राजनीतिक शक्तिका आडमा लिएका थिए दुर्गा प्रसाईंले अत्याधुनिक हतियार, दुरुपयोग देखिएपछि खोस्ने तयारी !

त्यसबाहेक लाइसेन्समा वाहक भनिएका व्यक्तिले हतियार नबोकी अन्य व्यक्तिले बोकेको समेत कारणबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेकाहरूलाई नियन्त्रणमा लिइ प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ ।

राजनीतिक शक्तिका आडमा लिएका थिए दुर्गा प्रसाईंले अत्याधुनिक हतियार, दुरुपयोग देखिएपछि खोस्ने तयारी !

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको मुद्दामा सोमबार सर्वोच्च अदालतमा पेशी थियो । साढे १० बजे बिहान सर्वोच्च गएका उनको साथमा केही सहयोगी पनि थिए । दुई निजी सुरक्षागार्ड पनि थिए । गेटभित्र छिर्ने क्रममा खानतलासी हुँदै थियो ।

अदालतको गेटमा सुरक्षा जाँचमा ड्यूटीमा खटिएका थिए, प्रहरी निरीक्षक विजय भण्डारी नेतृत्वको टोली । सुरक्षाका खटिएका प्रहरी टोलीले प्रसाईंको सहयोगीले बोकेको झोला छाम्न खोज्यो ।

तर, चेकजाँच नगरी प्रसाईंको टोली पेलेरै भित्र छिर्न खोज्यो । तर, प्रहरीले मानेन । प्रसाईंका सहयोगी रामकुमार धिमालले झोला भिरेका थिए । प्रहरीले झोला हेर्दा हतियार भेटियो ।

प्रहरीले केरकार गर्दा प्रसाईंले आफूसँग देशभर जहाँसुकै हतियार बोक्न मिल्नेगरी प्रशासनले दिएको इजाजत पत्र (लाइसेन्स) भएको जिकिर गरे । तर, लाइसेन्स हेर्दा वाहकको नाम झापाको बुद्धशान्ति गाउँपालिका ३ का दीपक खड्का देखियो ।

तर, हतियार बोकेर अदालत पुग्ने व्यक्ति थिए, रामकुमार धिमाल । प्रसाईंले भनेजस्तै लाइसेन्समा ‘नेपाल राज्य भर जुनसुकै अवस्थामा लिएर हिँड्न र प्रयोग गर्न पाउने’ भने उल्लेख थियो ।

बडीगार्ड लिएर दुर्गा प्रसाईंको रवाफ, सोखका लागि वैध हतियार बोकेर अवैध गतिविधि

प्रसाईंले हतियार पाँच वर्षयता बोक्दै आएका रहेछन् । यसैले होला, उनले एक अन्तर्वार्तामा धम्की दिएका छन्, “मलाई चलायो भने कमसेकम ४०/५० जना मर्छ, म त्यो हिसाबले हिँड्छु । मार्न आउँछ भने मार्ने हो ।”

आफूले एक हजार राउन्डभन्दा बढी गोली बोकेर हिँड्ने प्रसाईंले बताउँदै आएका थिए । तर, लाइसेन्समा भने २ सय राउन्ड खरखजना बोक्न पाउने उल्लेख छ ।

लाइसेन्स बोक्न अनुमति प्रदान गरिएकोभन्दा फरक व्यक्तिले हतियार बोकेको भेटिएपछि दुई जनालाई पक्राउ गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी भूपेन्द्र खत्रीले बताए ।

प्रसाईंले लिएको हतियार बोक्ने लाइसेन्स ।

उनले भने, “रामकुमार धिमालको साथबाट हतियारसहित १०० राउन्ड गोली, म्यागजिन र दुई वटा मोबाइल बरामद गरेका छौँ । हातहतियार तथा खरखजाना ऐन, २०१९ अनुसार उनीहरूविरुद्ध कारबाही प्रक्रिया अघि बढाएका छौँ ।”

प्रसाईंको साथमा देशभर बोक्न मिल्ने बेहोरा उल्लेख भएको लाइसेन्स भएपछि प्रहरी अधिकृतहरू अचम्मित बनेका छन् । २०७५ सालमा गृह मन्त्रालयबाट एउटा परिपत्र जारी भएको थियो ।

जसमा निश्चित क्षेत्रमा मात्र हतियार लिन इजाजत दिने भनिएको छ । अर्को जिल्लामा जानुपर्‍यो भने जिल्ला सुरक्षा समितिको अनुमति अनिवार्य हुन्छ । तर, प्रसाईंले देशभर हतियार लिएर हिँड्ने लाइसेन्स कसरी पाए ? यो रहस्यको विषय बनेको छ ।

प्रसाईंले २०७५ सालमा हतियारका लागि इजाजत लिएर नियमित नवीकरण गराइरहेको जिल्ला प्रशासन कार्यालय झापाका अधिकारीहरू बताउँछन् । यसअर्थमा उनले बाम गठबन्धनको सरकार बनेपछि (२०७५ फागुनपछि) लाइसेन्स लिएका थिए ।

प्रसाईंले लिएको हतियार बोक्ने लाइसेन्स ।

त्यो बेलामा उनी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीका नजिक थिए । त्यसको केही समयअघि उनीहरूलाई मार्सी भात खुवाएर चर्चामा आएका थिए ।

त्यही बेलामा उनले राजनीतिक शक्तिको दुरुपयोगमार्फत हतियार लिने लाइसेन्स लिन सफल भएको जानकार बताउँछन् । त्यही मौकामा उनले देशैभर बोकेर हिँड्ने अनुमित लेख्न लगाएको बताइन्छ ।

फौजदारी कानूनका जानकारहरू भने सुरक्षाका निम्ति हतियार राख्न बन्देज नभए पनि जहाँसुकै लान नपाइने बताउँछन् । प्रसाईंलाई देशभर भनेर तोकेर लाइसेन्स दिनु नै त्रुटिपूर्ण रहेको जानकारहरू बताउँछन् ।

जहाँसुकै लिएर हिँड्न मिल्नेगरी लाइसेन्स दिनुले हतियारको दुरुपयोग हुने सम्भावना अधिक हुने सुरक्षाविद्हरूको तर्क छ ।

लाइसेन्स खोस्ने तयारी

प्रसाईंबाट बरामद हतियार ‘पोइन्ट टुटू’ हो । इजाजत लिएपछि उनले जर्मनीबाट हतियार खरिद गरेका थिए । तर, प्रसाईंले हतियारको दुरुपयोग गरेका कारण गृहप्रशासनले उनको लाइसेन्स खोस्ने तयारी गरेको बताइएको छ ।

जिल्ला प्रशासन कार्यालय झापासँग समन्वय गरेर उताबाट सक्कलको प्रतिलिपि मगाइएको काठमाडौं प्रहरीले जनाएको छ । घटनाबारे छानबिन जारी रहेको प्रहरीले जनाएको छ ।

दुर्गा प्रसाईंका बडीगार्ड हतियारसहित पक्राउ

यता सर्वोच्च अदालत सुरक्षा गणका प्रमुख एसपी विनोद सिलवालका अनुसार सर्वोच्च अदालतमा लाइसेन्स भए पनि हतियार बोकेर जान पाइँदैन । व्यक्तिगत सुरक्षाका लागि लिइएको हतियार बोकेर अदालत, विद्यालय लगायतका संवेदनशील क्षेत्रमा जान पाइँदैन ।

त्यसबाहेक लाइसेन्समा वाहक भनिएका व्यक्तिले हतियार नबोकी अन्य व्यक्तिले बोकेको समेत कारणबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेकाहरूलाई नियन्त्रणमा लिइ प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved