बी एण्ड सीलाई सम्बन्धन दिन सर्वोच्चको आदेशप्रति डा. केसीको असन्तुष्टि, न्यायिक अराजकता सिर्जना हुन सक्ने टिप्पणी

नेपालभ्युज

बी एण्ड सीलाई सम्बन्धन दिन सर्वोच्चको आदेशप्रति डा. केसीको असन्तुष्टि, न्यायिक अराजकता सिर्जना हुन सक्ने टिप्पणी

काठमाडौं । चिकित्सा शिक्षा सुधारका लागि लामो समयदेखि आन्दोलनमा रहेका डा. गोविन्द केसीले दुर्गा प्रसाईंको मेडिकल कलेज बी एन्ड सीलाई सम्बन्धन दिन सर्वोच्च अदालतले गरेको फैसलाप्रति असन्तुष्टि जनाएका छन् । सर्वोच्चले सोमबार गरेको आदेशले चिकित्सा शिक्षा ऐनको मर्ममा प्रहार गरेको उनको टिप्पणी छ ।

न्यायाधीशद्वय कुमार चूडाल र सारंगा सुवेदीको इजलासले प्रसाई्रको पक्षमा रिट जारी गर्दै कलेज सञ्चालनका लागि सम्बन्धन दिने गरी फैसला सुनाएको थियो ।

सर्वोच्चको यस फैसलाले चिकित्सा शिक्षा आयोगलाई निस्तेज तुल्याउने र मेडिकल शिक्षाको क्षेत्रमा अराजकतालाई बल पुग्ने डा. केसीको दाबी छ ।

सर्वोच्चको फैसलाप्रति नै शंका गर्दै केसीले विज्ञप्तिमा भनेका छन्, ‘यही संदिग्ध अर्थ लाग्ने फैसलामा टेकेर कसैले पनि ऐन उल्लंघन गर्ने काम गरेमा त्यो हामीलाई स्वीकार्य हुने छैन ।’

देशको कानुन र संविधान टेकेर हुने कुनै पनि फैसला मान्नु सबैको कर्तव्य हुने भन्दै उनले कसैको निहित स्वार्थमा कानुन प्रतिकूल फैसला आए न्यायिक अराजकता सिर्जना हुन सक्ने टिप्पणी गरेका छन् । आम नागरिकको स्वास्थ्यमा थप खेलबाड हुने चिन्ता पनि उनको छ ।

साथै सरकारलाई आफ्ना मागहरू तुरुन्त पूरा गर्न र सम्झौताहरू कार्यान्वयन गर्न उनले पुन:स्मरण गराएका छन्।

डा. केसीको अभियानका कारण आफ्नो व्यवसाय धरापमा परेको प्रसाईंको आरोप छ । मापदण्ड र प्रक्रिया पुर्‍याएर गरिने काममा भने आफूलाई आपत्ति नहुने केसीको भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved