प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाको छलफल निष्कर्षविहीन

नेपालभ्युज

प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाको छलफल निष्कर्षविहीन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीचको छलफल निष्कर्षविहीन भएको छ ।

संसदीय समितिको कार्यादेशका विषयमा दुई शीर्ष नेताबीच कुरा नमिलेको बताइएको छ ।

बैठकमा सहभागी कांग्रेस नेता जीवन परियारका अनुसार छानबिन समितिको टिओआरमा गृहमन्त्रीको नाम नराखी कम्पनीको नाममात्र उल्लेख गरेर जान प्रधानमन्त्रीले आग्रह गरेका थिए ।

प्रचण्डले कम्पनीको नाम राखेपछि छानबिन गर्दै जाँदा संलग्न व्यक्ति तानिने भन्दै देउवालाई आस्वस्त पार्न खोजेको थिए ।

जवाफमा देउवाले कम्पनीको नाम मात्रै राख्दा व्यक्ति भन्दा पनि कम्पनी जिम्मेवार हुने भन्दै गृहमन्त्रीलाई जोगाउन खोजेको भन्दै प्रचण्डको प्रस्ताव अस्विकार गरेका छन् । देउवाले आफूहरूले उठाएको माग जायज भएको र सहकारीपीडितलाई न्याय दिने कुरामा कांग्रेस नचुक्ने भन्दै कांग्रेसको माग पूरा गर्न प्रधानमन्त्रीलाई अनुरोध गरेका थिए ।

सत्ता पक्षले चलाखी गरेर गृहमन्त्रीलाई उन्मुक्ति दिन खोजिरहेको कांग्रेसको बुझाई छ ।

संसदमा देखिएको गतिरोध अन्त्यका लागि बुढानिलकण्ठ पुगेका प्रचण्डले पहिले देउवासँग वान टु वान भेट गरेका थिए । त्यसपछि दुई नेताको छलफलमा कांग्रेसका केही नेता पनि सहभागी भएका थिए । झण्डै ४० मिनेट बुढानिलकण्ठमा बसेर प्रधानमन्त्री पुष्पकमल दाहाल कुनै सहमति नगरी फर्किएका छन् ।

रविसहित व्यक्तिको नाम किटेर छानबिन समिति गठन हुनुपर्ने कांग्रेसको अडान

दुई नेताबीच सहमति नजुटेपछि आज हुने भनिएको शीर्ष नेताहरुको बैठक पनि  नबस्ने बैठकमा सहभागी अर्का नेता रमेश लेखकले बताए । नेता लेखकले आज बस्ने संसद बैठकको अवरोध जारी रहने र सडक प्रदर्शन पनि सँगसँगै अघि बढ्ने बताए ।

बजेट ल्याउने दिन नजिकिँदा गर्दा समेत संसद् खुल्ने स्थिति नभएपछि प्रधानमन्त्री प्रचण्ड संवादका लागि अग्रसर भएका हुन् ।

सहकारी प्रकरणको छानबिनको लागि संसदीय समिति गठनको गृहकार्य, सदन खुलाउने प्रयास गर्न शीर्ष नेताको बैठक अघि प्रधानमन्त्रीले देउवासँग भेट गरेका हुन् । देउवा केही दिन यता अस्वस्थ्य भएर घरमै आराम गरेर बसेका छन् ।

कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने दोषी रहेको भन्दै छानबिन गर्नु पर्ने माग गर्दै आएको छ । तर सत्तापक्षले रविको नाम लिएर छानबिन समिति गठन गर्न नसकिने अडान लिएपछि सहमति खोज्ने प्रयत्नले निकास पाउन सकेको छैन ।

सहकारीकै विषयलाई लिएर कांग्रेसले आजै काठमाडौंमा विरोध प्रदर्शन गर्दैछ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved