गठबन्धनमा माधवका दुई माग, बागमतीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने ‘चेतावनी’

नेपालभ्युज

गठबन्धनमा माधवका दुई माग, बागमतीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने ‘चेतावनी’

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले सत्ता गठबन्धनमा दुई माग राखेको छ । ती मागहरू पूरा नभए आफू सत्ता गठबन्धनमा नरहने सक्ने ‘चेतावनी’समेत दिएको छ ।

आइतबार बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दुई मागहरू राखेका हुन् ।

अध्यक्ष नेपाल (Madhav kumar nepal) ले सात प्रदेशमध्ये एक प्रदेशको मुख्यमन्त्री र संवैधानिक तथा राजनीतिक नियुक्तिहरूमा समान सहभागिता हुनुपर्ने र त्यो नभए आफूहरू सत्ता गठबन्धनमा नरहन सक्नेसम्मको चेतावनी दिएका हुन् ।

एकीकृत समाजवादीका नेता कृष्णप्रसाद खनालका अनुसार अध्यक्ष नेपालले त्यस्तो माग राखेका हुन् । खनालले नेपालभ्युजसँग भने, “यी मागहरू पूरा नभए सत्ता गठबन्धनमा पनि रहने कि नरहने भन्नेबारे सोच्न बाध्य हुन्छौँ ।”

त्यसो त एकीकृत समाजवादीले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेल (shalikram jamarkattel) लाई विश्वासको मत नदिने भनेर आफ्ना माग सम्बोधन गर्न गठबन्धनमा दबाब बढाएको छ । मुख्यमन्त्री जमरकट्टेलले सोमबार (भोलि) विश्वासको मत लिँदैछन्, जो केन्द्रीय सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) का तर्फबाट मुख्यमन्त्री बनेका हुन् ।

एकीकृत समाजवादी, बागमती प्रदेशका संसदीय दलका नेता कृष्णप्रसाद खनाल भन्छन्, “गठबन्धनभित्र हेपाहा प्रवृत्ति छ । यस्तै प्रवृत्ति देखिरहियो भने विश्वासको मत दिँदैनौँ ।”

केन्द्रमा दुई नेता बसेर गरेको निर्णय आफूहरू खुरुखुरु मान्न बाध्य भएको उल्लेख गर्दै उनले भने, “सत्ता गठबन्धन भनेको प्राप्तिको स्रोत हो । त्यसमा दामासाहीरूपमा अवसरहरू वितरण हुनुपर्छ । तर, त्यो देखिँदैन । दुई नेताको निर्णयले गठबन्धन चल्दैन ।”

अगाडि उनले भने, “यथास्थितिमा विश्वासको मत दिन्नौँ ।” बागमतीमा एकीकृत समाजवादीसँग ७ सांसद छन् । यदि एकीकृत समाजवादीले मुख्यमन्त्री जमरकट्टेललाई विश्वासको मत नदिए सरकार ढल्ने निश्चितप्राय: देखिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved