सुदूरपश्चिमले कहिले पाउँछ मुख्यमन्त्री ? के गर्दैछन् प्रदेश प्रमुख ?

उपधारा २ मा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नुपर्ने व्यवस्था छ ।

नेपालभ्युज

सुदूरपश्चिमले कहिले पाउँछ मुख्यमन्त्री ? के गर्दैछन् प्रदेश प्रमुख ?

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले अझैसम्म मुख्यमन्त्री पाएको छैन । प्रदेश सभामा ७ सिट भएको नागरिक उन्मुक्ति पार्टी (नाउपा) भित्रको आन्तरिक कलह सतहमा आउँदा मुख्यमन्त्री नियुक्तिमा विलम्ब भइरहेको हो ।

गत वैशाख २ गते त्यहाँ नाउपा सांसदद्वय लक्ष्मणकिशोर चौधरी (Laxmankishor chaudhary) र कैलाश चौधरी (Kailash chaudhary) ले मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । केन्द्रीय सत्ता गठबन्धनका तर्फबाट मुख्यमन्त्रीमा दाबी पेश गरेका कैलाश चौधरीलाई नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र एक स्वतन्त्र सांसदले समर्थन गरेका छन् भने नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा (एकीकृत समाजवादी) सहितको वैकल्पिक गठबन्धनका तर्फबाट लक्ष्मणकिशोर चौधरीले दाबी पेश गरेका हुन् ।

अर्थात् कैलाश र लक्ष्मणकिशोर दुवैले नाउपाका सातै सांसद आफ्नो पक्षमा रहेको प्रदेश प्रमुख नजिर मियाँ (Najir miya) समक्ष खुलाएका छन् । यस्तो अवस्थामा अब के हुने भन्नेबारे अन्योल बढेपछि मुख्यमन्त्री नियुक्तिमा विलम्ब भएको हो ।

यसपछि अहिले प्रदेश प्रमुख मियाँले कानूनी परामर्श लिइरहेका छन् । प्रदेश प्रमुख मियाँका सचिवालय सदस्य सबिर अलीका अनुसार अहिले प्रदेश प्रमुख मियाँले कानूनी परामर्श लिने काम गरिरहेका छन् ।

“उहाँ (प्रदेश प्रमुख नजिर मियाँ) ले परामर्शहरू लिइरहनुभएको छ,” अलीले नेपालभ्युजसँग भने, “ठ्याक्कै मिति तोकेरैचाहिँ भन्न सकिँदैन । तर, आज साँझ वा भोलि बिहानसम्ममा प्रदेशले मुख्यमन्त्री पाउँछ । त्यसैगरी काम भइरहेको छ ।”

उनका अनुसार सांसद स्वयम् उपस्थित गराएर सनाखत गराउने काम भने हुने छैन । तर, यसअघि प्रदेश प्रमुख मियाँले त्यसो पनि हुनसक्ने बताएका थिए ।

यसबारे जिज्ञासा राख्दा अलीले भने, “अस्ति त प्रदेश प्रमुखज्यूले म आएपछि सबै सांसदहरूसँग भेट पनि भएको छैन, परिचयात्मक भेटघाट पनि हुन्छ भनेर टाउको गन्न सकिन्छ भनेर भन्नुभएको हो । तर, त्यसरी सनाखत नगराउने बरु संसदीय दलका नेताहरूले नै प्रमाणित गर्ने काम हुने भन्ने भएको छ । तयारी त्यस्तै छ ।”

सुदूरपश्चिम प्रदेश सरकारले मुख्यमन्त्री नपाउनुको एउटा कारक भने केन्द्रीय सत्ता गठबन्धनमा सत्ता साझेदार दलका रूपमा रहेको नेकपा (एकीकृत समाजवादी) पनि हो । उसले कुनै पनि हालतमा पहिलो चरणमा नै आफूले मुख्यमन्त्री पाउनुपर्ने अडान राखेको छ । सुदूरपश्चिममा मुख्यमन्त्री नपाए केन्द्रीय गठबन्धनमा समेत सङ्कट आउनसक्ने चेतावनी उसले दिइसकेको छ ।

त्यसो त गठबन्धनमा सुरूमा सुदूरपश्चिम एकीकृत समाजवादीले नै पाउने समझदारी बनेको थियो । तर, आइतबार बिहानसम्म आइपुग्दा प्रदेश सरकारको नेतृत्व नाउपालाई दिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सत्ता साझेदार दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली सकारात्मक देखिए । यसपछि परिस्थिति बिग्रिएको हो ।

वैकल्पिक गठबन्धनलाई समर्थन गर्न पुगेको एकीकृत समाजवादीले पहिलो चरणमा आफूले मुख्यमन्त्री पाउनुपर्ने अडान छाडेको छैन । मङ्गलबार बिहान मात्रै प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पहिलो चरणमा मुख्यमन्त्री नपाए गठबन्धनमा सङ्कट आउने चेतावनी दिएका छन् ।

प्रधानमन्त्रीलाई झलनाथको चेतावनी- पहिलो चरणमै सुदूरपश्चिमको नेतृत्व नपाए गठबन्धनमा सङ्कट पैदा हुन्छ

यता केन्द्रीय सत्ता गठबन्धनमा कसरी कुरा मिल्छ, थाहा छैन । तर, प्रधानमन्त्री प्रचण्डले भने नेता खनाललाई साँझसम्म समस्या समाधानार्थ कदम चाल्ने आश्वासन दिएका छन् ।

उता प्रदेश प्रमुख मियाँ भने जता बहुमत पुग्छ, उतैबाट मुख्यमन्त्री नियुक्त गर्ने तयारी गरेको स्रोत बताउँछ । “गठबन्धनभित्रको कुरा हाम्रो कन्सर्नको विषय भएन,” प्रदेश प्रमुख मियाँको सचिवालयका एक सदस्यले भने, “जता बहुमत पुग्छ, संविधानत: त्यहीँबाट मुख्यमन्त्री नियुक्त हुन्छ ।”

अहिले सुदूरपश्चिममा संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठन भइरहेको हो । उपधारा २ मा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नुपर्ने व्यवस्था छ ।

बिच्कियो एकीकृत समाजवादी, गठबन्धन ‘अशान्त’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved