प्रधानमन्त्री प्रचण्ड भन्छन् : महिलामा गरिने लगानीले समग्र राष्ट्र निर्माणमा सहयोग पुग्छ

नेपालभ्युज

प्रधानमन्त्री प्रचण्ड भन्छन् : महिलामा गरिने लगानीले समग्र राष्ट्र निर्माणमा सहयोग पुग्छ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वदेश तथा विदेशमा रहने सम्पूर्ण नेपाली दिदीबहिनीमा शुभकामना व्यक्त गरेका छन् ।

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री प्रचण्डले महिला अधिकारकर्मीलगायत महिला हक अधिकारको संरक्षण र प्रवर्द्धनका क्षेत्रमा कार्य गर्दै आएका सम्पूर्ण सङ्घ संस्था तथा व्यक्तिमा पनि शुभकामना व्यक्त गरेका छन् ।

११४ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस आज नेपालमा ‘महिलामा लगानी सभ्य र समुन्नत समाजको थालनी’ भन्ने नारासहित नेपालमा पनि मनाइँदैछ ।

प्रधानमन्त्री प्रचण्डले महिलाको राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक हक अधिकार सुनिश्चित गर्न आफ्नो जीवन अर्पण गर्ने सम्पूर्ण शहिदप्रति श्रद्धाञ्जली पनि अर्पण गरेका छन् ।

‘राष्ट्रपति, उपराष्ट्रपतिदेखि स्थानीय सरकार तथा राज्यका सम्पूर्ण अङ्गहरूमा महिलाहरूको अर्थपूर्ण प्रतिनिधित्व र नेतृत्व स्थापित गरेको छ’, प्रधानमन्त्रीको शुभकामना सन्देशमा भनिएकोछ , ‘सम्पत्तिमा समान अधिकारको प्रत्याभूति, प्रतिस्पर्धात्मक क्षमताको विकास, आत्मनिर्भरता, रूढीवाढी चिन्तन र मान्यतामा गुणात्मक हेरफेर आएको छ। महिलाको हक हित र अधिकारको संरक्षण एवम् प्रवर्द्धन, महिला सहभागिता, महिला सशक्तिकरण र समानताको लागि सरकारले विभिन्न नीतिगत, कानुनी तथा संस्थागत व्यवस्था गरेको छ। देशको समृद्धिमा महिलाको योगदानको कदर गर्दै राज्यका विभिन्न संरचनामा महिलाको भूमिका विस्तार गर्न सरकारले विशेष जोड दिएको छ ।’

प्रधानमन्त्री प्रचण्डले तीनै तहका सरकार, निजी क्षेत्र, गैरसरकारी क्षेत्र तथा सरोकारवाला निकायबाट महिलाको क्षमता विकास, श्रम, सीप र सिर्जनालाई विकास प्रक्रियामा आवद्धता, लैङ्गिक मूलप्रवाहीकरण र सशक्तिकरणको लागि अधिकतम लगानी गर्न आवश्यक रहेकोमा जोड दिएका छन् ।

महिलामा गरिने लगानीले महिलासँगै परिवार, समाज हुँदै समग्र राष्ट्रलाई नै समृद्धिको मार्गमा पुर्याउनुका साथै लैङ्गिक समतामूलक राष्ट्र निर्माणमा समेत सहयोग पुर्याउने प्रचण्डको विश्वास छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved