काठमाडौं आइपुगे प्रधानमन्त्री देउवा

बेलायतको ग्लास्गोमा भएको संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (कोप-२६) पक्षको २६ औँ सम्मेलनको वर्ल्ड लिडर समिटमा भाग लिएर देउवा स्वदेश फर्किएका हुन्।

नेपालभ्युज

काठमाडौं आइपुगे प्रधानमन्त्री देउवा
फाइल तस्वीर

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा काठमाडौं आइपुगेका छन्। बेलायतको ग्लास्गोमा भएको संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (कोप-२६) पक्षको २६ औँ सम्मेलनको वर्ल्ड लिडर समिटमा भाग लिएर देउवा स्वदेश फर्किएका हुन्।

यही नोभेम्बर १ र २ मा आयोजित सम्मेलनमा २० सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी यही १२ कात्तिकमा लण्डन प्रस्थान गरेका थिए। प्रधानमन्त्री नेतृत्वको टोली बुधबार स्थानीय समय दिउँसो १ बजेर ५५ मिनेटमा इडेनवर्गबाट कतार एयरवेजको उडानबाट दोहा हुँदै आज बिहान काडमाडौँ आइपुगेको हो।

वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादव कोप-२६ मा सहभागी रहेकाले उनीबाहेक भ्रमण टोलीका सबै सदस्य स्वदेश फर्किएका छन्।

स्वदेश फर्कनुअघि बुधबार प्रधानमन्त्री देउवाले स्कटल्याण्डको इडेनवर्गस्थित रोयल बोटानिकल गार्डेनको अवलोकन गरी उनको सम्मानमा आयोजित स्वागत समारोहलाई सम्बोधन गर्नुको साथै सो गार्डेनमा रहेको नेपाली बगैँचामा भोजपत्रको विरुवा रोपेका थिए।

प्रधानमन्त्री देउवाको यो कार्यकालको पहिलो विदेश भ्रमण हो। भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले नेपालका लागि सर्वदलीय संसदीय समूह (एपीपीजी-एन) र बेलायत-नेपाल व्यापार तथा लगानी मञ्चले लण्डनमा आयोजना गरेको स्वागत कार्यक्रममा सहभागी भई सम्बोधन गरेका थिए।

त्यहाँ रहँदा प्रधानमन्त्री देउवासँग बेलायत-नेपाल समाजका प्रतिनिधि, गैरआवासीय नेपाली संघ र बेलायतमा बसोबास गर्ने नेपाली समुदायका प्रतिनिधिसँग भेटघाट भएको थियो।

प्रधानमन्त्री देउवाले नोभेम्बर १ मा कोप-२६ को औपचारिक उद्घाटन समारोहमा सहभागी भई वर्ल्ड लिडर समिटलाई सम्बोधन गरेका थिए। प्रधानमन्त्री देउवाले भ्रमणका क्रममा विभिन्न राष्ट्र र सरकार प्रमुख तथा अन्य विशिष्ट व्यक्तिसँग द्विपक्षीय भेटवार्ता पनि गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved