शीत भण्डारमा कुहिए ६३ मेट्रिकटन सुन्तला, किसानले मागे क्षतिपूर्ति

नेपालभ्युज

शीत भण्डारमा कुहिए ६३ मेट्रिकटन सुन्तला, किसानले मागे क्षतिपूर्ति

अर्घाखाँची । पाणिनी गाउँपालिकाको शीत भण्डारमा राखिएका सुन्तला कुहिएपछि किसानले क्षतिपूर्तिको गरेका छन् ।

पाणिनि गाउँपालिका-२ पोखराथोकमा रहेको शिवशक्ति शीत भण्डारमा पणेनाको सिम्ले र पोखराथोकका किसानले राखेको ९० मेट्रिकटनमध्ये ६३ मेट्रिकटन सुन्तलाका दानामा ढुसी लागेर नष्ट भएको थियो ।

प्राविधिकले सिकाएअनुसार शीतभण्डारमा राख्दा पनि सुन्तला कुहिएपछि क्षतिपूर्ति माग गरिएको किसान रेवतीराज पौडेलले बताए ।

शीत भण्डारणमा राखेका ६३ मेट्रिकटन सुन्तला कुहिएपछि प्रतिकेजी रु ९० का दरले किसानले रु ५६ लाख ७० हजार घाटा बेहोर्नुपरेको छ । किसान मानबहादुर श्रेष्ठ, चीरञ्जीवी पौडेल, रेवतीराज पौडेल र खगेन्द्र पौडेलले शीत भण्डारमा चार हजार पाँच सय क्यारेट अर्थात ९० टन सुन्तला भण्डारण थिए । त्यहाँ राखिएका सुन्तलामा ढुसी लागेपछि आफूहरुलाई ठूलो घाटा परेको उनीहरुको भनाइ छ ।

यसअघिका दुई वर्षमा पनि यसैगरी सुन्ताला कुहिँदा नोक्सान भएको थियो । यसवर्ष लुम्बिनी प्रदेश कृषि विकास निर्देशनालयले गत मङ्सिरमा विज्ञ प्राविधिक ल्याएर किसानलाई गाउँमै कोल्डस्टोरमा सुन्तला राख्ने तरिका सिकाएको थियो ।

‘रफ ह्याण्डलिङ’ र ‘ट्रिटमेन्ट’ नमिलेका कारण हरियो र निलो ढुसीले कुहिएको वैज्ञानिकको अनुसन्धान र प्रतिवेदनले देखाएको छ । नेपाल कृषि अनुसन्धान परिषद्का वरिष्ठ वैज्ञानिक उमेश आचार्यको टोलीले स्थलगत अनुसन्धान गरेको थियो । सो टोलीले सुन्तला मुख्य गरी हरियो र निलो ढुसीको कारण नष्ट भएको निष्कर्ष निकालेको कृषि ज्ञान केन्द्र अर्घाखाँचीका प्रमुख बुद्धिराज घिमिरेले बताए ।

भण्डारण गर्दा प्राविधिक त्रुटि रहेको, खुला हातले पञ्जा नलगाइ शीत भएको समयमा टिपिएको, घरलाई निर्मलीकरण गर्दा सोडियम हाइपोक्लोराइडको मात्रा कम राखेको लगायतका कारणले सो नोक्सानी भएको अनुसन्धानमा देखिएको थियो । सुन्तलालाई पटकपटक नाङ्गो हातले छुँदा ढुसीले बढी आक्रमण गरेको, भण्डारण घरको तापक्रम र आद्रता पनि नमिलेको देखिएको वैज्ञानिक टोलीको प्रतिवेदनमा उल्लेख छ ।

सुन्तला टिप्दा आधा हरियो र आधा पाकेको टिप्नुपर्नेमा सबै पाकेका सुन्तला टिपेको, हातको प्रयोग बढी भएको, हातका कारण बढी ढुसी बताइएको छ ।

सुन्तला कुहिएपछि नेपाल कृषि अनुसन्धान परिषद्का वरिष्ठ वैज्ञानिक उमेश आचार्य, कृषि विकास निर्देशनालय बुटवलका बाली संरक्षण अधिकृत मिलन गैरे, कृषि विकास निर्देशनालय बुटवलका बागबानी अधिकृत सुनयना बराली र कृषि ज्ञान केन्द्र अर्घाखाँचीका प्रमुख वुद्धिराज घिमिरेको टोलीले स्थलगत रुपमा शीतभण्डारणमा पुगी अनुसन्धान गरेको थियो । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved