शंकर भण्डारीको दाबी- हिन्दूराष्ट्र कांग्रेसको मूल एजेन्डा बन्छ, दमननाथ ढुङ्गानाले समर्थन छ भन्नुभएको छ

म महाअभियानमा छैन : दमननाथ ढुङ्गाना

नेपालभ्युज

शंकर भण्डारीको दाबी- हिन्दूराष्ट्र कांग्रेसको मूल एजेन्डा बन्छ, दमननाथ ढुङ्गानाले समर्थन छ भन्नुभएको छ

काठमाडौं । शंकर भण्डारी नेपाली कांग्रेसका नेता एवम् सांसद हुन् । तर, उनले सोमबार मात्रै हिन्दूराष्ट्र महाअभियान घोषणा गरेका छन् ।

यसपछि उनले यो बताउन थालेका छन् कि हिन्दूराष्ट्रको एजेन्डा कांग्रेसको महासमिति बैठकको मूल एजेन्डा बन्नेछ । नेपालभ्यूजसँग कुराकानी गर्दै उनले भने, “कांग्रेसको महासमिति बैठक फागुनमा बस्दैछ । त्यहाँ हिन्दूराष्ट्र एउटा मूल एजेन्डाका रूपमा रहनेछ ।”

उनको दाबी छ, यस कुरामा कांग्रेस सभापति शेरबहादुर देउवाको समेत समर्थन छ । “यस कुरामा सभापतिज्यूको पनि समर्थन रहेको छ । हामीले उहाँसँग छलफल गरेका थियौँ, उहाँले वैदिक सनातन राष्ट्रको विपक्षमा छैन भनेर भन्नुभएको छ,” भण्डारीले भने ।

कांग्रेसमा बहुसङ्ख्यक नेता हिन्दूराष्ट्रको पक्षमा रहेको उनको अपुष्ट दाबी छ । “त्यहाँ पूर्वमहामन्त्री शशांक कोइरालालगायतका नेताहरू हिन्दूराष्ट्रकै पक्षमा हुनुहुन्छ । त्यहाँ बहुसङ्ख्यक नेताहरू वैदिक सनातन हिन्दूराष्ट्रकै पक्षमा हुनुहुन्छ,” उनी भन्छन् ।

हिन्दू तथा वैदिक सनातन शक्तिपीठहरूमा आशीर्वाद माग्नचाहिँ जाने तर, हिन्दूराष्ट्र हुनुहुन्न भनेर भन्नेहरूलाई ‘ढोंग’को संज्ञा दिँदै उनले भने, “भन्ने एउटा, गर्ने अर्को गरेर कहीँ पुगिन्न । हिन्दूराष्ट्रका सन्दर्भमा पनि यो भएको छ ।”

शंकर भण्डारीको नेतृत्वमा ‘हिन्दूराष्ट्र महाअभियान’ घोषणा, पूर्वसभामुख ढुङ्गानाले दिए कानूनी सल्लाह

पूर्वसभामुख दमननाथ ढुङ्गानाले पनि महाअभियानप्रति आफ्नो समर्थन भएको बताएको भण्डारीको दाबी छ । “त्यहाँ पूर्वसभामुख दमननाथ ढुङ्गानाले पनि मेरो समर्थन छ भनेर भन्नुभएको छ । हिजो हाम्रो कार्यक्रममा दिनभरि बस्नुभयो,” उनले भने ।

तर, ढुङ्गाना आफैँले भने आफ्नो समर्थन नरहेको बताए । संविधानविद्‌समेत रहेका उनले भनेका छन्, “महाअभियानका सन्दर्भमा संविधानका भेदहरू छुटाउने काममात्रै मैले गरेको हो । उहाँहरूले कानूनीरूपमा केही ब्रिफिङ माग्नुभयो, मैले त्यसबारे कानूनी सल्लाह दिएको मात्रै हो । म महाअभियानमा छैन,” उनले नेपाालभ्यूजसँग भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved