इलाम २ मा लाग्यो चुनाव : कांग्रेस गठबन्धनको पक्षमा, एक्लै होमिने माओवादीको अडान

पहिचानवादी र स्वतन्त्र उम्मेदवारहरू तयारीमा जुट्दै

पछिल्लो निर्वाचनबाट त्यही क्षेत्रबाट निर्वाचित पूर्वसभामुखसमेत रहेका नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि उक्त क्षेत्र रिक्त छ ।

नेपालभ्युज

इलाम २ मा लाग्यो चुनाव : कांग्रेस गठबन्धनको पक्षमा, एक्लै होमिने माओवादीको अडान

काठमाडौं । इलामको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ मा आउँदो वैशाख १५ गते उपनिर्वाचन हुने भएको छ । पछिल्लो निर्वाचनबाट त्यही क्षेत्रबाट निर्वाचित पूर्वसभामुखसमेत रहेका नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि उक्त क्षेत्र रिक्त छ ।

निर्वाचन आयोगले उक्त क्षेत्रमा वैशाख १५ गते उपनिर्वाचन गर्ने निर्णय आइतबार गरेको छ । यससँगै दलहरूमा औपचारिक/अनौपचारिकरूपमा छलफल सुरू प्रारब्ध भएको छ ।

सत्तारूढ गठबन्धनमा इलाम २ को उपनिर्वाचनबारे छलफल भएको छैन । तर, गठबन्धनसम्बद्ध दलहरूमा भने अनौपचारिकरूपमा छलफल सुरू भएको छ । केन्द्रीय तथा प्रादेशिक गठबन्धनअनुसार नै उपनिर्वाचनमा सहभागी हुने नेपाली कांग्रेसले बताएको छ ।

निर्वाचन क्षेत्र समेटिएको कोशी प्रदेशका सभापति उद्धव थापाले भने, “पात्रका विषयमा अहिले छलफल भएको छैन । तर, गठबन्धनकै तर्फबाट साझा उम्मेदवार हुनेचाहिँ पक्का हो । केन्द्रमा पनि र यहाँ प्रदेशमा पनि उहीखाले राजनीतिक समीकरण छ । यसअनुसार नै इलाम २ मा पनि सहभागी हुन्छौँ । अनौपचारिकरूपमा छलफल भइरहेकै छ ।”

तर, यता नेकपा (माओवादी केन्द्र) भने एक्लै निर्वाचनमा जाने ‘मूड’मा छ । कोशी प्रदेशका माओवादी केन्द्रका अध्यक्ष हर्कबहादुर नेम्वाङ ‘मिक्सो’ भन्छन्, “परीक्षणकै लागि भएपनि यसपटक एक्लै निर्वाचनमा जानुपर्छ भनेका छौँ ।”

यसका लागि इलाममै बैठक बोलाउने तयारी रहेको उनले बताए । “जीत-हार आफ्नै ठाउँमा छ । तर, पार्टीले आफैँले आफैँलाई परीक्षण गर्नका लागि यस्तो हुनुपर्छ भन्ने हाम्रो तयारी हो । त्यहीँ बस्ने बैठकले निर्णय गर्छ ।”

यता गठबन्धनमै रहेका नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा)लगायतका दलहरूसँग भने इलाम २ मा कम मत छ । त्यहाँ उनीहरूभन्दा राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्वपा), मङ्गोल नेश्नल अर्गनाइजेसन, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय उन्मुक्ति पार्टी (नाउपा) लगायतका दलहरूको मत धेरै छ । गत वर्षको लोकप्रिय मतलाई आधार मान्ने हो भने एकीकृत समाजवादी, जनता समाजवादीलगायतका दलहरू त्यति निर्णायक देखिँदैनन् ।

गत निर्वाचनमा आफैँले जितेको क्षेत्रमा कसलाई उम्मेदवार बनाउने भनेर नेकपा (एमाले) ले सही पात्र खोजिरहेको छ । त्यहाँबाट पूर्वउपसभामुखसमेत रहेकी शिवमाया तुम्बाहाङ्फे, दिवङ्गत सुवासचन्द्र नेम्वाङका छोरा सुहाङ नेम्वाङ, स्थानीय एमाले नेताहरू बुद्धि खनाल, उदय राई, उमेश गुरुङ, रवीन्द्र सुवेदीलगायतको चर्चा छ ।

त्यसो त उक्त क्षेत्रलाई एमालेको किल्ला नै मानिन्छ । हुन पनि त्यहाँबाट नेम्वाङ लगाताररूपमा जित्दै आएका छन् । २०५६ सालको आम निर्वाचनमा नेपाली कांग्रेसका कूलबहादुर गुरुङ नेम्वाङसँगै पराजित बनेका थिए । त्यस्तै २०६४ को संविधानसभा निर्वाचनमा कांग्रेसकै केशव थापा नेम्वाङसँगै पराजित बनेका थिए ।

२०७० र २०७४ पनि नेम्वाङसँगै कांग्रेसका तत्कालीन महासमिति सदस्य भेषराज आचार्य पराजित बनेका थिए भने २०७९ सालमा कांग्रेसका जिल्ला सभापति डम्बरबहादुर खड्का पराजित बनेका थिए ।

त्यसमा पनि बलियो आकांक्षीका रूपमा तुम्बाहाङ्फे, खनाललगायतलाई हेरिएको छ । यसबारे खनालसँग बुझ्दा उनले भने, “पार्टीको निर्णय मान्छु ।”

त्यसो त नेम्वाङपुत्र सुहाङ नेम्वाङलाई कार्यकर्ताले नचाहेको स्थानीय नेताहरू बताउँछन् । एक स्थानीय नेता भन्छन्, “उहाँ (सुहाङ नेम्वाङ) ३५ वर्ष पुग्नुभयो । तर, अहिलेसम्म मतदाता परिचयपत्र पनि नबनाएको र बुवाको निधन भएपछि त्यसका लागि फोटो खिचेको कुरा छ भनेर कार्यकर्ताले भनेका छन् । उहाँ विरासतका रूपमा आउने हो भनेर पनि कार्यकर्ताहरूले भनेका छन् ।”

यस्तै यता संसद्को चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि आन्तरिकरूपमा उम्मेदवार खोजिरहेको छ । महामन्त्रीसमेत रहेका प्रवक्ता डा. मुकुल ढकाल भन्छन्, “आन्तरिकरूपमा उम्मेदवारहरूको सूची नै बनाएका छौँ । छलफल गर्दै जान्छौँ र उम्मेदवार फाइनल गर्छौँ ।”

आफूहरूले जित्ने सम्भावना उच्च रहेको दाबी प्रवक्ता ढकालको छ । गत वर्षको निर्वाचनमा झन्डै ५ हजार लोकप्रिय मत पाएको रास्वपाले यसपटक जित्नसक्ने सम्भावना रहेको उल्लेख गर्दै उनले भने, “त्यहाँ हामीप्रति जनताको एकदमै ठूलो आशा देखिएको छ । त्यसको सम्बोधन गर्नेगरी र जित्ने नै तरिकाले हामी जानेछौँ ।”

यता पहिचानवादीहरूले पनि उम्मेदवार उठाउने तयारी गरिरहेका छन् । प्रदेशको नामविरुद्ध सङ्घर्ष गरिरहेका शक्तिहरूले साझारूपमा उम्मेदवार उठाउने तयारी गरिरहेका हुन् । त्यसमा डकेन्द्रसिंह थेगिम र प्रेम एक्तेनमध्येमा एकजना हुने पहिचानवादी आन्दोलनका एक नेताले बताए ।

त्यसो त यसअघि पूर्वमन्त्रीसमेत रहेका पहिचानवादी आन्दोलनका नेता गोपाल किरातीले यसबारे ठाउँ-ठाउँमा छलफल गरेका थिए । नेताहरूले आफूलाई भनेपछि आफू उठ्न नहुने ब्रिफिङ्ग गर्दै उनले अरुलाई उठाउनुपर्ने बताउँदै आएका छन् । ती नेताले भने ,”उम्मेदवार पक्कै हुन्छन् । तर, को हुन्छ भन्नेबारे अहिल्यै छलफल भइसकेको छैन ।”

यस्तै आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) का महासचिव एवम् पत्रकार मिलन लिम्बू पनि स्वतन्त्ररूपमा उम्मेदवार दिने तयारीमा छन् । यसअघि नै इलाम २ का विभिन्न क्षेत्रहरूमा माहोल बुझेर फर्किएका लिम्बू स्वतन्त्र उम्मेदवार जित्ने सम्भावना देख्छन् ।

एमालेले सुहाङ नेम्वाङलाई टिकट दिने आकलन गर्दै उनी भन्छन्, “त्यस्तो अवस्थामा त्यहाँ विद्रोह हुन्छ । कांग्रेस-माओवादीले गठबन्धन गरेपनि माओवादीले कांग्रेसलाई भोट हाल्दैनन् ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved