के रास्वपाले इलाम २ मा रमेश प्रसाईंलाई उम्मेदवार बनाउँदैछ ?

नेपालभ्युज

के रास्वपाले इलाम २ मा रमेश प्रसाईंलाई उम्मेदवार बनाउँदैछ ?

काठमाडौं । आउँदो वैशाख १५ गते इलाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ मा उपनिर्वाचन हुँदैछ । पछिल्लो संसदीय निर्वाचनमा त्यस क्षेत्रबाट निर्वाचित नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि उक्त क्षेत्र रिक्त छ ।

वैशाख १५ मा निर्वाचन हुने भएपछि दलहरू आन्तरिक तयारीमा जुटेका छन् । यसैबीच चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि आन्तरिक तयारीमा जुटेको छ । उसले पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई चुनावी कमान्डरका रूपमा खटाइसकेको छ ।

रास्वपाले इलाम २ का लागि सही पात्र खोजिरहेको छ । यसअघि बसेको रास्वपा सचिवालय बैठकले सही पात्र खोजेर मात्रै उम्मेदवारी घोषणा गर्ने निर्णय गरेको छ । अहिले पात्रकै खोजी भइरहेको पार्टीका महामन्त्रीसमेत रहेका प्रवक्ता डा. मुकुल ढकालले बताए ।

“पात्रको खोजी भइरहेको छ । सम्भावित पात्रहरूको एउटा सर्टलीस्ट् बनेको छ । त्यहीँबाटै हुन पनि सक्छ अथवा सही पात्र भेटियो भने बाहिरैबाट पनि हुनसक्छ । तर, पात्रका हिसाबले निस्कलङ्क हुनुपर्‍यो,” प्रवक्ता ढकालले भने ।

त्यसमध्ये केन्द्रीय समिति सदस्य रमेश प्रसाईंको समेत चर्चा रहेको उनले स्वीकारे । “धेरैजनाको चर्चा भइरहेको छ । तर, त्यसमध्ये रमेश प्रसाईंको पनि चर्चा छ,” उनले भने ।

प्रसाईं नै उम्मेदवार हुने सम्भावनाचाहिँ कति छ भन्ने नेपालभ्यूजको जिज्ञासामा उनले भने, “अब ठ्याक्कै यही नै हुन्छ भनेर त भन्न सकिने अवस्था छैन अहिले । किनभने अहिले छनोटकै चरणमा छौँ । तर, सम्भावनाको कुरा त रहने नै भयो ।”

इलाम २ मा लाग्यो चुनाव : कांग्रेस गठबन्धनको पक्षमा, एक्लै होमिने माओवादीको अडान

स्वयम् प्रसाईं भने त्यस क्षेत्रमा आदिवासी जनजाति उम्मेदवार हुनुपर्ने बताउँछन् । तर, पार्टीले आफूलाई पठाएको खण्डमा आफू पछि नहट्ने उल्लेख गर्दै उनले भने ,”म पार्टीको निष्ठावान् मान्छे हुँ । पार्टीले मलाई पठाए जान्नँ भन्न मिल्दैन । तर, त्यहाँका जनताले अपनत्वबोध के हुँदा र को हुँदा गर्छन्, मुख्य कुरा त्यो हो ।”

पार्टी शतप्रतिशत समावेशी हुनुपर्ने धारणा व्यक्त गर्दै उनले भने, “म जिम्मेवार कार्यकर्ता हुँ । पार्टीलाई समावेशी बनाउने कोसिस गर्नुपर्ने मैले र दिएको जिम्मेवारीबाट पछाडि हट्न हुन्न ।”

यसअघि इलाम २ मा रास्वपाबाट पत्रकार मिलन लिम्बूलगायतका पात्रहरूको चर्चा थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved