अमेरिका-मेक्सिको सीमा क्षेत्रमा हाइटीयन

‘भूकम्पमाथि भूकम्प अनि राजनीतिक अस्थिरता’ले देश छाडेकाहरू

प्राकृतिक विपत, गरिबी र राजनीतिक अस्थिरताबीच हजारौँ हाइटीयन कष्टदायी यात्रा गर्दै ल्याटिन अमेरिका हुँदै अमेरिका-मेक्सिको सीमा क्षेत्रमा आइपुगेका हुन्।

नेपालभ्युज

‘भूकम्पमाथि भूकम्प अनि राजनीतिक अस्थिरता’ले देश छाडेकाहरू

एजेन्सी। अमेरिका-मेक्सिको सीमामा हजारौँको संख्यामा हाइटियन जम्मा भएका छन्। यसरी जम्मा भएका मानिसलाई खाना र सरसफाइको व्यवस्था मिलाउन नसकिएको प्रशासनले बताएको छ।

गत हप्ता मात्रै करीब १३ हजार हाइटियन अमेरिका-मेक्सिको सीमामा जम्मा भएका थिए। प्राकृतिक विपत्, गरिबी र राजनीतिक अस्थिरताबीच हजारौँ हाइटीयन कष्टदायी यात्रा गर्दै ल्याटिन अमेरिका हुँदै अमेरिका-मेक्सिको सीमा आइपुगेका हुन्।

सीमा क्षेत्रमा रहेको शरणार्थी क्याम्पमा भेनेजुयला, डोमेनिको, क्युवा लगायत देशका शरणार्थी भए पनि बाहुल्य भने हाइटीबाट आएकाको रहेको बताइन्छ।

सीमामा रहनेमा सन् २०१० मा हाइटीमा आएको प्रलयकारी भूकम्पपछि देश छोडेर ब्राजिल र अन्य दक्षिण अमेरिकी देशमा आश्रय लिएर बस्दै आएका मानिस छन्। लामो समयदेखि छाएको राजनीतिक अस्थिरता हाइटीमा अझै कायम छ। जुलाईमा त्यहाँका राष्ट्रपति जोवेल मोसेको हत्या भएको थियो। त्यस लगत्तै देशमा पुनः अर्को भूकम्प आयो।

वासिङटनस्थित लम्बी एन्ड फन्ड फर हाइटीका निर्देशक काटियान एंगलाडे प्राकृतिक र राजनीतिक अस्थिरताका कारण हाइटीबासीसँग शरणार्थी हुनुको विकल्प नभएको बताउँछन्। एंगलाडे हाइटीकी नागरिक हुन्।

‘‘हाइटीमा बस्ने मानिसहरूले आशा गर्नसक्ने कुनै ठाउँ थिएन’’, एंगलाडे भन्छिन्, ‘‘भूकम्पमाथि भूकम्प अनी राजनीतिक अस्थिरता।’’ अमेरिका-मेक्सिकोको सीमा क्षेत्रमा रहेका हाइटीयनहरू दक्षिण अमेरिकाको बाटो हुँदै संघर्षपूर्ण यात्रासहित त्यहाँ पुगेका हुन्।

सीमा क्षेत्रमा रहेका शरणार्थीको अवस्थाका विषयमा हाइटीबाट बुझ्न आएका एक पत्रकार राल्फ थोमससेन्ट धेरै जस्तो शरणार्थीसँग यात्राका क्रममा ‘दुःखले भरिएको कथा’ रहेको बताउँछन्।

‘‘यात्राका क्रममा धेरै महिलाको बलात्कार भएको छ, धेरैको निधन पनि’’, उनी भन्छन्, ‘‘यात्राका क्रममा गुण्डाहरूसँग भेट भएको र एक स्थानबाट अर्को स्थानसम्म जानका लागि पैसा तिर्नुपरेको कथा छ।’’

किन आइरहेका छन् त शरणार्थी?

अमेरिका-मेक्सिको सीमामा शरणार्थीका रुपमा आएका धेरै जस्तो हाइटीयन सन् २०१४ को विश्वकप र २०१६ को ओलम्पिक खेलका क्रममा ब्राजिलमा राम्रो जागिर पाउने आशले त्यता आएका व्यक्ति हुन्।

ब्राजिलमा रोजगारको अवसर गुम्दै गएपछि उनीहरू दक्षिण अमेरिकाका अन्य देश हुँदै हाल अमेरिका-मेक्सिको सीमामा आइपुगेका हुन्।

‘‘ब्राजिलपछि उनीहरू चिली गएको बताउँछन्’’, पत्रकार थोमससेन्ट भन्छन्, ‘‘ब्राजिलबाट त्यस समयमा चिली जानका लागि भिसाको आवश्यकता नपर्ने हुँदा उनीहरू सहजै त्यता गएको देखिन्छ।’’ चिलीको निर्माण क्षेत्रमा रोजगारीको अवसर हुँदा उनीहरू त्यतै गएको उनी बताउँछन्।

आप्रवासी नीति कडा भएपछि उनीहरू चिली छोड्न बाध्य भएका थिए। चिली सरकरको तथ्यांकले सन् २०१८ मा एक लाख २६ हजार हाइटीयनले भिसा प्राप्त गरेको देखाउँछ। त्यो तथ्यांक अहिले घटेर ३ हजारमा समेटिएको छ।

अमेरिकाले आफूहरूलाई स्वागत गर्ने गलत हल्लामा विश्वास गर्दै दक्षिण अमेरिकाबाट यी शरणार्थीहरू अमेरिकी सीमा क्षेत्रमा पुगेका हुन्। ‘‘अमेरिकी सीमामा भेटिएका हाइटीयनहरू मध्य धेरैले पाँचदेखि सात वर्षअघि नै आफ्नो देश छाडेका छन्’’, पत्रकार थोमससेन्ट भन्छन्, ‘‘यीमध्ये कतिले त हालसम्म कुनै रोजगारी नै फेला पारेका छैनन्।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved