निर्वाचनपूर्वको गठबन्धनको पक्ष र विपक्षमा बाँडिए कांग्रेस महासमिति सदस्यहरु

नेपालभ्युज

निर्वाचनपूर्वको गठबन्धनको पक्ष र विपक्षमा बाँडिए कांग्रेस महासमिति सदस्यहरु

काठमाडौं । नेपाली कांग्रेसको महासमिति सदस्यहरुको आम निर्वाचन अघि गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा मत बाझिएको छ । कांग्रेसको जारी महासमिति बैठकमा बोल्दै महासमिति सदस्यहरुले आम निर्वाचनपूर्व गठबन्धनको पक्ष र विपक्षमा आफ्नो मतहरु राखेका हुन् ।

महामन्त्री गगनकुमार थापाले सांगठनिक प्रतिवेदन पेस गर्दै आगामी आम निर्वाचन अघि गठबन्धन गर्नु नहुने प्रस्ताव गरेसँगै महासमिति सदस्यहरु यसको पक्ष र विपक्षमा विभक्त भएका छन् ।

महासमिति बैठक स्थलमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै कांग्रेसका नेता तथा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले अहिले गठबन्धनको सम्बन्धमा निर्णय गर्ने बेला नभएको बताए । उनले आगामी निर्वाचनमा विरोधीहरू एकै ठाउँमा उभिएमा कांग्रेसले विरोधीहरुलाई फुटाउन गठबन्धन गर्नुपर्ने हुनसक्ने भन्दै तत्कालीन अवस्थामा भर पर्ने बताए । उनले निर्वाचनमा एक्लै लड्ने मानसिकताका साथ काम गर्नुपर्ने बताए ।

उनले भने, ‘चुनाव एक्लै लड्नुपर्छ भन्ने मानसिकताका साथ संगठन गर्नुपर्छ । एक्लै लड्ने हो हामी भनेर तयारी गर्ने हो । तर लड्नुपर्दाखेरी काँग्रेसभन्दा बाहेकका सबै एकठाउँमा आउने भए भने त्यो बेलामा उनीहरूलाई फुटाउनका लागि काँग्रेस कसै न कसैसँग मिलेर गठबन्धनमा जाने परिस्थिति सिर्जना पनि हुनसक्छ । अहिलेदेखि नै गठबन्धन गर्ने भनेर हिँड्ने कुरा सम्भव छैन । र भोलि गठबन्धन गर्नुपर्ने आवश्यकता, विरोधीहरू एक ठाउँमा उभिएर कमजोर पार्न खोजे भने त्यो बेलामा नयाँ रणनीतिका साथ अगाडी बढ्ने कुरा हो । कहिले कहिलेको चुनाव छ अहिले गठबन्धन गर्ने नगर्ने भनेर निर्णय गरेर हिँड्ने होइन ।’

नेता रामहरी खतिवडाले अहिले गठबन्धनको विषयमा बोल्नु बेमौसमको बाजा भएको भनि धेरै महासमिति सदस्यहरुले टिप्पणी गरेको बताए । उनले देशको अर्थनीति जनतामैत्री हुनुपर्ने र देशमा लगानीको वातावरण बनाउनुपर्नेमा जोड दिएर पनि कुरा उठिरहेको जानकारी दिए । उनले भने,‘अहिले गठबन्धनको बारेमा बोल्ने बेला छैन । बेमौसमको बाजा भयो यो भन्ने कुराहरु धेरै मात्रामा आएको देखिएको छ । त्यो सँगसँगै आर्थिक नीतिहरु राम्रो भएन । नेपालको अर्थतन्त्र कन्तुरमा थन्क्याएर जनता भोकै मर्ने अर्थतन्त्र चाहिएको छैन । जनताको बीचमा पुग्नुपर्‍यो । अर्थतन्त्र चलायमान हुनुपर्‍यो । यो नीति काँग्रेसले लिनुपर्‍यो । युवालाई रोजगारी दिने, नेपालमा लगानीको वातावरण कसरी सिर्जना गर्ने यो विषयमा विस्तृत रुपमा छलफल भइरहेको छ । सरकारको काम कारबाहीमा सन्तुष्ट छैनन् । मन्त्रीहरु आफ्नो स्वार्थमा केन्द्रित भए भन्ने आयो । सरकारले नयाँ काम गरेको अनुभूति हुनुपर्‍यो भन्ने छ ।’

नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले आगामी दिनमा गठबन्धन आवश्यक छैन भन्नेको संख्या ठूलो रहेको बताए । उनले पार्टी विधान अनुरुप नचलेको कुरालाई पनि बैठकमा प्राथमिकताका साथ उठाइएको बताए । महासमिति बैठकमा उपस्थितहरुलाई ४ समूहमा विभाजन गरी महासमिति सदस्यहरुलाई आफ्नो कुरा राख्न दिइएको छ ।

नेपाल महिला संघकी अध्यक्ष उषा मिश्रले महासमितिको बैठकमा भुईंमान्छेका आवाज सुनिनुपर्ने बताइन् । उनले जनतालाई आशाको सन्देश दिनुपर्ने बताइन् । उनले सबै समावेशिताका मुद्दाहरु महासमितिले उठाउन सक्नुपर्ने बताइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved