निर्देशकले घरको चौकीदार राख्न खोजेका छिरिङ, बलिउडका चर्चित खलनायक ‘डेनी’ बने

नेपालभ्युज

निर्देशकले घरको चौकीदार राख्न खोजेका छिरिङ, बलिउडका चर्चित खलनायक ‘डेनी’ बने

काठमाडौं । बलिउडका चर्चित खलनायक डेनी डेन्जोङ्पाको खास नाम छिरिङ फिन्त्सो डेन्जोङ्पा हो । उनी हिजो मात्र ७६ वर्ष पुगेका छन् ।

उनको जन्म सन् १९४८ फेब्रुअरी २५ मा भारतको सिक्किममा नेपाली भाषी ‘भुटिया’ परिवारमा भएको थियो ।

डेनी सुरुमा भने भारतीय सेनामा भर्ना हुन चाहन्थे तर उनकी आमाले अनुमति नदिएपछि उनी हिन्दी सिनेमातिर लागेका थिए ।

अभिनयको तालिम सकेपछि  सिनेमामा काम खोज्दै निर्देशक मोहनकुमारको बंगलामा पुग्दा डेनीलाई मोहनकुमारले सिनेमाको रोलमा नभइ आफ्नो घरको चौकीदार बस्न भनेका थिए ।

त्यतिबेला मोहनकुमारका घरमा सिक्किमका केही युवा चौकीदारका रुपमा काम गर्थे । डेनीले आफु सिक्किमबाट आएको भनेपछि मोहनकुमारले हासोमा उडाउदै उनलाई पनि चौकीदारी गर्न भनेका थिए ।

‘आप आइ बहार आइ’ नामको सिनेमा बनाउदै गरेका निर्देशक मोहनकुमारको त्यही कटु बचनले आफुलाई अभिनेता बन्न प्रेरित गरेको डेनीले विभिन्न अन्तर्वातामा भनेका छन् ।

चौकीदार बस्न भनेपछि डेनीले निर्देशक मोहनकुमारलाई भनेका थिए – ‘एक दिन म यति ठूलो स्टार बन्छु कि तिम्रो बंगलाको छेउमा मेरो बंगला हुनेछ ।’

डेनीका यी शब्दहरू सत्य साबित भए । सफलता हासिल गरेपछि उनले मुम्बईको जुहुमा मोहन कुमारको बंगलाको छेउमा आफ्नै बंगला बनाएर कडा जवाफ दिए ।

पुणेको फिल्म एण्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डियामा अभिनयको तालिम लिने क्रममा उनको भेट चर्चित अभिनेत्री जया भादुरी (बच्चन)सँग भएको थियो । जया र डेनीबीच यति गहिरो मित्रता स्थापित भयो कि जयाले डेनीलाई सिनेमामा ल्याउन धेरै सहयोग गरेकी थिइन् ।

जया बच्चनले पनि डेनीलाई धेरै सहयोग गरिन् र गुलजारलाई फिल्म ‘मेरे अपना’ मा काम गराउन आग्रह गरिन् ।

‘मेरे अपना’ ले डेनीलाई बलिउड यात्राको थप उचाई दिलाइदियो । उनै जयाको आग्रहमा छिरिङ फिन्त्सोले आफ्नो नाम परिवर्तन गरेर डेनी राखेका थिए । जुन नामले उनलाई बलिउडमा स्थापित नै गराइदियो ।

डेनीले आफ्नो करियरमा करिब २ सय फिल्ममा काम गरिसकेका छन् । सन् २००३ मा उनी पद्मश्रीबाट समेत सम्मानित भइसकेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved