माओवादीमा नेतृत्व संकट

के प्रचण्डबिना माओवादी चल्दैन?

नेतृत्व दाबी गर्ने माओवादी दोस्रो पुस्ताको परीक्षण भइसकेको छ। मन्त्री र पार्टीको महत्त्वपूर्ण जिम्मेवारी यही पुस्ताले पाएको छ, जसले पार्टी नेतृत्व सम्हाल्ने छाँटकाँट छैन। उनीहरु प्रचण्डलाई अलिअलि घुर्क्याउने, चाकडी गर्ने र माग्नेमै सीमित छन्।

के प्रचण्डबिना माओवादी चल्दैन?
फाइल तस्वीर

काठमाडौं। नेकपा (माओवादी केन्द्र) ले ११–१३ पुसमा राष्ट्रिय सम्मेलन आयोजना गर्ने तय गरेको छ। महाधिवेशन नजिकिँदै गर्दा प्रश्न उठ्न थालेको छ-अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व हस्तान्तरण गर्लान् ? यसैपालि नगरे पनि उत्तराधिकारको विधिसम्म त बनाउलान् कि ?

माओवादी नेता-कार्यकर्ता र नेपाली राजनीतिप्रति चासो राख्नेलाई खसखस छ। तिनका मन खसखसाउनुको कारण दुई वटा छन्। एक, प्रचण्डले पनि माधव नेपालको गला गाँसेर गाउनु, ‘केपी ओलीले पार्टी नीति-विधि मिचे। पार्टीभित्रको लोकतन्त्र नासे। ओली निरंकुश भए। तानाशाह हुन थाले।’

दुई, माओवादीमा प्रचण्डको अनवरत नेतृत्व। २०५७ सालको दोस्रो राष्टिय सम्मेलनबाट तत्कालीन नेकपा (माओवादी)ले प्रचण्डलाई महामन्त्रीबाट अध्यक्ष बनाएको थियो। कतिसम्म भने शक्तिजति प्रचण्डमा केन्द्रित गरेर पार्टी पथप्रदर्शक सिद्धान्तको रूपमा मार्कसवाद, लेनिवाद र माओवादसँगै प्रचण्डपथ राखेको थियो।

अहिले भने माओवादीमा नेतृत्व हस्तान्तरण गर्नुपर्ने चर्चा चल्न थालेको छ। गएको साउनमा बसेको पार्टीको पछिल्लो केन्द्रीय समिति बैठकमा नेतृत्व हस्तान्तरण विधि बनाउनुपर्ने माग उठेको छ।

ओलीकहाँ नीति र विधि खोज्ने प्रचण्डले विधि बनाउँदै नेतृत्व हस्तान्तरण गर्लान् त ?

राजनीतिशास्त्री कृष्ण हाथेछु एकै व्यक्तिले अनवरत पार्टी नेतृत्व ओगट्नु गैरलोकतान्त्रिक चरित्र भएको बताउँछन्। उनका विचारमा विद्रोह सकिएर शान्ति प्रक्रियाा आएपछि नै प्रचण्डले नेतृत्व हस्तान्तरण गर्नुपर्थ्यो। “त्यतिबेला गरेको भए उनको वाहवाही हुन्थ्यो”, उनी भन्छन्, “नया नेतृत्व विकास हुन नसक्नुमा हाम्रा शीर्ष नेताहरुको सत्ता र नेतृत्वप्रतिको असीम मोह नै हो।”

नेतृत्वले स्थान छोड्दै गएपछि नया नेतृत्व आफै जन्मदै र स्थापित हुँदै जान्छ। हाथेछुलाई पनि त्यस्तै लाग्छ। भन्छन्, “एउटा समय बीपीबाहेक कांग्रेसमा नेतृत्व नै छैन भन्थे। पछि जन्मेनन् त ? कृष्णप्रसाद, गणेशमान, गिरिजाहरु आए त। प्रचण्डले छोडेपछि पनि नयाँ नेतृत्व आउँछ। एउटा व्यक्ति नहुदा सिंगो पार्टी नचल्ने, देश नचल्ने हुँदैन। आर्यघाट नजादासम्म नेतृत्व नछोड्ने प्रवृत्ति नेपाली राजनीतिका विडम्बना हो।’

प्रचण्ड उदय

“सन् १९७५ को दशकमा चारैतिर ‘माओ माओ’ भन्थे। त्यसैबेला माओले भने, “म पार्टीमा एक्लो छु।” लाष्टमा ‘श्रीमतीको पनि विश्वास छैन’ भने। एक-दुई वर्षपछि म पनि माओले जस्तै एक्लो छु भन्नुपर्ने हो कि! एक्लै हुन्छु होला।” परशुराम तामाङकृत ‘नेपाली कम्युनिस्ट आन्दोलनको कार्यदिशा’बारे २७ भदौमा अध्यक्ष प्रचण्डले यस्तो भनेका थिए।

“एक्लो हुन थालेँ भनेर ‘वैरागिनु’को अन्तर्य के होला ? माओवादी विघटनसँगै ओरालिएको करिष्मा र पार्टी आकार हेर्दै उनले आफ्नो नेतृत्व क्षमता समीक्षा गर्न खोजेका हुन् त?

अचेल पार्टी बैठकमा अध्यक्ष प्रचण्डको दायाँबायाँ नारायणकाजी श्रेष्ठ र कृष्णबहादुर महरा बस्छन्। कुनै बेला त्यसैगरी मोहन वैद्य, बाबुराम भट्टराई र रामबहादुर थापा ‘बादल’ बस्ने गर्थे।

नेतृत्व दाबी गर्ने माओवादी दोस्रो पुस्ताको परीक्षण भइसकेको छ। मन्त्री र पार्टीको महत्त्वपूर्ण जिम्मेवारी यही पुस्ताले पाएको छ जसले पार्टी नेतृत्व सम्हाल्ने छाँटकाँट छैन। उनीहरु प्रचण्डलाई अलिअलि घुर्क्याउने, चाकडी गर्ने र माग्नेमै सीमित छन्।

प्रचण्डको राजनीतिक जीवनको लामो समयसम्मका सहयात्री बादल र वैद्य नै हुन्। त्यसपछि बाबुराम। माओवादी सशस्त्र संघर्षको जति सफलता छ, त्यो प्रचण्ड, वैद्य, बाबुराम र बादलको योगफल हो। तिनले बनाउने योजना कार्यान्वयन गर्न नेत्रविक्रम चन्द ‘विप्लव’, वर्षमान पुन ‘अनन्त’, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत, कुलप्रसाद केसी, नन्दकिशोर पुनजस्ता युवाको समूह थियो।

एकपटक विप्लवले पंक्तिकारसँग भनेका थिए, “प्रचण्डको डाइनामिज्म, वैद्यको राजनीतिक सिद्धान्तलाई व्याख्या गर्ने कला, बाबुरामको बौद्धिकता र बादलको योजना, संगठन र कार्यान्वयन गराउने सीपले जनयुद्ध यहाँसम्म आइपुगेको हो।’

अहिले दाहाल, वैद्य, वादल र बाबुराम एक्लाएक्लै हिँड्न खोज्दा अलमलिएका छन्। प्रचण्डका तीनै जना सारथि उनीसँग छैनन्। निर्वाचन आयोगले साविककै अवस्थामा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)लाई फर्काएपछि केपी ओली, माधव नेपाल, झलनाथ खनाल पनि छैनन्।

‘जनयुद्ध’ थालनीताका पार्टीभित्र बादल स्थापित थिए भने पार्टीबाहिर बाबुराम। रोल्पा, रुकुमतिर सशस्त्र विद्रोहको जग नै बादलले खनेका हुन्। सायद यसैले होला, प्रचण्डले बादलबाट नेतृत्व चुनौती देखे। लिन प्याओ आरोपसँगै पम्फा भुसालसँगको यौनसम्बन्धको आरोपमा २०५४ मा कारबाही गरे। कारवाहीको कारण भनिएको छ- “बादलको चिन्तन लिन प्याओवादी प्रवृत्तितिर उन्मुख भएको कुरा स्पष्ट हुन्छ” (नेपाली कम्युनिष्ट आन्दोलन र जनक्रान्तिका ऐतिहासिक दस्तावेजहरु, ग्रन्थ १, पेज ३९३)।

यद्यपि लिन प्याओ आरोप प्रचण्डले पुष्टि गर्न सकेका छैनन्। आफ्नो नेतृत्वको अर्को चुनौती ठानेका बाबुरामलाई २०६१ सालमा प्रचण्डको एकल नेतृत्व गरेको भन्दै कारबाही गरे (नेपाली कम्युनिष्ट आन्दोलन र जनक्रान्तिका ऐतिहासिक दस्तावेजहरु, ग्रन्थ १, पेज ५५९)।

२०४६ सालमा सीपी गजुरेलजस्ता वरिष्ठ नेता हुँदाहुँदै वैद्यले प्रचण्डलाई नेतृत्व हस्तान्तरण गरेका थिए। भलै वैद्यले नेतृत्व छोड्नुसँग पृष्ठभूमिमा २०४५ सालको असफल सेक्टर काण्ड थियो। २०४६ मा नेकपा (मशाल) महामन्त्री भएका प्रचण्ड २०४८ मा नेकपा (एकता–केन्द्र) को महामन्त्री र २०५१ नेकपा (माओवादी)को महामन्त्री भए। २०५७ मा माओवादी अध्यक्ष र २०६५ मा एकीकृत नेकपा माओवादी अध्यक्ष बने।

२०५७ को दोस्रो राष्ट्रिय सम्मेलनले प्रचण्डमा सम्पूर्ण अधिकार केन्द्रीत गर्दै पार्टीको पथप्रदर्शक सिद्धान्तमा मार्क्सवाद, लेनिनवाद, माओवादको साथ प्रचण्डपथ थप्यो। २०६६ मा वैद्य, बाबुरामलाई उपाध्यक्ष र बादललाई महासचिव बनाएर माओवादी बहुपदीयमा प्रणालीमा गयो।

२०७३ मा माओवादी केन्द्रका अध्यक्ष बनेका प्रचण्ड २०७५ मा एमाले-माओवादी एकीकरणपछि केपी ओलीसँगै नेकपा (नेकपा) अध्यक्ष भए। निर्वाचन आयोगले २०७७ मा साबिककै एमाले र माओवादी केन्द्रमा फर्काएपछि प्रचण्ड माओवादी केन्द्र अध्यक्ष छन्।

ओलीसँग अध्यक्ष बाँडेको झण्डै तीन वर्ष पनि गन्ने हो भने, प्रचण्ड ३२ वर्षदेखि पार्टी प्रमुख छन्। माओवादीमा नेतृत्व गर्न सक्ने अर्को नेतृत्वको अभाव भएकैले ‘प्रचण्ड राज’ चलेको हो कि नेतृत्व निर्माणको विधि नभएर ?

निर्विकल्प प्रचण्ड !

नेपालका राजनीतिक पार्टीमा नेतृत्व विकास र त्यसको पृष्ठभूमि नहेरी नयाँ नेतृत्व नआउने समस्या समाधान सम्भव छैन। नेपालमा संगठनले नेता बनाउनेभन्दा पनि नेताले संगठन बनाउने गरेको इतिहास छ।

संगठनले बनाएको भए न नेता बनाउँछ। संगठनभन्दा पनि नेता महत्वपूर्ण भएपछि नेता छान्न गाह्रो हुने नै भयो। माओवादी आन्दोलन विसर्जन हुँदा पनि जबर्जस्त नेतृत्व दाबी गर्ने वैचारिकी बनाएको देखिँदैन। ‘जनवाद’को कुरा उठाए पनि कम्युनिष्ट पार्टिमा नेताप्रणाली विकास हुन सकेको छैन। कम्युनिष्ट पार्टीको अन्तर्संघर्ष व्यवस्थित छैन। फलस्वरुप पार्टी प्रमुखहरु चुनौतीविहीन देखिएका छन्।

यद्यपि माओवादीमा उत्तराधिकारसम्बन्धी कुरा पछिल्लो साउनमा बसेको केन्द्रीय समितिमा उठेको छ।

“विस्थापनको मागभन्दा फरक हो, उत्तराधिकारको माग। ८-१० वर्षपछि प्रचण्डको विकल्प दिनेगरी विधि आउला,” केन्द्रीय सदस्य झकबहादुर मल्ल भन्छन्।

प्रचण्ड कसरी चुनौतीविहीन नेता भए ? कारण खोजौं।

‘तरमारा’ पुस्ता

नेतृत्व दाबी गर्ने माओवादी दोस्रो पुस्ताको परीक्षण भइसकेको छ। मन्त्री र पार्टीको महत्त्वपूर्ण जिम्मेवारी यही पुस्ताले पाएको छ जसले पार्टी नेतृत्व सम्हाल्ने छाँटकाँट छैन। उनीहरु प्रचण्डलाई अलिअलि घुर्क्याउने, चाकडी गर्ने र माग्नेमै सीमित छन्।

“दोस्रो पुस्ता त पहिलो पुस्तालाई रिझाएर खानेजस्तो छ। बाहुन भाषामा प्रसाद भन्छन् नि। हो त्यस्तै। प्रचण्डले जनयुद्धको ‘प्रसाद’ दिन्छन्। त्यही प्रसाद खायो, सकियो,” नेपाली समाज, राजनीति र नेतृत्वबारे जानकार एक जना भन्छन्, “हेर्नुस् त, माओवादीमा पहिलो पुस्ता सकिइसक्यो, पहिलो पुस्ता थाकिसक्यो। दोस्रो पुस्ता कता छ, अत्तोपत्तो छैन। माओवादीमामात्र होइन, सबै दलमा ठूलो संकट देखिन्छ।”

नेतृत्व हैसियत बनाउनेभन्दा पार्टी नेतृत्वसँग नजिक भएर नेता हुने चलन संस्थागत भयो। उनी थप्छन्, “नयाँ कुरा, नयाँ विचार लिने, प्रभावित पार्ने नभई नेताको साखुल्ले हुने, पार्टीमा बढुवा हुने, सुविधा लिने मात्र भए। जसले गर्दा नेता अन्च्यालेन्ज भए। नेता पनि सेकेण्ड भएर खानमै पल्किएका छन्। जुन कुरा माओवादीमा सबभन्दा बढी देखिन्छ।”

तर मान पाएपछि दोस्रो पुस्तामा त नेतृत्व भोक जागेको पनि देखिन्न। माओवादी नेता नारायण शर्मा भन्छन्, “नयाँ पनि फेयर (शुद्ध) छैनन्, नैतिक र आर्थिक हिसाबले पनि भ्रष्ट भए।”

माओवादीमा प्रचण्डलाई च्यालेन्ज गर्ने नेता देखिन्नन्। ‘प्रचण्ड युग सकियो, हाम्रो पालो आयो’ भन्ने आवाज ज्यादै मसिनो छ। उसो त प्रचण्डलाई विस्थापित गर्ने केही नयाँपन त चाहिन्छ नै।

ओलीसँग अध्यक्ष बाँडेको झण्डै तीन वर्ष पनि गन्ने हो भने, प्रचण्ड ३२ वर्षदेखि पार्टी प्रमुख छन्। माओवादीमा नेतृत्व गर्न सक्ने अर्को नेतृत्वको अभाव भएकैले ‘प्रचण्ड राज’ चलेको हो कि नेतृत्व निर्माणको विधि नभएर ?

“खै त नेतृत्व लिने वैचारिक योजना ? वैचारिक, राजनीतिक योजना खै त,” एक माओवादी नेता प्रश्न गर्छन्। माओवादी नेता लेखनाथ न्यौपानेका अनुसार ‘खान पाए जे पनि खाने’ माओवादी दोस्रो पुस्ता ‘पार्टीभित्र र बाहिर बदनाम’ छ।

“त्यो समूहबाट कतिपालि मन्त्री भए ? गन्ती नै छैन। २०६३ पछि माओवादीका १०० जना मन्त्री बने। मन्त्री बन्नेमा तरमारा समूह कहीँ छुटेको छैन। तर, ‘लौ है, फलानो मन्त्रीले यस्तो काम गरे’ भनेर सर्वसाधारणले सम्झने एउटा काम पनि छैन,” न्यौपाने थप्छन्।

अभाव सामूहिक नेतृत्वको

नेपालमा सामूहिक नेतृत्वले पार्टी चलाउने चलन छैन। कम्युनिष्ट पार्टीमा त झनै छैन। त्यसमा पनि माओवादीमा झनै छैन। भन्नचाहिँ जनवादको कुरा गर्ने तर निर्णय अध्यक्षले गर्ने चलन न छ।

२०६६ बाटमात्रै माओवादीले बहुपदीय अभ्यास गरेको हो। बीचमा त्यो अभ्यास हरायो। फेरि अहिले विधानमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षको व्यवस्था गरेको छ। आउने राष्ट्रिय सम्मेलनले पार्टी पदाधिकारी बनाउला।

“माओवादीमा नेतृत्व निर्माणको संस्कृति हुँदो हो त वैद्य, बाबुराम र बादल बाहिरिने नै थिएनन्। ती माओवादीमा भए त पोटेन्सियल अध्यक्ष हुन सक्थे,” एक जना राजनीतिक विश्लेषक भन्छन्।

पार्टीमा अन्तरपार्टी संघर्ष संस्थागत गर्न नसकेको र व्यवस्थित गर्न नसकेको परिणाम पनि प्रचण्डको विकल्प निर्माण हुन नसकेको हो।

उत्तराधिकार नीति छैन

माओवादीमा उत्तराधिकार सम्बन्धित नीति नै छैन। नेता लेखनाथ न्यौपानेका अनुसार नेतृत्व कहाँ ग्रुम गर्ने हो भन्ने थाहै छैन। मूलतः माओवादीमा नीति नै छैन। कार्यविभाजन गर्दा उपाध्यक्ष, महासचिव त भए। तर, कार्यविधिमा उमेर हद, एउटै पदमा कति वर्षसम्म बस्न पाउने जस्ता कुरा नहुँदा उत्तराधिकारीसम्बन्धी कुरै भएन।
उमेर हद र कार्यकाल अवधिजस्ता प्राविधिक कुरा पश्चिमा मुलुकले अभ्यास गर्दैआएका छन्। जसको प्रभावस्वरुप एमालेले यसअघि उमेर हद तोकेको थियो।

माओवादीमा यस्तो कुरा लागु गरेर भए पनि विधि बन्ला त ?

माओवादी अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा जुगल भन्छन्, “लाभका पदमा निश्चित अवधिमामात्र रहने हुन सक्ने भयो। तर, वैचारिक राजनीतिक संस्था पार्टीमा यति वर्ष उति ‍वर्ष र उमेर हदको अर्थ हुन्न। यो नेतृत्व समस्याको हल होइन। हेर्नुभयो भने प्रचण्डको ठाउँमा नेतृत्व लिने कोही तयार छैन।”

‘नयाँ नेतृत्व विकासको वातावरण छैन’

नारायण शर्माका अनुसार विकल्प निर्माण गर्ने, नेतृत्व हस्तान्तरण गर्ने अध्यक्ष प्रचण्डमा जिम्मेवारीबोध नै छैन। घरमूलीमै चाह नभएपछि कसरी नेतृत्व विकास हुन्छ ? समय र बाध्यताले हस्तान्तरण गर्ने वातावरण पनि बनेको छैन। शर्माका अनुसार त माओवादी पार्टी नै बनेको छैन। शर्मा कथन छ, “यो त निश्चित जाति, क्षेत्र र परिवारको पार्टी न छ।”

विधिविहीन माओवादी

माओवादी संस्थागत विकास हुन नसक्दा लथालिंग भएको हो। अहिलेसम्म पनि माओवादीले पार्टी चलाउने संस्थागत विधि बनाउन सकेको छैन। “संस्थागत भए न नेतृत्व विकास हुने हो। पार्टी संस्थागत नहुँदा नेता-कार्यकर्ताको वृत्तिविकास रोकियो। विधि विकास नहुँदा नेतृत्व वरपर भजनमण्डलीमात्र देखिएको हो। माओवादीको ठूलो समस्या विधिको विकास नहुनु नै हो,” अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुँदा स्वकीय सचिव रहेका नेता रमेश मल्ल भन्छन्, “पाँच वर्ष भयो, कमिटीविहीन भएको। बहस गर्ने फोरम खै ? सामूहिक निर्णय गर्ने प्रणाली बनाएको खै ? यसरी कसरी नेतृत्व विकास हुन्छ त ? खुमलटार दौडेर नेतृत्व विकास हुन्छ त ? हुन्न।”

प्रचण्ड पदको पर्याय

प्रचण्ड नेतृत्वबाट नेतृत्व हस्तान्तरण सम्भावना देखिन्न। अरुले नेतृत्व विकास गरेर आउने सम्भावना पनि देखिँदैन। माओवादी नेता-कार्यकर्ता तथा माओवादीबारे जानकारलाई प्रचण्डले नेतृत्व हस्तान्तरण गर्लान् भन्ने कुरामा सन्देह गर्छन्।

“माओवादी खिएर सकिएला तर अब ओली ओत लाग्न जाने सम्भावना पनि देखिँदैन। उनको सत्ता र शक्ति भोक मेटिनेवाला देखिन्न। त्यसैले बाँचुन्जेल माओवादी अध्यक्ष प्रचण्ड नै हो। नयाँ विचार र नयाँ चिज लिएर अहिलेसम्म कोही देखापरेको छैन। अध्यक्षपछिका नेता त झन प्रचण्डभन्दा पनि लोभीपापी र आत्मकेन्द्रित छन्,” एक माओवादी नेता भन्छन्।

नेतृत्व अभियानबाट आउने हो। दोस्रो वा तेस्रो पुस्ताका संघर्षबाट पार्टी र समाजलाई नेतृत्व मान्न बाध्य बनाउने हो। तर त्यो माओवादीभित्र मात्र होइन, अन्य दलतिर पनि देखिन्न।

राजनीतिक नर्सरी छैन

नेपालमा नेतृत्व उम्रने राजनीतिक नर्सरी नै छैन। पहिलेपहिले वाम दल नेतृत्व रोप्ने अखिल र कांग्रेसको नेविसंघ राजनीतिक नर्सरी थिए। त्यही नर्सरीबाट पार्टी नेतृत्व विकास हुन्थ्यो। शेरबहादुर देउवा नेविसंघ नर्सरीका हुन्।

अहिले नेपालमा यस्ता नर्सरीको रूपमा नरहेपछि कसरी प्रचण्डलाई चुनौती दिने नेतृत्व जन्मनु ?

राजावादी पार्टी

माओवादीमा नेतृत्व विकास नहुनु र नेतृत्व देखानपर्नुको कारण माओवादी नभएर राजावादी भएकाले हो। एकजना राजनीतिक विश्लेषक भन्छन्, “सूर्यबहादुर थापा र उनका प्रतिद्वन्द्वीबीच पानी बाराबार थियो। तर ती राजावादी पार्टीमै थिए। तिनलाई राजाले मिलाइदिन्थे। अलग हुँदा खान्की छुट्ने भएकाले एउटै पार्टीमा हुन्थे। अहिले माओवादीमा पनि एउटा गुट र अर्को गुटबीच पानी बाराबार छ। राजाले जसरी प्रचण्डले तिनलाई मिलाउँछन्।”

पार्टी नै राजावादी भएपछि प्रचण्ड विकल्प नेतृत्व कसरी र कहाँ खोज्नु ?

नेतृत्व अभियानबाट आउने हो। दोस्रो वा तेस्रो पुस्ताका संघर्षबाट पार्टी र समाजलाई नेतृत्व मान्न बाध्य बनाउने हो। तर त्यो माओवादीभित्र मात्र होइन, अन्य दलतिर पनि देखिन्न।

प्रचण्डबिनाको माओवादी

माओवादी नेता-कार्यकर्ता ‘अब प्रचण्डले नैतिक रूपले बिदा लिने बेला भने भयो’ भन्छन्। तिनका तर्क यस्ता छन्।

एक, ७० पुग्न थाले।

दुई, प्रचण्डको राजनीतिक योगदान पनि मुलुकलाई पुग्यो।

जस्तो– माओवादी सशस्त्र संघर्षको नेतृत्व गरे। संसदीय व्यवस्थामा माओवादीलाई अवतरण पनि गराए। संविधान बनाउन योगदान गरे।

तीन, प्रचण्ड नेपाली राजनीति केन्द्रमा देखिए पनि, माओवादी खिइएको खिइयै छ।

“तर, प्रचण्डले नचाहने हो भने पनि तत्काल अर्को प्रतिस्पर्धी छैन,” नेता न्यौपाने भन्छन्। नेपाली समाज, राजनीति र नेतृत्वबारे जानकार एक जनाले यसैमा थप्छन्, “प्रचण्ड अध्यक्ष कुर्सीमा बसेको त लोभले मात्र बसेको होइन नि। प्रणाली नै त्यस्तो विकास गरेको छ त। कस्तो भने अरू नेतृत्वमा आउनै नसक्ने क्या !” केन्द्रीय सदस्य झकबहादुर मल्ल माओवादीमा नयाँ नेतृत्व आउने सूत्र सुझाउँछन्–

एक, नयाँ नेतृत्व त अध्यक्षले नै घोषणा गरिदिएर वा आन्तरिक अभ्यासबाट।

दुई, उत्तराधिकार विकास भएर। तर, यी दुवै सम्भावना माओवादी क्षितिजमासमेत देखिन्न।

“माओले घिटीघिटी हुँदासम्म पनि छाडेनन्। माओले उत्तराधिकारको सवालमा गल्ती गरे। प्रचण्डले त्यो गल्ती दोहोर्‍याउनु हुन्न,” युवा नेता रमेश मल्ल भन्छन्, “विधि बनाएर म हेटेँ, संरक्षकको रूपमा काम गर्छु, फलानो फलानोले उसोउसो गर भनेर नेतृत्व हस्तान्तरण गर्ने विधि हो।”

नेतृत्व विधि विकास गरे नयाँ नेतृत्व आउने तर्क सार्छन् मल्ल। एक माओवादी नेता दाबी गर्छन्, ‘प्रचण्ड जीवित छँदै विधिमा नडोर्‍याए माओवादी बच्दैन। होइन भने ‘माओजस्तै एक्लै हुन्छु केर’ भनेर बैरागिनुपर्ने हुन्छ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved