अभिलेखीकरण गरिएको ४४ वर्षपछि बगाले बगेडी चरा देखियो

नेपालभ्युज

अभिलेखीकरण गरिएको ४४ वर्षपछि बगाले बगेडी चरा देखियो

कञ्चनपुर । विश्वकै दुर्लभ तथा सङ्कटापन्न मानिएको बगाले बगेडी चरा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा देखापरेको छ । निकुञ्जको बाह्य क्षेत्रमा बगाले बगेडी चरा पहिलोपटक देखापरेको हो ।

शुक्लाफाँटा नगरपालिका–२ ढकनियास्थित स्थानीय किसानको खेतमा बगाले बगेडी चरा फेला परेको संरक्षणकर्मी सुवन चौधरीले बताए । भँगेरा जस्तै तर रङ्गीन ३२ वटा बगाले बगेडी चरा आफूले देखेको उनले बताए । धेरै वर्षपछि विश्वमै दुर्लभ मानिएको चरा देखापरेपछि नियमित निरीक्षण गर्दै आएको संरक्षणकर्मी चौधरीले बताए ।

“फरक प्रजातिको चरा देखेपछि तस्वीर खिचेर नेपाल पक्षी संरक्षण सङ्घलाई पठाएँ”, उनले भने, “यो दुर्लभ प्रजातिको चरा भएको जानकारी प्राप्त भएको छ ।”

नेपाल पक्षी संरक्षण सङ्घका चराविज्ञ हिरुलाल डगौराका अनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा यस चरालाई पहिलोपटक सन् १९८० मा अभिलेखीकरण गरिएको थियो । त्यसपछि यस चराको तथ्याङ्क राखिएको नपाइएको उनको भनाइ छ ।

अभिलेखीकरण गरिएको ४४ वर्षपछि बगाले बगेडी चरा देखापरेको बताउँदै उनले नेपालमा बगेडी चराका १५ प्रजाति नेपालमा पाइने गरेको जानकारी दिए । तीमध्ये तीन प्रजाति रैथाने हुन् । बाँकी १२ आकर्षक साना प्रजातिका चरा रुस, मङ्गोलिया, चीनलगायतका क्षेत्रबाट बसाइँ सरेर आउने गर्दछन् ।

बसाइँ सरेर आउनेमध्ये बगाले बगेडी चरा पनि पर्ने गर्दछ । उत्तरी ध्रुवमा अत्यधिकरूपमा बढेको चिसो छल्नका प्रत्येक वर्ष यहाँ पुग्ने गर्दछन् । मासुका लागि अत्यधिकरूपमा सिकार हुन थालेपछि यो चरा विश्वबाटै लोप हुने अवस्थामा पुगेको छ ।

चराविज्ञ डगौराका अनुसार बगाले बगेडी चरा सन् २००० देखि २०१५ सम्म संवेदनशील अवस्थामा थियो । सन् २०१३ देखि २०१६ सम्म सङ्कटापन्न अवस्थामा थियो । त्यसपछि यसको सङ्ख्या निकै घटेको पाइएपछि सन् २०१७ देखि हालसम्म यो चरा अतिसङ्कटापन्न अवस्थामा छ । यो चरा खेतबारी र घाँसेमैदानमा पाइन्छ ।

साउनदेखि जेठमा प्रजनन गर्ने यो प्रजातिको पोथीले घाँसको प्रयोग गरी भुइँमा गुँड लगाउने गर्छ । यसको औषत आयु सात वर्ष हुने गरेको बताइएको छ । प्रजननका बेला पहेँलो रङमा देखिने बगाले बगेडी अरु बेला भँगेराजस्तै देखिने भएकाले चिन्न नै गाह्रो हुने गरेको छ ।

कैलाली, कञ्चनपुरसँगै बर्दिया, चितवन, झापा, कोशीटप्पु र मधेस प्रदेशका केही जिल्लामा बगाले बगेडी चरा पाइने गरेका जिल्लाका चरासम्बन्धी अन्य जानकारहरूले बताएका छन् । –रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved