रास्वपाको ‘दबाब यात्रा’ : जनतासँग जोडिने ‘रणनीति’ 

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दबाब यात्रामा निस्कँदैछ । राष्ट्रिय गौरवका आयोजनाहरू निर्माणमा ढिलाइ भएको भन्दै दबाब दिने उद्देश्यले रास्वपाले दबाब यात्रा गर्न लागेको हो । 

नेपालभ्युज

रास्वपाको ‘दबाब यात्रा’ : जनतासँग जोडिने ‘रणनीति’ 

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दबाब यात्रामा निस्कँदैछ । राष्ट्रिय गौरवका आयोजनाहरू निर्माणमा ढिलाइ भएको भन्दै दबाब दिने उद्देश्यले रास्वपाले दबाब यात्रा गर्न लागेको हो ।

यसअघि पनि रास्वपा सभापति लामिछानेले नारायणगढ-बुटवल ११३ किलोमिटर हिँडेर दबाब यात्रा गरेका थिए । त्यसपछि निर्माणमा दबाब र जनतामा प्रभाव राम्रो परेको निष्कर्षसहित रास्वपाले थप २१ वटा निर्माणाधीन आयोजनाहरूमा पनि दबाब यात्रा गर्न लागेको हो ।

“हामीले यसअघि नारायणगढ-बुटवल ११३ किलोमिटर दबाब यात्रा गर्‍यौँ । त्यसले आयोजना निर्माणमा दबाब र जनतामा प्रभाव राम्रै परेको देखियो । त्यसैले निर्माणाधीन थप आयोजनाहरूको पनि गर्ने निर्णय गरेका छौँ,” रास्वपा महामन्त्रीसमेत रहेका प्रवक्ता डा. मुकुल ढकालले नेपालभ्युजसँग भने ।

उनकाअनुसार पार्टी कमिटी तथा कार्यदलहरूमा थप २१ वटा आयोजनाहरूको दबाब यात्रा गर्ने सहमति भइसकेको छ । त्यसलाई शुक्रबार बस्ने संसदीय दलको बैठकले अनुमोदन गर्नेछ । अनुमोदनपछि नेताहरूलाई जिम्मेवारी दिएर रास्वपाले दबाब यात्रा सुरू गर्नेछ ।

दबाब यात्राको सुरुवात माघ २१ गते हुनेछ । दबाब यात्राको सभापति लामिछानेले सुरुवात गर्नेछन् । सो दिन मेलम्ची खानेपानी आयोजनामा दबाब यात्रा हुने रास्वपाले जनाएको छ ।

सातै प्रदेशका तीन/तीनवटाका दरले २१ वटा आयोजनाहरूको दबाब यात्रा गर्ने प्रवक्ता ढकालले बताएका छन् । त्यहाँ प्रारम्भिकरूपमा नेता एवम् सांसदहरूलाई जिम्मेवारीसमेत दिइएको छ ।

प्रारम्भिकरूपमा तोकिएको जिम्मेवारीअनुसार सभापति लामिछानेसहितले नारायणगढ-पुल्चोक-गोन्द्राङ सडकमा दबाब यात्रा गर्नेछन् ।

यस्तै उपसभापति डोलप्रसाद अर्यालले काठमाडौं-मधेस द्रुतमार्ग र अर्का उपसभापति स्वर्णिम वाग्लेले घुमाउने पुल र सडक स्तरोन्नति आयोजनामा दबाब यात्रा गर्नेछन् ।

बाँकी सांसदहरूलाई संसदीय दलको बैठकले जिम्मेवारी प्रदान गर्नेछ । “अझै केही विषयहरूमा छलफल हुन बाँकी छ । तर, २१ वटा आयोजनाहरूको दबाब यात्रा गर्नेचाहिँ पक्का हो,” प्रवक्ता ढकालले भने, “थप सल्लाह शुक्रबार बस्न् संसदीय दलको बैठकले गर्नेछ र त्यो निर्णय पनि अनुमोदन गर्नेछ ।”

‘जनतासँग जोडिने रणनीति’

रास्वपाले यसअघि गरेको नारायणगढ-बुटवल ११३ किलोमिटर दबाब यात्राको क्रममा अनपेक्षित जनताको साथ पाएको दाबी गरेको छ ।

त्यसो त त्यहाँ पाएको जनताको साथबाटै हौसिएर रास्वपाले थप २१ वटा निर्माणाधीन राष्ट्रिय गौरवका आयोजनाहरूको पनि दबाब यात्रा गर्ने निर्णय लिएको हो । “हामीले दबाब यात्रा गर्ने क्रममा अथाह जनताको साथ पायौँ, जुन अपेक्षा पनि थिएन,” प्रवक्ता ढकालको दाबी छ ।

जसै, रास्वपाले आयोजनाहरू सम्पन्नको दबाब बढाउँदा जनतालाई पनि आफ्नो पक्षमा लिने रणनीति लिएको छ । यसबारे गरिएको प्रश्नमा रास्वपाका एक नेता भन्छन्, “स्वाभाविकरूपमा जनताको साथ पाइन्छ भन्ने हामीलाई छ । र, कुनै न कुनैरूपमा जनतालाई आफ्नो पक्षमा ल्याउँ भन्ने त छँदैछ । यो यात्रा खासगरी ती दुईवटै कामका लागि हो । अझ बढीभन्दा बढी जनता आफ्नो पक्षमा आऊन् भन्ने छ । दबाब पनि दिने र जनता पनि आफ्नो साथमा ल्याउने रणनिति नै हो ।”

त्यसो त यसअघि बसेको संसदीय तथा केन्द्रीय समितिको संयुक्त बैठकमा सभापति लामिछानेले जनपक्षीयरूपमा यात्रा गर्न नेताहरूलाई निर्देशन दिइसकेका छन् । “बरु ढिलो होस् तर, जनताले राखेको जिज्ञासाबाट नभाग्नुस्,” सभापति लामिछानेनले भनेका छन् ।

त्यसैगरी आफूहरू अगाडि बढ्ने भनाइ ती नेताको छ । “जनताको प्रश्नहरूबाट नभाग्ने निर्देशन सभापतिज्यूको छ । हामी भाग्दैनौँ पनि । हामी जनताकै मान्छे हौँ । जनतासँगै हिँड्छौँ,” उनले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved