रश्मिकालाई मोहित बनाउने हेटौँडाकी बरिसाको भिडिओ यसरी भयो भाइरल

बरिसा सामाजिक सञ्जालमा भाइरल भएपछि उनको घरमा संचारकर्मीको भीड लागेको उनको परिवारले बताएको छ। उनको उमेर सानो भएकाले बारिसालाई भेट्न नआइदिन समेत परिवारले अनुरोध गरेको छ।

रश्मिकालाई मोहित बनाउने हेटौँडाकी बरिसाको भिडिओ यसरी भयो भाइरल

हेटौँडा। पाँचदिन अघि टिकटकमा हेटौँडाकी एक शिक्षिका रोशनी कार्कीले आफ्नो एकाउन्टबाट विद्यालय पोसाकमा नाच्दै गरेका साना विद्यार्थीको भिडिओ पोस्ट गरिन्। साँझपख भिडिओ पोस्ट गरेकी उनले त्यसपछि त्यो दिन टिकटक चलाइनन्।

भोलिपल्ट बिहान टिकटक एप्स खोलेर हेर्दा चकित परिन्, किनकि अघिल्लो दिन पोस्ट गरेको भिडिओ १० लाख बढीले हेरिसकेका पाइन्। विद्यालयमा केटाकेटी नाचेको भिडिओ रातभरिमा भाइरल भइसकेको रहेछ।

उनको एकाउन्टबाट डाउनलोड गरेर फेसबुकदेखि ट्वीटरसम्म धेरैले पोस्ट गरेका रहेछन्। टिकटकमा मात्रै नभई सबैजसो सञ्जालमा भाइरल भयो। भिडिओमा दक्षिण भारतीय चलचित्र ‘पुष्पा द राइज’को लोकप्रिय गीत ‘सामे सामे’मा स्कुले केटाकेटीले नृत्य गरेका थिए।

यसरी भाइरल भयो भिडिओ

भिडिओमा हेटौँडा–९, स्थित रसल एकेडेमीमा यूकेजीमा पढ्ने बरिसा क्षेत्रीलगायत साथीहरूले नृत्य गरेका थिए। नृत्य गर्दा बरिसाको हाउभाउले सबैको ध्यान खिचेको हो। भिडिओ शुक्रबारको दिन अतिरिक्त क्रियाकलाप गराउँदाको थियो। त्यो पनि अहिले थिएन । ६ महिना अघि शुक्रबारको दिनको थियो।

विद्यालयकी तत्कालीन शिक्षिका रोशनी कार्कीले भिडिओ खिचेकी थिइन्। तर ६ महिनापछि पाँचदिनअघि मात्रै उनले भिडिओ पोस्ट गरेकी छिन्। भिडिओ खिच्ने र पोस्ट गर्ने शिक्षिका रोशनीले भने अहिले स्कुल छाडिसकेकी छिन्।

‘बरिसा पहिलाबाटै राम्रो नाच्थिन्। शुक्रवारको दिन मैले नै हिन्दी गीतमा नाच्न लाएको थिए। मोबाइलमा भिडिओ थियो। पाँच दिन अघि टिकटकमा हालिदिऊ न भनेर हाल्दिएको थिएँ। भाइरल पो भएछ’’ कार्की बताउँछिन्।

रोशनीको टिकटक एकाउन्टबाट हालसम्म उक्त भिडिओ ४० लाख बढी पटक हेरिएको छ। ३ हजार बढी कमेन्ट आएको छ। ५ हजार बढी पटक सेयर भइसकेको छ।

उनको भिडिओ ट्वीटरमा तेजा नाम गरेको एक प्रयोगकर्ताले २ दिन अघि सेयर गरेका थिए। उनको उक्त ट्वीटलाई रिट्वीट गर्दै दक्षिण भारतीय चलचित्र क्षेत्रकी लोकप्रिय नायिका रश्मिका मन्दनाले बरिसालाई भेट्न चाहेको समेत प्रतिक्रिया दिइन्।

रश्मिकाले आफू अभिनीत फिल्म पुष्पाको ‘सामी सामी’ बोलको गीतमा बरिसाको नृत्यले प्रभावित भएर भेट्ने इच्छा गरेको प्रतिक्रिया दिएकी थिइन्। ‘‘म यो प्यारीलाई भेट्न चाहन्छु। कसरी सक्छु?’’ भन्दै प्रतिक्रिया जनाइन्। रश्मिकाको प्रतिक्रिया पस्चात बारिसाको भिडिओ नेपाल, भारतहुँदै विश्वभर भाइरल हुन पुग्यो।

बारिसाको भिडिओमा भारतीय कोरियोग्राफर, अभिनेता र चलचित्र निर्देशक रेमो डिसुजाले समेत प्रतिक्रिया जनाएका छन्। उनले समेत बरिसालाई प्रत्यक्ष भेट्न मन लागेको भन्दै नृत्यको तारिफ गरेका छन्। ‘‘उनलाई हेर्नुहोस्, मेरो भगवान्, उनको एक्सप्रेसन अनुग्रह र सबैभन्दा बढी लिप सिंक राम्रो छ। उनलाई प्रत्यक्ष हेर्न मन छ,’’ रेमोले इन्स्टाग्राममा लेखेका छन्। भिडिओलाई धेरै बलिवुड कलाकारहरूले सेयर गर्दै मन परेको प्रतिक्रिया दिइरहेका छन्।

बरिसा सामाजिक सञ्जालमा भाइरल भएपछि उनको घरमा संचारकर्मीको भीड लागेको उनको परिवारले बताएको छ। उनको उमेर सानो भएकाले बारिसालाई भेट्न नआइदिन समेत परिवारले अनुरोध गरेको छ। ‘‘उनी सानैदेखि नाच्न रुचाउने भएकाले हिन्दी र नेपाली गीतका ‘हुक स्टेप’ र शब्द समेत याद गर्छिन्,’’ उनको परिवारको एक सदस्यले बताए।

त्यही देखेर सबैलाई भिडिओ मन परेको हुन सक्ने उनले बताए। बारिसा हाल आफ्नो हजुरबुबा र हजुरआमाको साथ हेटौँडा ९ सिमेन्ट रोडमा बस्छिन्।

भिडिओ रश्मिकाले सेयर गरेपछि बरिसा नेपालमा मात्र नभई भारतमा समेत भाइरल बनेको छ। अहिले भारतीय सञ्चारमाध्यममा समेत बरिसा छाएकी छिन्। धेरै मिडियाले उनको बारेमा समाचार लेखेको छ। रश्मिकाका सुपरहिट फिल्म ‘डियर कमरेड’, ‘पुष्पा’लगायतका फिल्म छन्।

 

यो पनि पढ्नुहोस्-

रश्मिकाले भिडिओ सेयर गरेपछि हेटौंडाकी बरिसा भारतमा समेत चर्चामा, छाइन् मिडियामा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved