउँ अहिलेसम्म पनि कसैले लिएको छैन जस्तो लाग्छ मलाई। लियो टोल्सटोए पनि मलाई एकदमै मन पर्ने लेखक हुन्, तर अहिलेको समयमा दोस्तोएभ्स्की नै प्रासंगिक लाग्छ। मानसिक समाजका कुराहरु उनको लेखनमा प्रतिविम्वित हुन्छन्।

अहिलेको मान्छे एकदमै दिग्भ्रमित मान्छे हो। बजार छ, बजारको व्यापकता छ, उपभोक्ता छ, यति खण्डित छ, खण्डित व्यक्तित्वमा बाँचेको छ। यति धेरै बजारले मानिसलाई व्यक्तिगत ठाउँ नै दिएको छैन। कसैले सानो आवेगमा गल्ती गरेमा यस्तो समयको मान्छेमा त्यसलाई सक्काउनुपर्ने आवेग छ। अपराधको विरुद्ध उभिदा पनि अपराध नै लिएर उभिएको छ। त्यसकारण दोस्तोएभ्स्कीले त्यतिबेला लेखेको साहित्यले अहिले अझ बढी सान्दर्भीक छ।

 

भोक जगाउने लेखक

सगुना-शाह

क्लासिक साहित्यको शौकिन भए पनि मैले स्विकार गर्नैपर्छ, केही कथा र दुई उपन्यासहरू ‘त्राइम एन्ड पनिसमेन्ट’ र ‘नोट्स फ्रम अन्डरग्राउण्ड’ बाहेक मैले फ्योदोर दोस्तोएभ्स्कीलाई धेरै पढेकी छैन।

जोकोहीलाई साहित्यको भोक जगाइदिने उनका सदावहार लेखनीलाई धेरै नपढेकोमा दुखी पनि छु। अरु धेरै उपन्यासकारहरूको जस्तै दोस्तोएभ्स्कीका कथाहरू पनि उनका बाल्यकालीन मनोवैज्ञानिक उथलपुथल र अनुभव तथा एकतन्त्रीय शासन, वर्गीय विभेद, धार्मिक कट्टरता र जडसुत्रतावादी मान्यताका उपज हुन्।

त्यतिबेलाको होस् वा अहिलेको, हरेक समाजले युटोपियन समाज र पूर्णताको सपना देख्नेगरेको छ। खुशी, शक्ति र सफलताको खोजले सधैंभरी मानवजातिलाई दुःख र पीडा दिएको छ। वर्तमानमा पनि हाम्रो वरिपरि त्यसैको प्रतिविम्ब पाइन्छ। आदर्श परिकल्पनामा हामीले सांसरिकता बिर्सेका छौं। यहीँनेर दोस्तोवेभ्स्कीकका रचनाले दिने सन्देश उपयुक्त हुन्छ।

उनको समग्र लेखनीको सार हो, हरेक असलमा खराब र हरेक खराबमा असल लुकेको हुन्छ। त्यसैले हरेक मानिसलाई पुनरूत्थान र पुनर्निर्माणको अवसर दिइनुपर्छ। उनको यो सन्देश सधैं सही नहुनसक्छ र धेरै हदसम्म सत्य भने हो। यद्यपी मानिसको जीवन अकल्पनीय अवस्था आउनसक्छ जसले दोषी बनाइदिन्छ र जीवनपर्यन्तको संघर्षमा होमिदिन्छ।

 

चरित्र स्थापना गर्न सफल लेखक

बिना थिङ

पश्चिमी आधुनिक साहित्य पढ्दा दोस्ताएस्की छुटाउनै नहुने नाम हो। दोस्तोएभ्स्कीको लेशन शैली यति कालजयी छ कि आजका दिनमा उनलाई पढ्दा आँखा अगाडिको दृश्य राखेर पढे जस्तो लाग्छ।

आँखा अगाडि भएका घटना वर्णन गरे जस्तो लाग्छ, अर्थात् आजका दिनमा पनि उनको लेखन जीवन्त छ। डेढ सय वर्ष अघि लेखिएको उक्त उपन्यासको तुलनामा आजको हाम्रो लेखन त्यति सशक्त छैन। आज हामीलाई लेख्दा हतार छ, कम्तीमा दोस्तोएभ्स्कीलाई लेख्दा हतार थिएन भन्ने देखिन्छ। उनले मानिसको मनोविज्ञानलाई मसिनोसँग देखाएका छन्।

कुनै पनि अपराध जिन्दगीभरीका लागि हुँदैन, सच्चिने मौका दिनुपर्छ भन्ने आवाज उनले आजभन्दा डेढ सय वर्ष अगाडि उठाएका छन्। ‘क्राइम एण्ड पनिस्मेन्ट’मा मानिस अपराधी हुनुमा समाज कति कारक तत्व हुन्छ भन्ने देखाएको छ। अपराध गरेको खण्डमा पनि उसलाई सच्चिने ठाउँ दिनुपर्छ र अपराध गर्नेले पनि स्वीकार गरे अघि बढ्न सक्नुपर्छ। यति भएमा ऊ फेरि सामान्य जीवनमा फर्किन सक्छ।

उनी चरीत्र चित्रण अथवा चरित्र स्थापित गर्न सफल लेखक हुन् ।उनको ‘क्राइम एण्ड पनिस्मेन्ट’को रास्कोलनिकोब (रोद्या) भन्ने पात्र अहिले पनि कतै कुनै गल्लीमा हिँडिरहे जस्तो लाग्छ ।

अपराधको दोषी व्यक्तिभन्दा बढी समाज हो

नवीन तिवारी

दोस्तोएभ्स्कीको ‘क्राइम एण्ड पनिसमेन्ट’मार्फत हेर्दा समाजमा एउटा युवाको कथा छ त्यहाँ। त्यो युवाले आवेगमा आएर एउटा हत्या गर्छ। हत्यापछि उसलाई लगेर जेलमा हालिन्छ। कुनै पनि मानिसले आवेगमा आएर कुनै एक अपराध गर्छ भने उसको सिँगो जीवन सोही अपराधको सजायका लागि होइन भन्ने लेखकले देखाउन खोजेका छन्।

त्यो पात्रलाई रक्सी खुवाएर मार्न उक्साएर हत्या गराइन्छ। यसको दोषी त्यो व्यक्ति हो कि यो समाज ? यो समाज पनि दोषी हो भने उसको आयु एउटा सजाय पूरा गर्नका लागि मात्र उसको जीवन होइन भन्ने यो पुस्तकले उठाएको विषय हो। जीवनको कुनै कालखण्डमा कसैले कुनै अपराध गर्ला वा कुलतमा फस्ला, त्यो अवस्थामा हामीले सद्भाव देखायौँ भने त्यो युवा अपराधको मुखबाट फर्किन सक्छ भनेर बलियोसँग दोस्तोएभ्स्कीले उठाएका छन्। यो एकदमै मन परेको हो मलाई।

आवेगमा आएर कसैले केही गलत काम गर्छ भने त्यसलाई सक्काउने नभई सु्धार्ने काम गर्नुपर्छ भन्ने सन्देश उक्त पुस्तकले दिन्छ। कोही सुध्रिन्छ भने जिन्दगीभर उसले कुनै कालखण्डमा गरेको अपराधलाई लिएर उसको मूल्यांकन गर्न हुँदैन। कोही सच्चिने आधार देखाउँछ भने उसलाई सक्काउनैपर्छ भनेर समाज लाग्छ भने त्यो अपराधको दोषी व्यक्ति कि समाज ?

उक्त उपन्यासमा त्यो पात्रलाई उसको आमा र प्रेमिकाले साथ दिन्छन् र अन्तमा ऊ जेलबाट निस्किँदा सुध्रिएर निस्किएको छ। त्यतिखेरको रसियन समाजको जुन किसिमको मानसिकता थियो त्यो लेखकले देखाएका छन्। त्यतिखेर रसिया कृषिप्रधान समाज थियो, उक्त कथाको दृश्यमा अहिले हाम्रो नेपाली समाज जस्तो छ त्यस्तै देखिन्छ। भलै सबै आयात भारतबाट गरेपनि अहिले नेपाललाई कृषिप्रधान मुलुक भनिन्छ।

त्यतिखेरको समय र अहिलेको नेपालको समाज हेर्दाखेरी समान देखिन्छ। हाम्रो समाजमा भड्किएको युवालाई ट्र्याकमा ल्याउने काम समाजको जिम्मेवार भनिएको व्यक्तिको दायित्व हो, राज्यको दायित्व हो। यसले भोलि कुनै अपराध गरेर जेल परेको मान्छेले पनि समाजमा राम्रो देन दिनसक्छ भन्ने सन्देश उक्त पुस्तकले दिएको छ। त्यसैले दोस्तोएभ्स्कीलाई यो समाजले पढ्न जरुरी छ जस्तो मलाई लाग्छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved