एमसीसीबारे एमाले : न समर्थन, न विरोध

नेपालभ्युज

एमसीसीबारे एमाले : न समर्थन, न विरोध

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अमेरिकी सहयोग परियोजना एमसीसीबारे तटस्थ रहने रणनीति बनाएको छ। संघीय संसद् बैठकअघि आज बसेको संसदीय दलको बैठकमा पार्टी अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले एमसीसीको विषयमा अहिल्यै अग्रसर हुन नपर्ने बताए।

ओलीले एमसीसीबारे बल्ल छलफल शुरु भएको भन्दै अहिले दलहरुलाई त्यसबारे विचार गर्नका लागि समय दिनु आवश्यक रहेको बताए। उनले संसदमा पेस भएपछि एमसीसी पूरै पढेर अनि मात्रै पार्टीको तर्फबाट धारणा बनाउने बताए।

ओलीले एमसीसी परियोजना जबरजस्ती काँधमा हालेर हिँड्न जरुरी नभएको बताए। उनले एमसीसी सम्झौता आफूहरुले नगरेको भन्दै कार्यान्वयन गर्ने जिम्मेवारी पनि आफूहरुको नभएको बताए। उनले भने, ‘‘अहिले हाम्रो काँधमा हाल्न जरुरी छैन।”

एमसीसी प्रस्ताव संसदमा आयो भने गम्भीरतापूर्वक निर्णय गर्ने ओलीले बताए। उनले आफुहरु गम्भीर भएर उक्त विषयमा अगाडि बढ्ने बताए। एमसीसी बहसको विषय भएको र त्यसमा हतारिनु जरुरी नभएको उनको भनाइ छ। ओलीले भने, ‘‘हरेक कुरामा हतारिनु जरुरी हुँदैन।”

संसदीय दलको बैठकमा अध्यक्ष ओलीको वक्तव्यपछि एमाले तत्काल एमसीसीको पक्षमा अथवा विपक्षमा नखुल्ने भएको हो। एमसीसी अहिले छलफलका रूपमा आएको भन्दै ओलीले हरेक कुरामा अग्रसर हुन आवश्यक नभएको बताएसँगै एमाले तटस्थ रहने भएको हो।

‘‘दलहरूलाई विचार गर्न दिऊँ, एमसीसीबारे सबै डकुमेन्ट पढौँ। कति फाइदाजनक रहेछ, कति घाटा हुने खालको रहेछ। अनि निर्णय गरौँला”, संसदीय दलको बैठकमा ओलीले भने।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved