५१ वर्षिय लरेन्स वोङ् सिंगापुरको चौथो प्रधानमन्त्री बन्ने

नेपालभ्युज

५१ वर्षिय लरेन्स वोङ् सिंगापुरको चौथो प्रधानमन्त्री बन्ने

काठमाडौं । सिंगापुर प्रधानमन्त्रीको कार्यालयले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको उत्तराधिकार घोषणा गरेको छ ।

विज्ञप्ति अनुसार प्रधानमन्त्री ली हसिन लुङको स्थान मे १५ देखि उपप्रधानमन्त्री ५१ वर्षीय लरेन्स वोङ्ले लिनेछन् । वोङ सिंगापुर स्वतन्त्र भए यताको चौथो प्रधानमन्त्री हुनेछन्।

वर्तमान प्रधानमन्त्री ली हसिन लुङ् सिंगापुरका संस्थापक पिता ली क्वान युका छोरा हुन् । उनी सन् २००४ को अगष्ट १२ मा सिंगापुरको तेस्रो प्रधानमन्त्री भएका थिए । २० वर्ष सत्तामा रहेर उनले आगामी महिना सत्ता हस्तान्तरण गर्दै छन्।

ली क्वान यु सन् १९५९ देखि सन् १९९० सम्म ३१ वर्ष सिंगापुरको प्रधानमन्त्री भएका थिए । त्यसपछि उनलाई ‘मन्त्रिपरिषदको मेन्टर’ उपाधि दिइएको थियो । दोस्रा प्रधानमन्त्री गो चोङ तोङ सन् १९९० देखि सन् २००४ सम्म १४ वर्ष प्रधानमन्त्री रहेका थिए ।

सिंगापुरमा ५ दशकदेखि पिपुल्स एक्सन पार्टी (पाप) निरन्तर सत्तामा रहँदै आएको छ । सिंगापुरको राजनीति र विकास समकालिन विश्वमै एक उदाहरणीय मानिन्छ ।

स्वतन्त्रताको समयमा सिंगापुर एक सानो र गरिब टापु राज्य थियो । तर, सानो देश भएर पनि आर्थिक विकासमा यसले फडको मारेको छ ।

लरेन्स वोङ्लाई सत्तारुढ पिपुल्स एक्सन पार्टीले चौथो पुस्ताको नेता (फोर जी लिडर) को संज्ञा दिएको छ । उनले सिंगापुरमा लि क्वान यु परम्परालाई न्याय गर्ने अपेक्षा गरिएको छ ।

सन् २०२२ को जुनमा प्रधानमन्त्री ली हुसिन लुङले लरेन्स वोङलाई उपप्रधानमन्त्री नियुक्त गरेका थिए । उनलाई धेरैले ‘कार्यकारी प्रधानमन्त्री’ तथा ‘भावी प्रधानमन्त्री’ भन्न थालेका थिए।

वोङ्ले मिचिगन विश्व विद्यालयबाट अर्थशास्त्रमा र हार्वड विश्वविद्यालयबाट जनप्रशासनमा स्नातकोत्तर गरेका छन् । राजनीतिमा आउनु अघि उनी जनप्रशासन सेवामा थिए ।

सन् २०११ को आम निर्वाचनमा उनी पहिलोपटक सांसद निर्वाचित भएका थिए । उनले रक्षा, शिक्षा, सूचना तथा संचार, अर्थलगायत विभिन्न मन्त्रालयको कार्यभार सम्हालिसकेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved