अहिले राज्यका सबै अंगहरुमाथि प्रश्न उठेको छ : रामचन्द्र पौडेल

वर्तमान समयमा आर्थिक विकास र सामाजिक विकासको बाटोमा जानुपर्ने आवश्यकता रहेको भएपनि राजनीतिक मुद्दामै अल्मल्लिनु परेको भन्दै वरिष्ठ नेता पौडेलले प्राप्त राजनीतिक परिवर्तन र व्यवस्थालाई सुनिश्चिता दिनका लागि काम गर्नुपर्ने बताए।

नेपालभ्युज

जनकपुर। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले राज्यका सबै अंगहरुमाथि प्रश्नचिन्ह उठेको बताएका छन्। जनकपुरमा पत्रकारहरुसँगै पौडेलले राज्यका सबै अंगमाथि प्रश्न उठेको बताए।

सोमबार नेपाल प्रेस युनियन धनुषाले जनकपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ नेता पौडेलले संसद्, संवैधानिक निकाय, अदालत र राजनीतिक पार्टीहरु समेतले आफ्नो भूमिका प्रभावकारी रुपमा खेल्न नसकेको बताए।

राजनीतिक पार्टीहरु जनताको भरोसाको केन्द्र भए पनि पार्टीहरुले आफ्नो भूमिकालाई प्रभावकारी बनाउन नसकेको पौडेलको भनाइ छ। उनले कांग्रेसलाई जनताको भरोसाको केन्द्र बनाउन तथा प्रजातन्त्रको दह्रिलो संवाहक बनाउन आफू लागि पर्ने पनि बताए।

देशमा पार्टी व्यवस्थित रुपमा चल्नुपर्ने, संवैधानिक निकायहरु व्यवस्थित रुपमा चल्नुपर्ने र अदालत पनि मर्यादामा रहनुपर्ने पौडेलले बताए।

पत्रकारसँग पौडेलले भने,
संसद् चल्न नसकेर अस्ति भर्खरै संसद् स्थगित भएको छ। अदालतको त्यो अवस्था छ। अरु संवैधानिक निकायहरु त्यस्तै हालतमा छन्। राजनीतिक पार्टीहरुको त्यो हालत छ। आज राजतन्त्र गइसकेपछि राजनीतिक पार्टीहरु नै नेपाली जनताको भरोसाको केन्द्र हुन्। तर राजनीतिक पार्टीहरुको अवस्था के छ ? कम्युनिष्ट पार्टीको हालत हामीले देखिहाल्यौँ। त्यत्रो दुई तिहाइ बहुमत ल्याएर पनि त्यो चकनाचुर भएर गइराखेको छ। नेपाली कांग्रेसले पनि जुन किसिमको भुमिका निर्वाह गर्नुपर्ने हो त्यो नसकेकोमा म आफैँ पनि स्वीकार गर्छु। नेपाली जनतालाई भरोसाको केन्द्र बन्ने भुमिका कांग्रेसले अझैपनि निर्वाह गर्न सकिरहेको छैन। त्यो नसकेको कुरा मलाई चिन्ता छ। म कांग्रेसलाई कसरी नेपाली जनताको भरोसाको केन्द्र बनाउने, कसरी यो प्रजातन्त्रको दरिलो सम्वाहक बनाउने, कसरी लोकतन्त्रलाई मजबुद गराएर लोकतन्त्रको वारेस कांग्रेसलाई बनाएर र यो मुलुकमा लोकतन्त्रलाई सुनिश्चित गर्ने। यसका संस्थाहरु त्यही अनुसार फङ्सनमा आउनुपर्‍यो। पार्टीको सञ्चालन, अधिवेशनहरु व्यवस्थित रुपले चलेको हुनुपर्‍यो। देशको संवैधानिक निकायहरु व्यवस्थित रुपले चलेको हुनुपर्‍यो। राज्यसत्ता सिस्टममा चलेको हुनुपर्‍यो। देशको अदालत एउटा मर्यादामा रहेको हुनुपर्‍यो। आज यि सबै कुराहरुमा कहिँ न कहिँ प्रश्न उठिरहेको अवस्था छ।

वरिष्ठ नेता पौडेलले आफूले अहिले लोकतन्त्रको एजेण्डालाई बोकेर हिँडेको बताए। वर्तमान समयमा आर्थिक विकास र सामाजिक विकासको बाटोमा जानुपर्ने आवश्यकता रहेको भएपनि राजनीतिक मुद्दामै अल्मल्लिनु परेको भन्दै उनले प्राप्त राजनीतिक परिवर्तन र व्यवस्थालाई सुनिश्चिता दिनका लागि काम गर्नुपर्ने बताए।

पौडेलले नेपालको व्यवस्था अस्थिर हुनुको बिडम्बना नेपालले भोगिरहेको बताए। वर्तमान राजनीतिक प्रणाली र व्यवस्थालाई संस्थागत गर्नुपर्नेमा उनको जोड छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved