विचार

अमेरिकामा किन कहिल्यै जित्दैन तेस्रो पार्टीले राष्ट्रपतीय निर्वाचन ?

त्यस्ता राजनीतिक आँधीहुरी आएका छन्, जसमा तेस्रो पार्टीले उल्लेखनीय सङ्ख्यामा ठूला पार्टीबाट भोट फर्काउन सकेका छन् । तर, यसरी आउने नयाँ पार्टीले जति नै गर्दा पनि दुई ठूला पार्टीमध्ये एकलाई प्रतिस्थापन गर्न भने सकेका छैनन् ।

अमेरिकामा किन कहिल्यै जित्दैन तेस्रो पार्टीले राष्ट्रपतीय निर्वाचन ?

अमेरिकी राष्ट्रपतीय निर्वाचनको प्रत्येक चक्रमा स्वतन्त्र तथा तेस्रो पार्टी उम्मेदवारको सेट अनिवार्यरूपमा समावेश हुन्छ । तिनले निर्वाचन दौडमा हल्लीखल्ली त सिर्जना गर्दछन् । तर, जित्न सक्दैनन् ।

केही वर्षयताको परिदृश्य हेर्दा सन् १९९२ मा रोस पेरोटले यथास्थितिलाई जोरदार धक्का दिएका थिए । उनले स्वतन्त्र उम्मेदवारका रूपमा करिब १९ प्रतिशत भोट पाएका थिए। त्यो आफैँमा एक ठूलो उथलपुथल थियो । अन्यथा हामी दुई ठूला पार्टीतिरै दौडिरहेका मानिसको भीड मात्र देख्छौँ ।

सन् २०२४ को दौड पनि दोस्रो प्रकारकै छ । यसपटक पनि प्रोफेसर कार्नेल वेस्टजस्ता साँच्चै स्वतन्त्र, ग्रिन पार्टीका जिल स्टेनजस्ता साना पार्टीवाला दिग्गज र रोबर्ट केनेडी जुनियरजस्ता पूर्व डेमोक्रयाट्सको ठूला पार्टीको परिधिभन्दा बाहिरको सेट छ ।

तेस्रो पार्टी वा स्वतन्त्र उम्मेदवारले अमेरिकामा राष्ट्रपतीय निर्वाचन कहिल्यै जितेका छैनन् । यो देशको इतिहासमा जस्तै लोकप्रिय तेस्रो पक्ष उम्मेदवारले पनि समाचारको हेडलाइन बन्नु र दुई ठूला पार्टीको केही भोट खोस्नुबाहेक केही गर्न सकेनन् । सन् २००० मा नादेर र सन् २०१६ मा स्टेन त्यतिमै सीमित भए ।

तर, पनि हरेक ४ वर्षमा चुनाव आउँदा केही मानिसले आफूलाई तेस्रो पार्टी वा स्वतन्त्र उम्मेदवारका रूपमा अगाडि सार्दछन् । अमेरिकी मतदाताको उल्लेखनीय सङ्ख्याले तिनलाई मतदान पनि गर्दछ । अरु धेरैले यसो भन्छन् कि यदि ती उम्मेदवारले जित्ने सम्भावना हुन्थ्यो भने उनीहरूले पनि तेस्रो पक्षमै मतदान गर्थे ।

यो कुरा बढो प्रष्ट भाषामा भन्न सकिन्छ कि अमेरिकामा रिपब्लिकन र डेमोक्रेटिक पार्टीले प्रस्तावित गर्ने नेतृत्वभन्दा फरक वैकल्पिक नेतृत्वको प्रयुक्त माग छ ।

अमेरिकामा दुईदलीय प्रणाली लगभग देश जत्तिकै पुरानो हो । २०० वर्षभन्दा बढी अवधिका सबै चुनावमा प्रत्येक अमेरिकी राष्ट्रपति दुईमध्ये एक प्रमुख राजनीतिक दलसँग सम्बन्धित थिए । ती दल फेडेरालिस्ट र डेमोक्रयाटिक रिपब्लिकन होस वा ह्वीङ र डेमोक्र्याटिक, अब्राहम लिंकनको समययता रिपब्लिकन र डेमोक्र्याट्स ।

यस्तो कठोर दुई पार्टी प्रणालीमा तेस्रो पार्टी वा स्वतन्त्र उम्मेदवारले निर्वाचनमा रङ्ग थप्ने भद्र कार्य मात्र गर्दछन् । तिनले केही क्रान्तिकारी योजना र प्रस्ताव अघि सार्दछन्, जनतालाई मनोरञ्जन दिन्छन् ।

अमेरिकी राजनीतिमा द्विविभाजन यति कडा छ कि सन् १९९६ को चुनावको बेलाको सिम्पसनको प्रसिद्ध भनाइ धेरैले सम्झिन्छन् । उनले भनेका थिए— अमेरिकीहरूले कुनै दिन अन्तरिक्षबाट एलियनलाई भोट देलान तर, तेस्रो पार्टीलाई भोट दिँदैनन् ।

यसको मुख्य कारण ‘प्रथम हुनेले जित्ने’ (एफपीटिपी) निर्वाचन प्रणालीले सिर्जना गर्ने द्विविधा हो । दुवै ठूला पार्टीप्रति मोहभङ्ग भएका समयमा पनि मतदाता यो प्रणालीको कारण द्विविधामा फस्ने र सहनशील भएर तिनैलाई भोट दिने स्थिति बन्छ ।

‘प्रथम हुनेले जित्ने’ निर्वाचन प्रणालीको अर्थ बहुमत होस् कि नहोस् सबैभन्दा धेरै भोट पाउनेले जित्ने हो । फ्रान्सेली समाजशास्त्री मौरिस दुभेजर्सद्वारा स्थापित सिद्धान्तअनुसार यो प्रणालीले द्विपक्षीय विभाजनलाई बढावा दिन्छ, जो हामी आज अमेरिकामा यसो हुनुका दुई मुख्य कारणमध्ये देख्छौँ ।

यो निर्वाचन प्रणालीमा कुनै उम्मेदवारले आफ्नो मुख्य प्रतिस्पर्धीभन्दा १ भोट बढी पायो भने पनि चुनाव जित्छ । अर्कोतिर साना दललाई निर्वाचनमा प्रतिस्पर्धा गर्न निरुत्साहित गर्दछ । जब यस्तो निर्वाचन प्रणालीमा तीनवटा पार्टी सँगसँगै प्रतिस्पर्धा गर्दछन्, दुई ठूला दलहरूको गुटबन्दी बलियो हुन्छ । उनीहरूले यो वा त्यो मध्ये एकलाई रोज्ने वातावरण निर्माण गर्दछन् । चुनाव पूर्व नै मतदाताले दल र उम्मेदवारको लामो सूचीबाट दुई छान्दछन् र चुनावमा कुनै एक रोज्दछन् ।

दोस्रो कुरा, यो प्रणालीमा एक्लै चुनाव लड्न खोज्ने साना दललाई भोट हाल्न मतदाता आफैँ हिच्किचाउँछन् । साना पार्टीको योजना, सोच र प्रस्ताव उनीहरूलाई मन परेको हुन सक्दछ । तर, त्यस्तो बेला पनि भोट खेर जाने बुझाइले दुईमध्ये कम खराबलाई रोज्न पुग्दछन् । यो तर्क स्थिरतालाई राजनीतिशास्त्रमा ‘दुभेर्जसको नियम’ भन्ने गरिन्छ ।

हुन त राजनीतिशास्त्रमा विश्वव्यापी चरित्रका यस्ता सिद्धान्त थोरै हुन्छन् । मानवीय चरित्र सधैँ एउटै रहँदैन । मान्छेको जिन वा अणुको निकै कम सङ्ख्या मात्र अनुमान गर्न सकिने हुन्छ । भारत र बेलायतलगायतका देशमा भएका हालैका अनुसन्धानले ‘दुभेर्जस ल’ प्रति चुनौती सिर्जना गर्दछन् ।

अमेरिकामा पनि त्यसको अपवाद नभएको हैन । यहाँ पनि त्यस्ता राजनीतिक आँधीहुरी आएका छन्, जसमा तेस्रो पार्टीले उल्लेखनीय सङ्ख्यामा ठूला पार्टीबाट भोट फर्काउन सकेका छन् । तर, यसरी आउने नयाँ पार्टीले जति नै गर्दा पनि दुई ठूला पार्टीमध्ये एकलाई प्रतिस्थापन गर्न भने सकेका छैनन् ।

अन्यत्र जे होस, अमेरिकामा भने दुभेर्जरको नियम इतिहासभरि व्याप्त छ र यो छिट्टै कमजोर हुने कल्पना गर्न सकिँदैन । यो पङ्क्तिबद्धतालाई तोड्ने दुई वटा मात्र उपाय हुन सक्दछन् । कि त निकै ठूलो राजनीतिक प्रलयकारी घटना हुनुपर्दछ । कि त निर्वाचन प्रणाली नै फेर्न पर्दछ ।

यो प्रणालीका थुप्रै विकल्प छन् । ब्राजिल, जर्मनी, टर्कीलगायत दर्जनौं देशले समानुपातिक निर्वाचन प्रणालीमार्फत् बहुदलीय लोकतन्त्र कायम राखेका छन् । यसभित्रै पनि थुप्रै कुरा छन् । तर, समानुपातिक निर्वाचन प्रणालीको मुख्य कुरा प्राप्त मतअनुसारको सिट विभाजन हो । चुनावमा दलहरूले जे जति भोट पाउँछन्, त्यसैको अनुपातमा विधायकीमा सिट पाउँछन् ।

अहिलेको प्रणालीमा अमेरिकाको कुनै अमूक पार्टीले २० प्रतिशत भोट नै ल्यायो भने पनि त्यसको कहीँकतै कुनै प्रतिनिधित्व हुँदैन । यदि त्यसलाई प्रतिनिधिसभा, सिनेट वा कांग्रेसमा २० प्रतिशत सिट दिने हो भने त्यो तेस्रो पार्टी निकै बलियो हुनेछ ।

दुईभन्दा बढी पार्टी प्रभावशाली हुनसक्ने अवस्था सिर्जना गर्न अन्य प्रणाली पनि छन् । कुनै दलले जित्नका लागि ५० प्रतिशतभन्दा बढी बहुमत भोट प्राप्त गर्नुपर्ने प्रणाली धेरै दलको अस्तित्वलाई अनुमति दिन्छ । किनकि यो प्रणालीमा पहिलो चरणमा दोस्रो हुने हार्नु हैन ।

अलेक्जेन्ड्रिया आकासियो कर्टेज, जो प्रजातान्त्रिक समाजवादी हुन्, तर डेमोक्र्याटिक पार्टीमा छन्, उनले एकपटक कंग्रेसमै भनेकी थिइन्, “यदि अरु देशमा हुन्थ्यो भने जो बाइडन र म एउटै पार्टीमा हुने थिएनौँ ।”

यदि फरक निर्वाचन प्रणाली हुन्थ्यो त उनी प्रजातान्त्रिक समाजवादी दल बनाएर भिन्नै चुनावी दौडमा जान सक्थिन् । अरु धेरै देशमा त्यस्तो भएको छ । अरु देशमा अमेरिकाको तुलनामा समकक्षी पार्टी धेरै हुन्छन् । रिपब्लिकनको कुरा पनि त्यही हो । आर्थिक स्वतन्त्रतावादी, सामाजिक रुढीवादी र धर्मनिरपेक्षतावादीहरू एउटै पार्टीमा बस्नु पर्ने थिएन । तिनका भिन्नाभिन्नै पार्टी हुन सक्थे । श्रमिकवादी, वातावरणवादी र अन्य स्वतन्त्र स्वार्थ समूहहरूले आ-आफ्नै पार्टी बनाउन सक्थे ।

त्यस्ता प्रणालीका पनि कमजोरी नभएका भने हैनन् । बहुदलीय लोकतन्त्रमा कहिल्यै कुनै पार्टीको बहुमत नआउनुले राजनीतिक उथलपुथल निम्त्याइरहन्छ । गठबन्धनको आवश्यकता पर्दछ । गठबन्धन टुट्ने र सरकारविहीनताको भय क्रियाशील भइरहन्छ ।

अमेरिकामा सन् १९८१ यता १० पटक ‘सरकार बन्दी’ भएको छ । सरकारलाई रोक्ने प्रयत्न यो प्रणालीमा पनि छ । सरकारले काम गरिरहेकै बेला त मानिस परिणाम नदिएको गुनासो गर्दछन् । ‘सरकार बन्दी’ ले सिर्जना गर्ने रिक्तता बेवास्ता गर्न सकिँदैन ।

निर्वाचन प्रणाली सुधार बिल्कुलै सजिलो काम हैन । किनकि तिनै व्यक्ति प्रणाली सुधार गर्न सक्ने ठाउँमा हुन्छन्, जो विद्यमान प्रणालीका लाभग्राही हुन् । निर्वाचन प्रणाली सुधार त्यतिखेर सम्भव हुन्छ । जब, जनस्तरबाट व्यापक माग हुन्छ वा राजनीतिज्ञलाई आफूले बेलैमा सुधार नगरे भविष्यमा सुधार हुन सक्ने र इतिहासको प्रक्रियाबाट आफ्ना उत्तराधिकार छुट्ने भय उत्पन्न हुन्छ ।

तर, निर्वाचन प्रणाली सुधारको माग गर्नतर्फ थोरै मात्र मान्छेको ध्यान जान्छ । किनकि तिनले भोट हालिरहेका हुन्छन् । आफूले भोट दिएको उम्मेदवार वा पार्टीले जित्दा खुसी भइरहेका हुन्छन् । आफूले भनेजस्तो पार्टी र उम्मेदवारले नजित्दा निराश हुने हो । त्यस्ता मतदाताको ध्यान मात्र प्रणाली सुधारतिर हुन्छ । हरूवा उम्मेदवारका समर्थकलाई लाग्छ कि यदि खेलको नियम फरक भए हामी जित्थ्यौँ कि ?

फेरि मतदाता धेरै जटिलभन्दा सरल नियम मन पराउँछन्, परिणाम जेसुकै होस् । ‘प्रथम हुनेले जित्ने’ प्रणाली एकदमै सरल छ । अन्य धेरै देशले ‘जटिल प्रणाली’ भित्रबाट ‘ठीक काम’ गर्दछन् ।

अमेरिकामा पनि निर्वाचन नियम परिर्वतन गर्ने प्रयास नभएका हैनन् । कतिपय राज्यमा यो भएको पनि छ । जस्तो कि अलास्का र मयामी । यी राज्यले हालै राज्य र सङ्घीय निर्वाचनमा ‘रैंक च्वाइस भोटिङ’ प्रयोग गरेका थिए । न्यूओर्कले स्थानीय निर्वाचनमा यो प्रणाली प्रयोग गर्दछ । प्यू रिसर्च सेन्टरका अनुसार अमेरिकी निर्वाचन क्षेत्रहरूमा वैकल्पिक निर्वाचन प्रणाली अवलम्बन गर्ने प्रयास कुनै न कुनै बेला भएकै छन् ।

उदाहरणका लागि बीसौं शताब्दीको पहिलो आधामा धेरै शहरले एकल सङ्क्रमणीय मत प्रयोग गर्थे । यो एक प्रकारको ‘रैंक भोटिङ सिष्टम’ नै हो, जुन बहुसङ्ख्या सदस्य निर्वाचन क्षेत्रका लागि उपयोगी हुन्छ । यसले सांस्कृतिक तथा जातीय अल्पसङ्ख्यकलाई फाइदा पुर्‍याएको थियो । यही कारणले यसप्रति शत्रुतापूर्ण सोच राख्नेहरूले यसलाई हटाए । आज पनि कतिपय निर्वाचन क्षेत्र, राज्य र स्थानीय तहहरूले बढ्दो सार्वजनिक मागको कारणले वैकल्पिक निर्वाचन प्रणाली अपनाइरहेका हुन्छन् ।

संक्षिप्तमा भन्दा आज ‘बाइडन-ट्रम्प रिम्याच’प्रति अनुत्साहित र ‘रिपब्लिकन-डेमोक्र्याट द्विविभाजन’ प्रति असन्तुष्टहरूलाई एक प्रभावशाली तेस्रो पार्टीको व्यावहारिक आवस्यकता र औचित्य छ । तर, यो काम तेस्रो पार्टीको उम्मेदवारलाई समर्थन गरेर हुने देखिन्न । तर, भएकै पार्टीमध्येबाट निर्वाचन प्रणाली परिवर्तन गराएर भने हुन सक्दछ ।

(अल जजिराबाट अनुदित)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved