कोशी सभामुखको विषयले राप्रपा ‘अशान्त’, बस्न सकेन कार्यसम्पादन समिति बैठक

आउँदो बैठकमा कुरा उठाउने असन्तुष्ट पक्षको तयारी

नेपालभ्युज

कोशी सभामुखको विषयले राप्रपा ‘अशान्त’, बस्न सकेन कार्यसम्पादन समिति बैठक

विराटनगर । कोशी प्रदेश सभाका सभामुखको विषयले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रमा देखिएको हलचल अझै साम्य भएको छैन । यसपछि पार्टी केन्द्रको कार्यसम्पादन समिति बैठक बस्न सकेको छैन ।

राप्रपाका तर्फबाट समानुपातिक सांसद रहेका कोशी प्रदेशसभा सदस्य अम्बरबहादुर विष्ट गत पुस २४ गते सभामुख बनेका छन् । त्यही विषयलाई लिएर राप्रपा पार्टी केन्द्रका नेताहरूबीच मतभेद देखिँदा बैठक बस्न नसकेको हो ।

विष्ट सभामुख निर्वाचित हुनुअगावै पनि पार्टी केन्द्रमा नेताहरूबीच मतभेद देखिएको थियो । खासगरी पार्टीका वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनी पक्ष कोशीमा सभामुख लिन नहुने अडानमा थियो । लोहनी पक्षको असन्तुष्टका बीच विष्ट सभामुख बनेपछि पार्टी केन्द्रमा कार्यसम्पादन समिति बैठक नै बस्न नसक्नेगरी नेताहरूबीच मतभेद देखिएको हो ।

आफूहरू सङ्घीयता र गणतन्त्रविरोधी शक्ति भएको कारण सभामुख लिन नहुने तर्क लोहनी पक्षले गर्दै आएको छ । पार्टीका महामन्त्रीसमेत रहेका लोहनीनिकट नेता धवलशमशेर राणा ९० प्रतिशतभन्दा बढी केन्द्रीय पदाधिकारीको निर्णयविपरीत कोशीमा सभामुख लिने काम भएको बताउँछन् ।

“सभामुख लिनुभन्दा पहिले नै केन्द्रीय पदाधिकारीको बैठक बसेर लिनुहुन्न भनेका हौँ । तर, लिइयो । केन्द्रको निर्णयविरुद्ध लिने काम भयो,” उनले भने ।

अब बस्ने कार्यसम्पादन समिति बैठकमा कुरा उठाउने बताउँछन् राणा । “अब बस्ने केन्द्रीय कार्यसम्पादन समिति बैठकमा कुरा उठ्छ । हामी दह्रोसाथ आफ्ना कुराहरू राख्छु,” उनले भने ।

सभामुख फिर्ता लिनुपर्ने र नलिए कारबाही गर्ने चेतावनी लोहनी पक्षले दिएको छ । एक नेताले भने, “सभामुख फिर्ता बोलाउनुपर्छ । गल्ती भयो, अब सच्याउनुपर्छ । नभए पार्टी नै समाप्त हुनेसम्मको कदमहरू उठ्नेछन् ।”

विरोध गरेको व्यवस्थाभित्रै भाग खोज्ने राप्रपा !

सभामुख लिनहुन्न भन्ने पक्षको अध्यक्ष राजेन्द्र लिङ्देनकै ‘ग्रीन सिग्नल’मा कोशीमा सभामुख लिइएको बुझाइ छ । ती नेता भन्छन्, “केन्द्रले नै ग्रीन सिग्नल दिएपछि त्यहाँ सभामुख लिइएको भन्ने कुरा बुझेको छु । यसखाले हर्कतले पार्टीलाई राम्रो गर्दैन ।”

कोशी प्रदेशसभा राप्रपाका संसदीय दलका नेता भक्तिप्रसाद सिटौला र सभामुख विष्टको भनाइ भने मिल्छ । उनीहरूले पार्टी केन्द्रले सभामुख नलिने निर्णय नगरेको जिकिर गर्छन् ।

नेता सिटौलाले भने, “एक/दुईजना नेताहरूको असन्तुष्टि होला । तर, पार्टी केन्द्रले सभामुख नलिने भनेर निर्णय गरेको छैन ।” अब सभामुख फिर्ता नहुने उनले बताएका छन् । “अब सभामुख फिर्ता लिने कुरा हुँदैन,” उनले भने ।

नेताहरूबीचकै मतभिन्नताका कारण कार्यसम्पादन समिति बस्न नसकेको बारेमा प्रवक्ता मोहनकुमार श्रेष्ठसँग बुझ्दा उनी त्यसलाई नकार्छन् । पार्टी कमिटीहरूको बैठक बसिरहेकै उल्लेख गर्दै उनी भन्छन्, “पार्टी, सङ्गठन हो । नेताहरूबीच विभिन्न विषयहरूमा मतभिन्नता रहन्छ । तर, त्यसको आन्तरिकरूपमै समाधान खोज्नुपर्छ । अहिले समस्या छैन ।”

त्यसअघि उनले भने, “हिजो पनि आन्दोलन समितिको बैठक बसेको थियो । बैठकहरू बसिरहेकै छ । समस्या छैन ।”

कार्यसम्पादन समितिचाहिँ किन बस्न सकेन ? भन्ने नेपालभ्यूजको जिज्ञासामा उनको जवाफ छ, “अब चाँडै बस्छ । नेताहरूले त्यो कुरा उठाउँदै नै आउनुभएको छ । तर, त्यसलाई आन्तरिकरूपमै समाधान गर्नेछौँ ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved