कोशीमा कांग्रेसको प्रस्ताव- केदार कार्कीकै नेतृत्वमा सर्वदलीय सरकार बनाऔँ

'एमाले-माओवादी केन्द्रले सङ्कल्प प्रस्ताव फिर्ता लिनुपर्छ'

नेपालभ्युज

कोशीमा कांग्रेसको प्रस्ताव- केदार कार्कीकै नेतृत्वमा सर्वदलीय सरकार बनाऔँ

विराटनगर । नेपाली कांग्रेसले कोशी प्रदेशमा केदार कार्कीकै नेतृत्वमा सर्वदलीय सरकार बनाउन प्रस्ताव गरेको छ ।

शुक्रबार जारी प्रदेशसभा बैठकमा कांग्रेस सांसद विनोद राईले यस्तो प्रस्ताव राखेका हुन् । “कोशीलाई कहिलेसम्म हामीले यसरी राखिरहने ? अब सर्वदलीय सरकार बनाऔँ । को-को साथीहरू मन्त्री हुन चाहनुहुन्छ ? आउनुस्, हामी बनाइदिन्छौँ । तर, सर्वदलीय सरकार बनाऔँ,” उनले भने ।

सर्वदलीय सरकार बनाउने सहमति भएपछि मुख्यमन्त्री केदार कार्कीले मार्गप्रशस्त गर्ने उनले बताए । नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) का सांसदहरूलाई सङ्कल्प प्रस्ताव फिर्ता लिन आग्रह गर्दै उनले भने, “मुख्यमन्त्री हटाउन सङ्कल्प प्रस्ताव ल्याउनु भनेको नौलो अभ्यास हो । फिर्ता लिनुस् ।”

केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धन परिवर्तन गरेसँगै बहुमत गुमाएका मुख्यमन्त्री कार्की विश्वासको मत पनि नलिने र राजीनामा नदिने अडानमा छन् । यसपछि एमाले-माओवादी केन्द्रका सांसदहरूले सङ्कल्प प्रस्ताव दर्ता गराएका छन् । प्रस्तावमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनुपर्ने उल्लेख गरिएको छ ।

कार्की संविधानको धारा १६८ को ५ अनुसार मुख्यमन्त्री बनेका हुन् । उनले आफू मध्यावधि रोक्ने ध्येयका साथ मुख्यमन्त्री बनेको उल्लेख गर्दै राजीनामा नदिने अडान कायमै राखेका छन् ।

संविधाविद्हरूले मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनुपर्ने र विश्वासको मत नपाए प्रदेश मध्यावधि निर्वाचनमा जाने बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved