विचार

नाभाल्नी क्रेमलिन र पश्चिम दुवैका लागि किन अप्रिय थिए ?

नाभाल्नी जुनसुकै अर्थमा एक महत्वपूर्ण व्यक्तित्व थिए । करिश्मा, पराक्रम र साहसमा सबै रुसीको काँध र टाउकोभन्दा अग्लो सम्भवत् सबै समकालिन युरोपेली राजनीतिज्ञभन्दा माथि थिए । उनी आशापुञ्ज थिए, जसले आर्टिक जेलमा आफ्ना अन्तिम दिनसम्म अद्धितीय परिहासका साथ आशावादको सञ्चार गरिरहे ।

नाभाल्नी क्रेमलिन र पश्चिम दुवैका लागि किन अप्रिय थिए ?

रुसी राजनीतिज्ञ अलेक्सी नाभाल्नीको मृत्युको कारण के थियो, त्यसले कुनै फरक पर्दैन, यो भ्लादिमिर पुटिनको शासनद्वारा गरिएको हत्या थियो । यो एक मृत्युदण्डको सुस्त कार्यान्वयन थियो, जसको सुरुवात् सन् २०२० को विषाक्त नोभिचोक केमिकलका साथ भएको थियो ।

सन् २०२१ को जनवरीमा रुस फर्किने उनको असाध्यै साहसिक कदमपछि नोभाल्नीलाई जेलमा दु:खद् यातना दिईयो । ४७ वर्षीय नाभाल्नीको शुक्रबार अचानक मृत्यु भएको भनियो । आधिकारिक बयानमा भनिएको छ कि उनको मष्तिष्कमा रगत जमेको थियो । यो साँचो हुन सक्दछ, नहुन पनि सक्दछ । तर, यी दुवै अवस्थामा उनको मृत्युको दोष भने रुसी राष्ट्रपति पुटिनलाई नै लाग्दछ ।

नाभाल्नी जुनसुकै अर्थमा एक महत्वपूर्ण व्यक्तित्व थिए । करिश्मा, पराक्रम र साहसमा सबै रुसीको काँध र टाउकोभन्दा अग्लो सम्भवत् सबै समकालिन युरोपेली राजनीतिज्ञभन्दा माथि थिए । उनी आशापुञ्ज थिए, जसले आर्टिक जेलमा आफ्ना अन्तिम दिनसम्म अद्धितीय परिहासका साथ आशावादको सञ्चार गरिरहे ।

उनी सलमान रुस्दीको उपन्यास मिडनाइट चिल्ड्रेनका पात्र हमिङबर्डसँग मिल्दोजुल्दो थिए । रुस्दीको पात्र भर्खरै स्वतन्त्र भएको नयाँ राज्य भारतलाई विभाजनबाट रोक्ने करिश्मामय प्रयत्न गर्दछ । नाभाल्नीमा पनि त्यस्तै एक प्रेरणादायी र एकतावादी व्यक्तित्व थियो, जो द्वन्द्व र ध्रुविकरणको वर्तमान युगमा टुटिरहेका चिजलाई एक ठाउँमा ल्याउन सक्षम थियो ।

नाभाल्नी भ्रष्टाचार विरोधी धर्मयुद्धका एक योद्धा थिए । उनले त्यस्ता थुप्रै युट्युब भिडिओ श्रृंखला निर्माण गरे, जसले शासकवृत्तमा रहेका शीर्ष व्यक्तित्वको अवैध धनलाई भण्डाफोर गर्थ्यो । साेहीकारण उनले एक व्यापक जनसमर्थनको आधार र रुसी विपक्षीको सञ्जाल बनाए ।

उनले ती सबै उदारवादी, वामपन्थी र राष्ट्रवादीलाई एकै ठाउँमा ल्याए, जो एक चौथाई शताब्दी लामो आर्मी–पुलिसराज (सेक्युरिटोक्रेसी )बाट ग्रसित र थकित थिए ।

नाभाल्नीले मस्को र सेन्ट पिटर्सवर्गमा मात्र सीमित विपक्षी राजनीतिलाई टाढाका क्षेत्र र साना शहरसम्म विस्तार गरे । उनले रुसको विपक्षी राजनीतिमा एक प्रकारको पुस्तागत परिवर्तन गरे । इन्टरनेटप्रेम र समकालिन सभ्य संस्कृतिका माध्यमबाट युवा पुस्तालाई विपक्षी राजनीतिमा ताने ।

उनका अधिकांश अनुयायी २० वर्ष वा त्यसभन्दा पनि मुनिका किशोरकिशोरी थिए, जसले पुटिनको बाहेक अरु कसैको शासनको राजनीति अनुभव गर्न पाएका थिएनन् ।

सन् १९८९–९१ को कम्युनिष्ट शासन पतनको बेलाको मखमली क्रान्ति उनको आदर्श थियो । उनी अहिंसाद्धारा नै आन्दोलन, क्रान्ति र परिवर्तन हुन सक्दछ भन्ने विश्वास गर्थे । यो विश्वासलाई उनले आफ्नो समयको रुसी राजनीतिमा मूर्त रुप दिए ।

नाभाल्नी युक्रेनी पिताबाट जन्मेका थिए । उनले बाल्यकालका केही खुशीयालीपूर्ण दिन युक्रेनमै बिताए । नाभाल्नीमा रक्तरंजित विद्यमान युद्धमा सामेल दुई छिमेकी देशबीचको दरारलाई कम गर्ने सम्बन्ध सुधारमा मद्धत गर्न सक्ने सम्भावना थियो।

यद्यपि उनको मृत्यु सिधै रुसी राजनीतिसँग जोडिएको छ तर, उनको प्रतिनिधित्व र सम्भावनाको आशा अमेरिकी नेतृत्वको पश्चिमा नयाँ भूराजनीतिक टक्करले चकनाचुर भयो । उनी यस द्वन्द्वका लाभार्थीको आँखाको काँडा भएका थिए । ती लाभार्थीमध्ये पहिलो र प्रमुख पुटिन आफैँ थिए ।

तर, नाभाल्नी र उनी नेतृत्वको आन्दोलन रुस–विरोधी र युक्रेन–परस्त नेटो राजधानीसँग जोडिएका ट्रोल फर्म र युद्ध अतिवादीहरुको खजानाको फाँको पनि थियो । तिनले नाभाल्नीलाई प्रयोग गरेर औद्योगिक परिसर ध्वंस गर्ने सेना–प्रहरीवादलाई प्रहार गरिरहेका हुन्थे । तिनले नाभाल्नीलाई पुटिनजस्तै रुसी राष्ट्रवादी भएको आरोप लगाउँथे ।

आफ्नो राजनीतिक जीवनको प्रारम्भमा नाभाल्नी चरम दक्षिणपन्थमा झुकाव राख्थे । तर, उनले पश्चिमा समर्थक उदारवादप्रति सिधा मोहडा फेरेको पनि धेरै भइसकेको थियो ।

यदि पुटिनको साटो नाभाल्नीले रुसी राष्ट्रपतिका रुपमा काम गर्ने अवसर पाउँथे भने के गर्थे भन्ने प्रश्नको कुनै सिधा र सरल उत्तर छैन । रुस, पश्चिम र युक्रेनबीच भइरहेका घटनाक्रममा व्यक्ति र व्यक्तित्वको भूमिका के कति छ भन्न गाह्रो छ ।

यो प्रश्न त स्वयं पुटिनमाथि नै छ । उनी प्रारम्भमा पश्चिम समर्थित उदारवादी उम्मेदवार मानिन्थे । उनले विस्तारै कसरी एक अधिनायकवादी हत्यारा शासकमा आफूलाई रुपान्तरण गरे, राम्रो दृष्टान्त छ । तर, यसक्रममा रुसको मुख्य सुरक्षा चासो र हितप्रति पश्चिमको तुच्छ र अहंकारी मनोवृतिले सानो भूमिका खेलेको छैन ।

रुस-युक्रेन युद्धलाई राजनीतिक विचारधाराभन्दा भूराजनीतिक तनावका दृष्टिकोणबाट हेर्ने धेरै छन् । दुई वर्ष अघि युद्ध सुरुवात भएको केही हप्तापछि युक्रेन सरकारका प्रमुख प्रवत्ता अलेक्सेई अरेस्टोवीचले भनेका थिए, ‘रुसमा यदि उदार लोकतन्त्रवादी विचारको राष्ट्रपति हुन्थ्यो नै भने पनि युक्रेनमाथि उसले पुटिनले जस्तै यसरी नै आक्रमण गर्थ्यो । यसको सिधा अर्थ हो, भूराजनीतिक तनाव ।’

यस प्रकारको सोच राख्नेले यो ठान्दछन् कि पश्चिमले रुसलाई यति धेरै अपमानित र अपहेलना गरेको छ कि कुनै पनि विचारको रुसी नेताले त्यसलाई स्वीकार गर्न सक्ने थिएन । त्यसो गर्नु एक प्रकारको रणनीतिक पराजयलाई अवसर प्रदान गर्नुहुन्थ्यो । युद्ध पक्षधर तथा अतिवादी पश्चिमा टिप्पणीकारले आज पनि यही भनिरहेका छन् ।

विष पिलाईएको घटनापछि देश फर्किने आत्मघाती विकल्प रोजेका नाभाल्नी ती पहिलो र प्रमुख रुसी राजनीतिज्ञ थिए, जसले यिनै कारणबाट देश फर्किन आवश्यक भएको महशुस गरे ।

उनीसँग अरु उपाय थिएनन् । रुसको राजनीतिमा सान्दर्भिक रहन उनीसँग यही एक मात्र विकल्प थियो । उनी कसैको चम्चा बन्न चाहँदैनथे । पश्चिमका लागि उनी दोस्रो विश्वयुद्ध ताका लण्डनस्थित जर्नेल चार्ल्स डे गौलीजस्तै उत्कृष्ट थिए, बिल्कुलै परित्याक्त र किनारीकृत ।

निर्वासित जीवनमा उनी सामाजिक मञ्चमार्फत् हुने अन्धाधुन्ध आक्रमण र प्रहारलाई कसरी व्यवस्थापन गर्न सक्थे ? के भिसा र यात्रा प्रतिबन्धबारे उनले दिने प्रतिक्रियाले पुटिनको शासनलाई भन्दा निर्वासनमा रहेका पुटिन विरोधीलाई बढि हानी पुर्याउन सक्दैनथ्यो ?

भूराजनीतिक द्वन्द्वले पुटिनको शासनलाई झनै बलियो बनाएको, युरोपमा अर्को शीतयुद्धको ढोका खुलेको र फलामे पर्दाहरु लगाइने धम्कीबीच नाभाल्नी देश फर्किने र राम्रो भूमिका खेल्ने सम्भावना त्यसै पनि कमजोर हुन्थे ।

सायद नाभाल्नीले रुसमा युद्ध थकानले दिने अवसरमा जुवा खेल्ने र नेल्सन मण्डेलाको पूर्वी युरोपेली संस्करण बन्न सकिन्छ भन्ने सोचे ।

चमत्कारिक ढंगले उनी सत्तामा आएकै भए पनि पश्चिमसँगको शत्रुता सजिलै सकिन्थ्यो भन्न सकिन्न । कुनै साझा भाषा र असहज सम्झौता रोज्नुको साटो रुसले पश्चिमको अवहेलना र तिरस्कार सामना गर्नुपर्थ्यो ।

तर पनि नाभाल्नी पुटिनभन्दा धेरै नै फरक प्रकारका व्यक्ति थिए । उनी द्वन्द्वको बीचमा फूल्न र फष्टाउन सक्ने राजनीतिज्ञ थिए । उनी विद्यमान द्वन्द्व र ध्रुविकरणका व्यक्तित्व थिएनन् । उनको राजनीति सायद पूर्वी युरोपको कुनै सुखद् भविष्यसँग जोडिएको थियो, जो यो क्षेत्रका लागि वर्षौवर्षको दु:खपछिको प्राप्ति हुन सक्दथ्यो ।

के उनी युद्धवादीलाई किनारा लगाउन र पश्चिमसँग कुनै सम्झौता गर्न सफल हुन्थे ? यदि निष्पक्ष अवसर पाएको भए सायद उनले यस्तो प्रयत्न गर्थे। यही कारणले नाभाल्नीलाई एक फरक र परीक्षण नभएको व्यक्तित्व बनाउँथ्यो ।

नाभाल्नी आफ्नो समयका एक त्रासद व्यक्तित्व थिए । उनलाई एक प्रकारले जेलेन्स्कीसँग तुलना गर्न सकिन्छ । जेलेन्स्की युद्ध अघि एक उत्साहजनक व्यक्तित्व थिए । उनी पुटिनको व्यक्तित्व र शासनबाट प्रभावित थिए । उनी एकता र शान्तिका प्रतिकजस्ता थिए । आज गुरु पुटिनसँग भयावह युद्ध गर्न बाध्य र श्रापित छन् ।

नाभाल्नी अब रहेनन् । तर, उनको मुख्य राजनीतिक घोषणापत्रमा भनिएको प्रसिद्ध भनाईजस्तो भविष्यको सुन्दर रुस प्राप्तिका लागि काम गर्न सक्ने दर्जनौं वा सयौं राजनीतिक व्यक्ति हुर्किएका छन् ।

(अल जजिराबाट)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved