हटाइयो निषेधाज्ञा तर संक्रमणको जोखिम उस्तै

हटाइयो निषेधाज्ञा तर संक्रमणको जोखिम उस्तै

काठमाडौं । निषेधाज्ञा केही खुकुलो बनाइए पनि कोरोना संक्रमण जोखिम कायमै छ।

सरकारले कोरोना संक्रमणको दोस्रो लहर रोकथामका लागि करिब ४ महिनादेखि लगाएको निषेधाज्ञा १६ भदौबाट हटाएको भनेको छ।  बुधबार उपत्यकाका तीन जिल्ला प्रमुखको बैठकले पनि स्वास्थ्य मापदण्ड पालना गर्दै निषेधाज्ञा ‘अन्त्य भएको’ निर्णय गरेका थिए।

तर उक्त निर्णयमा काठमाडाैं उपत्यकामा भदाै अन्तिमसम्म निषेधाज्ञा कायम रहने उल्लेख छ। यसको अर्थ सरकारले निषेधाज्ञा पूर्ण रूपमा हटाएको भने होइन। तर यसलाई निकै सहज बनाई यसका मापदण्डलाई धेरै खुकुलो बनाएको हो।

जसअनुसार स्मार्ट लकडाउनको प्रावधानभित्र रही उपत्यकाका स्थानीय तहहरूले जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालयहरू सञ्चालन गर्न पाउने भएका छन्।

चाडपर्व नजिकिएसँगै भीडभाड, जमघट गर्न नपाउने गरी सिनेमा हललगायत पनि खुलाउने बैठकले निर्णय गरिएको काठमाडौं प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले बताए।

“अझै पनि केही कार्यहरूमा निषेधाज्ञा भने कायमै छ। स्थानीय ढुवानी र सार्वजनिक तथा निजी निर्माण कार्यका लागि सामग्री ढुवानीलगायत सभा, जुलुस, सम्मेलनजस्ता भीडबाट हुने कार्य गर्न मिल्दैन”, उनले भने।

राजधानीको निषेधाज्ञा हटे पनि जोखिम उस्तै

निषेधाज्ञा हटाइएको भनिए पनि कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका डा शेरबहादुर पुनले बताए।

उनी भन्छन्, “संक्रमित थपिने दरमा केही कमी आए पनि जोखिममा कमी आएको छैन। अहिले पनि दैनिक दुई हजार हाराहारीमा संक्रमितहरू थपिरहेका छन्।” यो संख्यामा कमी त केही समयअघि नै आउनुपर्ने पुनको भनाइ छ।

२० वटाभन्दा बढी जिल्लामा अझै पनि पाँच सयभन्दा बढी सक्रिय संक्रमित रहेका र यसले समुदायस्तरमा भाइरस मज्जाले फैलिरहेको छ भन्ने अनुमान लगाउन सकिने उनले बताए।  भने, “म निषेधाज्ञाको पक्षपातमा कहिल्यै थिइनँ, निषेधाज्ञा लामो समयसम्म सम्भव हुँदैन। यो हटाउनु नै थियो। अब सबैले जे मन लाग्छ त्यही गरेर हुँदैन, संक्रमणसँगै बच्दै जिउन जान्नुपर्छ,”

मानिसले आफ्नो दैनिकी र बानी, व्यवहारमा परिवर्तन ल्याउन आवश्यक भएको उनको भनाइ छ। साथै खोप लगाउने पालोमा कुनै पनि द्विविधा नराखी लगाउन पनि उनले सुझाए।

अब संक्रमित हुन सक्ने समूह

पहिलो र दोस्रो लहरमा संक्रमित नभएका व्यक्तिहरू अबका दिनमा संक्रमित हुने सम्भावना धेरै रहेको जनस्वास्थ्यविद्हरू बताउने गर्छन्।

यसबारे डा पुन नै थप्छन्, “नेपालमा अहिले सबैभन्दा बढी डेल्टा भेरियन्टका संक्रमित भेटिरहेका छन्। दोस्रो लहरको कारक पनि यही भेरियन्ट नै हो।’

“कुनै पनि भेरियन्टले संक्रमित भएकालाई तत्कालै सार्दैन। पाँच-६ महिनाअघि संक्रमित भएकाहरू पुनः संक्रमित हुने सम्भावना एकदमै कम भएकाले आउँदा दिनमा संक्रमित हुने भनेकै अहिलेसम्म संक्रमित नभएका हुन्,” उनले भने।

संक्रमित हुनेमध्ये उच्च जोखिममा पर्नेहरू खोप नलगाउनेहरू हुने डा पुन बताउँछन्। भन्छन्, “एकपटक संक्रमित भइसेकेकाहरू ५ देखि ८ महिनासम्म संक्रमित हुने सम्भावना धेरै कम हुन्छ।”

विभिन्न अनुसन्धानले देखाएअनुसार एक पटक संक्रमित बनिसकेको शरीरमा रोगप्रतिरोधात्मक क्षमता बन्ने भएकाले तत्काल संक्रमित हुने सम्भावना पनि कम हुने उनको भनाइ छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved