पु्स्तक अंश : शितल निवासबाट भारतसँग कसले माग्यो पैसा ?

कांग्रेसलाई देश होइन दिल्ली दुख्छ !

पु्स्तक अंश :  शितल निवासबाट भारतसँग कसले माग्यो पैसा ?

काठमाडौं। नेपाली कांग्रेसको १२औं महाधिवेशनमा तत्कालीन पार्टी सभापति सुशील कोइरालाको आग्रहमा शितल निवासबाट फोन गरेरै भारतबाट पैसा मागेको तथ्य सार्वजनिक भएको छ।

भारतीय राष्ट्रपति प्रणव मुखर्जीसँग नेपालका तत्कालीन राष्ट्रपति डा.रामवरण यादवको कार्यालयबाट फोन गरेर पैसा ल्याएको र त्यो पैसा सिधै राष्ट्रपति यादवको निवासमा थुपारिएको आरोपसमेत स्व.कोइराला माथि लागेको छ।

पत्रकार देवप्रकाश त्रिपाठीद्वारा लिखित ‘तुषानल’ अर्थात् ‘भुसको आगो’मा उक्त कुराको पर्दाफास गरिएको छ। पुस्तकमा ‘प्रणव मुखर्जीसँग सुशीलले मागे नगद’,‘नयाँ दिल्लीसँग यसरी जोडिए सिटौला’,‘डा.अमरेशकुमार सिंह र बाह्रबुँदे सम्झौता’, ‘सत्ता प्राप्तिका भद्दा छटपटी’जस्ता कुराको समेत खुलासा गरिएको छ।

कांग्रेस महाधिवेशनका लागि ‘आवश्यक खर्च’ भनेर मागिएको उक्त पैसा ल्याउन कांग्रेस नेता कृष्णप्रसाद सिटौला समेतको भूमिका रहेको समेत पुस्तकमा खुलाइएको छ। ‘आवश्यक खर्च’ गर्न शीतलनिवासबाट फोन गरी पैसा मागिएको, मागेअनुसार ‘पर्याप्त सहयोग’ भएको र ‘आवश्यक रकम खर्च भएर पनि ठूलो रकम उब्रिएको’ समेत चर्चा छ।

भारतबाट आएको पैसा र खर्च भएको पैसा मात्रै होइन बाँकी रहेको पैसा कति हो ? भन्ने कुरा राष्ट्रपति डा. यादव, स्व.कोइराला र कृष्ण सिटौलालाई मात्रै जानकारी थियो। त्यसको हिसाब कतै देखाइएन।

बहुदलीय प्रजातन्त्र स्थापनापछि देशमा भएका राजनीतिक घटनाक्रमलाई पुस्तकमा समेटिएको छ। पत्रकारका हैसियतले आफूले देखेको, भोगेको र बुझेको विषयवस्तुलाई पुस्तकमार्फत पाठकसामु प्रस्तुत गरेको त्रिपाठीको भनाइ छ।

यसैगरी, अर्को प्रसंगमा वि.सं. २०५८ साउनमा बनेको देउवा नेतृत्वको सरकार गठनको तीन महिना नबित्दै देउवालाई हटाउने तयारीमा गिरिजाप्रसाद कोइराला लागेको कुरा पनि खुलेको छ। संसदीय दलमा आफ्नो पक्षमा बहुमत पुर्‍याउन कोइरालाले पैसा बाँडेको प्रसंग पनि पुस्तकमा छ।

‘सत्ता प्राप्तिका भद्दा छटपटी’ शीर्षकको अध्यायमा लेखक त्रिपाठी लेख्छन्–‘देउवाको समर्थनमा रहेका तराईका केही सांसदलाई आफ्नो पक्षमा मिलाउन नगद खर्च गर्ने योजना बनाए । त्यसक्रममा सांसद खरिद गर्न भन्दै गिरिजाप्रसाद कोइरालाले महन्थ ठाकुरलाई २० लाख रुपैयाँ उपलब्ध गराएका थिए, उक्त रकम महन्थले अमरेशकुमार सिंहको जिम्मा लगाए।’

लेखक त्रिपाठी अझै अगाडि लेख्छन्–‘गिरिजाप्रसाद कोइराला र जमिम शाह (जो पछि मारिए)ले तराईका पाँचजना सांसद खरिद गर्न जम्मा एक करोड रुपैयाँ अमरेशकुमार सिंहको हातमा राखिदिँदै ४५ लाख रुपैयाँ केही दिनपछि उपलब्ध गराउने वचन दिए । दिइएको ५५ लाखमध्ये पाँच लाख अमरेशकुमार सिंहसँग गोविन्दराज जोशीले लिए ।’

नेपाली कांग्रेस कोइराला, देउवाहरूले चलाउँथे कि अमरेशकुमार सिंहहरूले भन्ने सवाल पनि पुस्तकमा उठाइएको छ। ‘नेपाली कांग्रेसभित्रको अन्तरकलह, घात–प्रतिघात, विश्वासघात, घृणित खेलहरूको वृत्तान्तले कांग्रेस पाखण्डीहरूको झुन्ड हो भन्न बाध्य पार्छ । कांग्रेसलाई देश होइन दिल्ली दुख्छ ! कांग्रेसको ‘चेन अफ कमान्ड’ लामो समयदेखि दिल्ली र बेलामौकामा ‘डिसी’ मा रहँदै आएको छ’ पुस्तकमा यस्ता कुराको पनि व्याख्या छ।

हालका कांग्रेस सभापति देउवाबारे पनि पुस्तकमा केही लेखिएको छ। ‘प्रधानमन्त्री बन्नबाट यसरी रोकिए तारानाथ’ शीर्षकको अध्यायमा भनिएको छ–‘रातको नौ बज्न लागिसकेको थियो, देउवा मदिराको नशामा रहेछन् ।.

फोनमा राम्रोसँग कुराकानी गर्न देउवाले नसकेपछि पशुपतिभक्तले देउवापत्नी आरजुलाई टेलिफोन गरेर सबै कुरा बेलिविस्तार लगाए । .आरजुले देउवालाई नुहाउन बाथरुम पठाइन्, कागतीपानी पियाएर ‘नशा’ कम गराउने प्रयास गरिन् र गाडी चढाएर दरबार पठाइन् ।

यसरी शेरबहादुर देउवा २०६१ जेठमा तेस्रोपटक प्रधानमन्त्री बनाइए ।’

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved