कर्णाली प्रदेशको स्वास्थ्य सूचकमा आंशिक सुधार

नेपालभ्युज

कर्णाली प्रदेशको स्वास्थ्य सूचकमा आंशिक सुधार

सुर्खेत । कर्णाली प्रदेशमा स्वास्थ्य सूचकमा आंशिक सुधार देखिएको छ । भौगोलिक विकटताका कारण सबै ठाउँमा यातायातको पहुँच नपुगेको कर्णालीको स्वास्थ्य सूचकमा आंशिक सुधार देखिएको छ ।

प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले अर्ध वार्षिक समीक्षामार्फत सार्वजनिक गरेको प्रमुख स्वास्थ्य सूचकमा यो अवस्था देखिएको हो ।

मन्त्रालयले सुरक्षित सुत्केरी, बालमृत्युको अवस्था, परिवार नियोजनका अस्थायी साधनको प्रयोग र पोषणको अवस्थालगायत समेटी चालु आवसहित तीन आर्थिक वर्षको तथ्याङ्क सार्वजनिक गरेको हो ।

कर्णालीमा सबै खालका खोप पूर्णरुपमा प्राप्त गर्ने बालबालिका आर्थिक वर्ष २०७८-७९ मा ८८.६ प्रतिशत थियो । आव २०७९-८० मा घटेर ८३ प्रतिशतमा झरेको छ । चालु आवको पुस मसान्तसम्म ८२ प्रतिशतले खोप प्रयोग गरेका छन् । त्यस्तै कूल बालबालिकामध्ये कम तौल भएका दुई वर्ष मुनिका बालबालिका आव २०७८-७९ मा ४.१ प्रतिशत थियो । आव २०७९-८० मा ३.६ प्रतिशत रहेको छ ।

चालु आवको पुस मसान्तसम्ममा २.७ प्रतिशत बालबालिका कम तौल भएको पाइएको छ । नवजात शिशुको मृत्यु सङ्ख्या आव २०७८-७९ मा दुई जना रहेकामा आव २०७९-८० मा शून्यमा झरेको तथ्याङ्कमा उल्लेख छ । तर चालु आवको पुस मसान्तसम्म छ जना मृत्यु भएको देखिएको छ ।

पाँच वर्ष मुनिका बालबालिकाको मृत्यु सङ्ख्या आव २०७८-७९ मा १० जना, आव २०७९-८० मा आठ जना र चालु आवको पुस मसान्तसम्म १० जनाको मृत्यु भएको तथ्याङ्कमा छ । आव २०७८-७९ मा मातृ मृत्यु सङ्ख्या १७ जना रहेको छ । आव २०७९-८० मा १६ जना छन् । चालु आवको पुससम्ममा छ जना आमाको मृत्यु भएको तथ्याङ्कमा देखिएको छ ।

परिवार नियोजनको साधनको प्रयोगदर आव २०७८-७९ मा १८.७ प्रतिशत, आव २०७९-८० मा १६.१ र चालु आवको पुस मसान्त सम्ममा १६.१ प्रतिशत रहेको पाइएको छ । चार पटकसम्म नियमित गर्भ जाँच गराउने गर्भवतीको सङ्ख्या आर्थिक वर्ष २०७८-७९ मा ७२.३ रहेको थियो भने आव २०७९-८० मा बढेर ९८.३ प्रतिशत पुुुगेको छ ।

चालु आवको पुुस मसान्तसम्म ८५ प्रतिशत पुगेको छ । आठ पटकसम्म गर्भ जाँच गराउने गर्भवतीको सङ्ख्या आव २०७८-७९ मा शून्यमा झरेको छ । त्यस्तै आव २०७९-८० मा ३४.६ प्रतिशत छ । चालु आवको पुस मसान्तसम्म ३१.४ प्रतिशत छ ।

सुत्केरीपश्चात् मापदण्डअनुसार तीन पटक जाँच गराउने आमा आव २०७८-७९ मा ५२.६ प्रतिशत रहेकामा आव २०७९-८० मा बढेर ५७.३ प्रतिशत पुगेको छ । चालु आवको पुस मसान्तसम्म ६८.८ प्रतिशत रहेको सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

स्वास्थ्य संस्थामा गई सुत्केरी गराउनेको सङ्ख्या बढेको छ । आव २०७८-७९ मा ६९.८ प्रतिशतले स्वास्थ्य संस्थामा गई सुत्केरी गराएकामा आव २०७९-८० मा ८३.६ प्रतिशतले स्वास्थ्य संस्थामा गई सुत्केरी गराएका छन् ।

दक्ष प्रसूतिकर्मीबाट सुत्केरी गराउनेको सङ्ख्या आव २०७८-७९ मा ७०.१ रहेकामा २०७९-८० मा ७४.५ रहेको छ । चालु आवको पुस मसान्तसम्म ५३.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कर्णाली प्रदेशमा जम्मा क्षयरोग बिरामीको सङ्ख्या आ २०७८-७९ मा एक हजार छ सय ५२ जना थिए । आव २०७९-८० मा ८० जना घटेर एक हजार पाँच सय ७२ रहेको छ । चालु आवको पुस मशान्त सम्म छ सय ८५ मात्र क्षयरोगी रहेका छन् । कुष्ठरोगमा बिरामीको सङ्ख्या आव २०७८-७९ मा ६८ रहेकामा आव २०७९-८० मा ७३ र चालु आवको पुस मसान्तसम्म २८ जना छन् ।

एचआइभी सङ्क्रमितको सङ्ख्या आव २०७८-७९ मा ७० जना थिए । आव २०७९-८० मा ५६ र चालु आवको मसान्तसम्ममा ४४ जना रहेको तथ्याङ्कमा उल्लेख छ । प्रदेशभरि बहिरङ स्वास्थ्य सेवा लिन आएका बिरामीको सङ्ख्या आव २०७८-७९ मा १०४.५ प्रतिशत, आव २०७९-८० मा ८४.७ प्रतिशत र चालु आवको पुस मसान्त सम्म ५३.४ प्रतिशत रहेको छ ।

अस्पतालमा आकस्मिक सेवा लिने बिरामीको सङ्ख्या आव २०७८-७९ मा ३.४ प्रतिशत, आव २०७९-८० मा ५.१ र चालु आवको पुस मसान्तसम्ममा ६.२ प्रतिशत रहेको देखिएको छ । प्रदेश सरकारले स्वास्थ्य सूचकमा सुधार ल्याउन भरमग्दुर प्रयास गरेको जनाएको छ ।

कर्णाली प्रदेश पूर्ण खोपयुक्त घोषणा कार्यक्रमलाई मुख्य उपलब्धिका रुपमा हेरिएको छ । विद्यालयमा पोषण कार्यक्रम सञ्चालन गरेको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ । तीन तहका सरकारको सक्रियतासँगै कर्णालीका स्वास्थ्य अवस्था सुधार भएको मुख्यमन्त्री राजकुमार शर्माले बताउनुभयो । भौगोलिक विकटताले गर्दा तोकिएका काम गर्न समय लागेकोसमेत मुख्यमन्त्री शर्माको भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved