बडीगार्ड लिएर दुर्गा प्रसाईंको रवाफ, सोखका लागि वैध हतियार बोकेर अवैध गतिविधि

अलिअघि राजनीतिक शक्तिको दुरुपयोगमार्फत् चर्चामा आएका व्यवसायी प्रसाईंले जग्गा किनबेचमा कर छल्ने र ऋण लिँदा बैंङ्किङ कसूर हुने चलखेल गरेका छन् । यसअघि प्रशासनले अत्याधुनिक हतियारको लाइसेन्स लिएर दुरुपयोग गर्नेको हतियार खोसेको थियो । प्रसाईंले पनि दुरुपयोग गरिरहेको भन्दै खोस्नुपर्ने सुरक्षाविज्ञ बताउँछन् ।

बडीगार्ड लिएर दुर्गा प्रसाईंको रवाफ, सोखका लागि वैध हतियार बोकेर अवैध गतिविधि

काठमाडौं । अघिपछि गाडीको लावालस्कर । बीचमा रहेको सेतो ल्याण्डक्रुजुर । गाडीको छत खोलेर टाउको निकालेर हात हल्लाउँदै हिँड्छन् दुर्गा । गाडीको अघिपछि हिँड्ने गाडीमा उनका निजी सुरक्षा गार्ड हुन्छन् । उनी बस्ने गाडीमा भने अत्याधुनिक हतियार हुन्छ ।

यो रवाफिलो जीवनशैली प्रधानमन्त्री, राष्ट्रपतिको होइन । तर उनीहरूभन्दा कम छैन । भीभीआइपीको सवारी कै नक्कल गर्दै हिँड्ने उनी हुन्, मेडिकल व्यवसायी दुर्गा प्रसाईं ।

यति धेरै रवाफ देखाएर हिँड्ने प्रसाईं एकमात्र मेडिकल व्यवसायी हुन् भन्दा फरक नपर्ला । उनी जस्ता सयौँ जना लगानीकर्ता अरू पनि छन् । तर, उनको जीवनशैली भने अरुकोभन्दा भिन्न छ ।

उनी कुनै सरकारी उच्च ओहदामा छैनन् । न त उनले राज्य र समाजप्रति निर्वाह गरेको भूमिकाले प्रतिष्ठा चुलिएको छ । न त उनको व्यावसायिक जीवनका गतिविधिले भौतिक रुपमा नै असुरक्षित छन् । तैपनि जीवन रक्षाको लागि भन्दै हतियार देखाउँदै हिँड्छन्, रवाफिलो पारामा ।

पेशाले मेडिकल व्यवसायी रहेका प्रसाईं अन्टसन्ट बोलेर सामाजिक सञ्जाल युट्युब र फेसबुकमा भाइरल छन् । सामाजिक सञ्जालमा सस्तो चर्चा पाउनकै लागि ‘जेपीटी’ बोल्ने गरेको आरोप खेप्दै आएका उनी वित्तीय संस्थाबाट लिइएको ऋण नतिर्न सर्वसाधारणलाई समेत उक्साउँदै आएका छन् ।

अलिअघि राजनीतिक शक्तिको दुरुपयोगमार्फत् चर्चामा आएका व्यवसायी प्रसाईंले जग्गा किनबेचमा कर छल्ने र ऋण लिँदा बैंङ्किङ कसूर हुने चलखेल गरेका छन् ।

तर लिइएको ऋण आफू पनि नतिर्ने र अरूलाई पनि नतिर्न दुरुत्साहन गर्दैआएका छन् । वित्तीय अराजकतालाई दुरुत्साहन गर्दैआएका उनी सरासर गैरकानुनी क्रियाकलापको कारण विवादमा छन् ।

पक्राउ परेका दुर्गा प्रसाईंका बडीगार्ड पूर्वमाओवादी लडाकु, हतियारसँगै थियो १०० राउन्ड गोली

सार्वजनिक मञ्चमार्फत व्यापारीको नाम नै लिएर ‘भेटे भने ठोक्नुस्, नछाड्नुस्’ भन्दै अराजकतालाई प्रोत्साहन गर्दैआएका छन् । उल्टै चर्चाका लागि ती व्यापारीले आफूलाई मार्न भारतबाट ‘सार्प सुटर’ ल्याएको भन्दै सामाजिक सञ्जालमा हल्ला गर्छन् ।

‘वित्तीय संस्थाका पदाधिकारी व्यापारीहरु जहाँ भेटियो त्यही ठोक्न’ सार्वजनिक आह्वान गर्ने उनै प्रसाईं भने हतियार लिएर हिँड्छन् । अवैध गतिविधिमा संलग्न उनी जिल्ला प्रशासन कार्यालय झापाबाट लिइएको वैद्य हतियार लिएर अराजकतालाई प्रोत्साहन गरिरहेका छन् ।

विभिन्न अराजक गतिविधिसमेत उनीबाट हुँदैआएको छ । प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ छ । उसले विभिन्न समय प्रदर्शन गरिरहेको छ । संविधानत उनको यो वैद्य क्रियाकलाप हो । तर उनले भीड र समर्थकलाई दिने निर्देशन र उनका अरू गतिविधि भने वैद्य हुँदैनन् ।

बैंक तथा वित्तीय संस्थाको ऋण नतिर्ने अभियानको नेतृत्व गरेका व्यवसायी प्रसाईंले वित्तीय क्षेत्रमा अस्थिरता निम्त्याउने सार्वजनिक अभिव्यक्ति दिँदैनन् ऋण उठाउन आउने बैंकरलाई मोसो दल्न उक्साउँछन् ।

‘त्यस्ता अराजक व्यक्तिलाई प्रशासनले कसरी हतियार दियो ?’ ‘भोलि कुनै घटना गराए जिम्मेवार को हुन्छ ?’ यो प्रश्नमा गृह प्रशासनका कसैसँग जवाफ छैन ।

गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराई भन्छन्, ‘उनले कसरी हतियारको लाइसेन्स लिए भन्ने बारेमा अनुसन्धान भइरहेको छ । अनुसन्धान पछि भनौँला ।’

उनलाई हतियार राख्न् लाइसेन्स दिने निकाय हो जिल्ला प्रशासन कार्यालय झापा । झापाका सहायक प्रमुख जिल्ला अधिकारी विष्णुराज नेपालले पनि प्रसाईंले हतियार पाउनुको कारण बताउन सकेनन् ।  ‘यो विषयमा माथि (गृह मन्त्रालय)मै सोध्नुहोस् । यहाँ केही थाहा छैन’ उनले भने ।

अराजक क्रियाकलाप गर्ने र समाजमा असुरक्षा देखिने व्यक्तिलाई हतियार र गोली राख्न अनुमति दिनु कानुन विपरीत भएको सुरक्षाविद्को तर्क छ ।

दुर्गा प्रसाईंका बडीगार्ड हतियारसहित पक्राउ

हातहतियार तथा खरखजाना ऐन २०१९ मा चालचलन ठिक भएको व्यक्तिलाई मात्र रीतपूर्वक दिएको निवेदनलाई शान्ति समितिबाट निर्णय गराई हतियार राख्न इजाजत दिनसक्ने व्यवस्था छ । तर विभिन्न विवादमा मुछिएका प्रसाईंले हतियार राख्ने इजाजत पाएका छन् । र नवीकरणसमेत भएको छ ।

काठमाडौं प्रहरीले भने प्रसाईंको हतियारबारे अनुसन्धान भइरहेको बताएको छ । काठमाडौं प्रहरीले भनेको छ, ‘बरामद हतियारबारे अनुसन्धान गर्दैछौँ ।’

यसअघि प्रशासनले अत्याधुनिक हतियारको लाइसेन्स लिएर दुरुपयोग गर्नेको हतियार खोसेको थियो । प्रसाईंले पनि दुरुपयोग गरिरहेको भन्दै खोस्नुपर्ने सुरक्षाविज्ञहरू बताउँछन् ।

उनीहरु भन्छन्, ‘उनले हतियारको दुरुपयोग गरिरहेका छन् । उनले सार्वजनिक मञ्चबाट दिने भाषण लगायत हेर्दा सार्वजनिक शान्ति सुरक्षामा खतरा हुन सक्ने एवं कुनै पनि वेला जघन्य अपराध हुन सक्ने देखिन्छ । हातहतियार खरखजाना ऐन, २०१९ को दफा ११ बमोजिम उनीहरूलाई दिएको इजाजत पत्र रद्द गर्नुपर्छ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved