अन्तर्वार्ता

‘गृह छाड्दैनौँ, आलोचना स्वीकार्दै जनतासामु गरिएका बाचा पूरा गर्छौँ’

'५ मन्त्रालयमा हाम्रो दाबी छ'

नेपालभ्युज

‘गृह छाड्दैनौँ, आलोचना स्वीकार्दै जनतासामु गरिएका बाचा पूरा गर्छौँ’

काठमाडौं । नेकपा (एमाले) को नेतृत्वमा बनेको नयाँ सत्ता गठबन्धनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि सहभागी छ ।

२०७९ पुस १० गते बनेको सरकारबाट ४२ दिनमै बाहिरिएको रास्वपा पुन: सरकारमा फर्किएको छ । रास्वपा उपसभापति डोलप्रसाद अर्यालले बिनाविभागीय मन्त्रीका रूपमा शपथ ग्रहणसमेत गरिसकेका छन् ।

तर, सरकारमा भने पार्टी सभापति रवि लामिछानेकै नेतृत्वमा जाने रास्वपाको तयारी छ । त्यसैले उसले गठबन्धनमा गृह मन्त्रालय नछाड्ने दाबी गरिसकेको छ । त्यसो त यसअघि पनि रवि उपप्रधान एवम् गृहमन्त्री बनेका थिए । नागरिकता तथा राहदानी प्रकरणमा मुछिएपछि पदमुक्त भएका उनी पुन: गृहमन्त्री नै बन्न चाहन्छन् ।

उसो त रास्वपाले कतिवटा मन्त्रालयमा दाबी गरेको छ ? क-कसलाई पठाउँदैछ सरकारमा ? यी यावत् विषयहरूमा नेपालभ्यूजले पार्टी महामन्त्रीसमेत रहेका प्रवक्ता डा. मुकुल ढकालसँग कुराकानी गरेको छ ।

000

रास्वपाको दाबी कतिवटा मन्त्रालय हो ?

हामीले ५ वटा भनेका छौँ, गठबन्धनमा पनि त्यसैगरी छलफल अगाडि बढाएका छौँ ।

कुन-कुन मन्त्रालय हो ?

गृहचाहिँ हुनैपर्छ, त्यसमा हाम्रो दाबी छँदैछ । त्यसबाहेक पहिले लिएको मन्त्रालयहरू लिन्छौँ । गठबन्धनको सहमतिअनुसार लिन्छौँ ।

गृहको नेतृत्व पार्टी सभापतिले नै गर्नुहुन्छ ?

उहाँले नै हो, उहाँकै नेतृत्वमा सरकारमा जाने भनेका छौँ ।

दाबी गरेअनुरूपको मन्त्रालय पाउनुभएन भने नि ?

पाउँछौँ, गठबन्धनमा सकारात्मक कुराकानी भएको छ ।

तपाईंहरूले गृह मन्त्रालयमा दाबी गर्नुभएको छ, पाउनुभएन भने के हुन्छ ?

त्यस्तो हुँदै हुँदैन । यदि भइहाल्यो भने त्यसबेला नै निर्णय लिन्छौँ । तर, गठबन्धनमा भएका कुराकानीहरू सकारात्मक छन् । पाउँछौँ ।

सरकारमा क-कसलाई पठाउने भनेर पनि टुङ्ग्याउनुभएको छ ?

एउटा सर्ट लिस्ट् बनाएका छौँ, त्यो अहिलेलाई सार्वजनिक नगरौँ भनेका छौँ । मन्त्रालय सङ्ख्या र पात्र टुङ्गिएपछि सार्वजनिक गर्छौँ ।

तपाईंहरू पनि पुरानो दलहरूसँग मिसिएर सरकारमा जानुभयो होइन ?

आवश्यकताअनुसार सरकारमा गएका हौँ, जनतामा बाचा गरेका छौँ । ती बाचाहरू सरकारबाहिर बसेर मात्रै पूरा गर्न सकिँदैन, त्यो हामीलाई थाहा छ । त्यसैले सरकारमा बसेरै ती बाचाहरू पूरा गर्नेछौँ ।

तर, तपाईंहरूको आलोचना भएको छ नि त ? पहिले पुराना दलहरूको आलोचना गर्दै आउनुभएका तपाईंहरू पुन: उनीहरूसँगै भागबन्डा गर्दै रहनुभएको छ !

आलोचनाहरूसँग डराउँदैनौँ । आलोचना हुनु अस्वाभाविक पनि होला, तर गलत गरेका छैनौँ र गर्दैनौँ । हामीले आलोचनालाई सहर्ष स्वीकार्दै बाचापत्रमा गरिएका बाचाहरू पूरा गर्नेछौँ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved