गाजा ‘युद्धविराम’ अमेरिकी सुरक्षा परिषद्को प्रस्तावमा रुस र चीनको भिटो

नेपालभ्युज

गाजा ‘युद्धविराम’ अमेरिकी सुरक्षा परिषद्को प्रस्तावमा रुस र चीनको भिटो

संयुक्त राष्ट्रसंघ । गाजा युद्धविराममा राष्ट्रसंघीय सुरक्षा परिषद्मा अमेरिकी नेतृत्वको मस्यौदा प्रस्तावलाई रुस र चीनले शुक्रबार भिटो लगाएका छन् । साथै मस्यौदा प्रस्तावले इजराइलमाथि दबाब नदिएको भन्दै मस्कोले वासिङ्टनमाथि ‘पाखण्डपूर्ण तमाशा’ गरेको आरोप लगाएको छ ।

पछिल्ला युद्धविरामको आह्वानसहितका प्रस्तावहरूलाई भिटो लगाएको इजराइलको प्रमुख सहयोगी अमेरिकाले पहिलोपटक ‘तत्काल र दिगो युद्धविरामको अनिवार्यता’ को समर्थन गरेको र हमासले अक्टोबर ७ मा गरेको आक्रमणको निन्दा गरेको प्रस्तावलाई अगाडि बढाएको थियो ।

उक्त प्रस्तावमा रुस र चीनले भिटो प्रयोग गरे भने अल्जेरियाले पनि प्रस्तावको विपक्षमा मतदान गर्‍यो । गुयना अनुपस्थित भयो । स्थायी सदस्यहरू फ्रान्स र बेलायतसहित सुरक्षा परिषद्का अन्य ११ सदस्यले प्रस्तावको पक्षमा मतदान गरेका थिए ।

राष्ट्रसङ्घका लागि रुसी राजदूत वासिली नेबेन्जियाले इजराइलमाथि नियन्त्रण गर्न अमेरिकाले केही नगरिरहेको भन्दै गाजालाई धर्तीबाट करिब समाप्त गरेपछि युद्धविरामको कुरा गरेकामा वासिङ्टनको उपहास गरे ।

“हामीले एउटा विशिष्ट पाखण्डपूर्ण तमाशा हेरेका छौँ”, उनले भने, “अमेरिकी प्रस्तावलाई अत्यधिक राजनीतिकरण गरिएको छ, यसको एउटा मात्र उद्देश्य भनेको मतदाताहरूसँग खेल्नु र गाजामा युद्धविरामको कुनै पनि प्रकारले उल्लेख गरेर उनीहरूलाई चिन्तित बनाउनु हो, यो प्रस्तावले इजराइलको दण्डहीनता सुनिश्चित गर्नेछ र यसका अपराधहरूलाई मस्यौदामा मूल्याङ्कनसमेत गरिएको छैन ।”

उक्त मस्यौदा प्रस्तावले हमासद्वारा बन्धक बनाइएकाहरूलाई रिहाई गरिएको बदलामा युद्ध रोक्न अमेरिका र इजिप्टको समर्थनमा कतारको नेतृत्वमा जारी वार्तासँग युद्धविरामलाई जोडेको छ ।

अमेरिकी राजदूत लिन्डा थोमस–ग्रिनफिल्डले रुसी र चिनियाँ भिटोलाई ‘निन्दनीय’ मात्र नभएर ‘तुच्छ’ समेत भने । “रुस र चीन अमेरिकाले लेखेको प्रस्तावका लागि मतदान गर्न चाहँदैन थिए”, उनले भने, “इमानदार बनौँ, सबै उग्र बयान आए पनि रुस र चीनले दिगो शान्तिलाई अगाडि बढाउन वा मानवीय प्रतिक्रिया प्रयासमा सार्थक योगदान दिन कूटनीतिकरूपमा केही पनि गरिरहेका छैनन् भन्ने हामी सबैलाई थाहा छ ।” एएफपी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved