प्रधानमन्त्रीलाई झलनाथको चेतावनी- पहिलो चरणमै सुदूरपश्चिमको नेतृत्व नपाए गठबन्धनमा सङ्कट पैदा हुन्छ

नेपालभ्युज

प्रधानमन्त्रीलाई झलनाथको चेतावनी- पहिलो चरणमै सुदूरपश्चिमको नेतृत्व नपाए गठबन्धनमा सङ्कट पैदा हुन्छ

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व पहिलो चरणमा आफूहरूले नपाए गठबन्धनमा सङ्कट आउने चेतावनी दिएका छन् ।

मङ्गलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न बालुवाटार पुगेका नेता खनालले यस्तो चेतावनी दिएका हुन् । गठबन्धनमा भएको सहमति पालना नभएको भन्दै नेता खनालले त्यसलाई सच्याएर अघि बढ्न प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेका थिए ।

स्रोतका अनुसार नेता खनालले केही दिनभित्रै गठबन्धनमा भएको सहमति पालना नभए गठबन्धनमा सङ्कट आउनसक्ने चेतावनी दिएका थिए । “केन्द्रमा पनि हामी गठबन्धनमै छौँ, सरकार त्यसैगरी चलिरहेको छ । यो प्रदेशको मात्रै कुरा होइन । गठबन्धनमा सङ्कट नआउनेगरी अघि बढ्नुपर्छ,” नेता खनालले प्रधानमन्त्री प्रचण्डलाई भनेका छन् ।

जवाफमा प्रधानमन्त्री प्रचण्डले विवाद साँझसम्म मिलाउने आश्वासन दिएका छन् ।

यसअघि सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व एकीकृत समाजवादीले गर्ने गठबन्धनमा सहमति बनेको थियो । तर, आइतबार बिहानसम्म आइपुग्दा प्रदेशको नेतृत्व नागरिक उन्मुक्ति पार्टी (नाउपा) लाई दिने गठबन्धनमा सल्लाह भएपछि एकीकृत समाजवादी चिढिएको छ ।

यसपछि उसले सुदूरपश्चिममा केन्द्रीय प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस नेतृत्वको वैकल्पिक गठबन्धनलाई समर्थन गरेको छ । कांग्रेससहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को वैकल्पिक गठबन्धनको तर्फबाट नाउपाको रेशम चौधरी पक्षका लक्ष्मणकिशोर चौधरीले मुख्यमन्त्रीमा दाबी पेशसमेत गरिसकेका छन् ।

यता केन्द्रीय गठबन्धनअनुसार भने नाउपाकै रञ्जिता श्रेष्ठ चौधरी पक्षीय नेता कैलाश चौधरीले मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । उनलाई एमाले, माओवादी केन्द्रसहित एक स्वतन्त्र सांसदले समर्थन जनाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved