नाटकमय काठमाडौं

काठमाडौंका थिएटरमा एकसाथ तीन वटा नाटक प्रदर्शनमा

नेपालभ्युज

नाटकमय काठमाडौं

अहिले काठमाडौंका थिएटरहरु नाटकमय भएका छन् । थापागाउँमा रहेको मण्डला थिएटरको मण्डला नाटकघर र मण्डला स्टुडियो तथा रातो पुलमा रहेको ओजस थिएटर एण्ड फिल्म स्टुडियोमा ३ वटा नाटक प्रदर्शन भइरहेका छन् । यी तिनैवटा नाटक एकैदिन अर्थात गत माघ ११ गतेदेखि प्रदर्शनमा आएका हुन् ।

मण्डला नाटकघरमा ‘मासिन्या’ मन्चन भैरहेको छ । तामाङ संस्कृति, संस्कार, रीतिरिवाज, भाषालगायतलाई समाजमा भएका उपल्लो भनिने वर्ग र राज्यसत्ताले गर्दै आएको शोषण र दमनलाई मुख्य विषय बनाइएर यो नाटक तयार भएको हो ।

‘मासिन्या’ बुद्धि तामाङ र सोनाम लामाको परिकल्पना तथा निर्देशनमा तयार भएको छ । ‘मासिन्या’ मा विष्णु मोक्तान, शीतल थोकर तामाङ, शुलभ पाण्डे, रमिला मोक्तान, अजय लामा, सानुमाया तामाङ, निर्मल साउद, सचीन रत्न, रविन दोङ, रुपेश लामा, सुनिल तामाङ, प्रशान्त वाइबा, विकास लामा, विजय नेपाल र इँगिहोपो काँइच सुनुवारको अभिनय रहेको छ । नाटकको लेखन लक्ष्मी रुम्बा, राजु स्याङ्तान र राबतले गरेका हुन् । यो नाटक माघ २८ गतेसम्म सोमबारबाहेक हरेक दिन साँझ ५ बजे र शनिवार भने दिउँसो २ बजे अतिरिक्त शो मन्चन भइरहेको हो ।

यसैगरी रातोपुलस्थित ओजस थिएटर एण्ड फिल्म स्टुडियोमा नाटक ‘समयको पीडा’ मन्चन भैरहेको छ । कलाशी प्रोडक्शन हाउस प्रा.ली को प्रस्तुतिमा रहेको नाटक  साहित्यकार पद्यावती सिंहको कथा ‘समयको पीडा’ को नाट्य रूपान्तरण हो ।

विशाल देवकोटा, संगीता थापा, अर्जुन दुलाल, अन्जसा रिजाल, उन्नत उप्रेती, सगुन पोखरेल, रोहित श्रेष्ठ, पुणर् गन्धर्व, नवीन प्याकुरेल, कपिल दिप काफ्ले र विपिन जैसवालको अभिनय रहेको नाटकका लागि विदेशिएका नेपालीहरु नफर्केपछि एक्लिएका बा-आमाको पीडालाई देखाउन खोजिएको छ ।

कक्षा ९ को अनिवार्य नेपाली विषयमा समावेश रहेको ’समय पीडा’को रुपान्तरण गरिएको यस नाटकलाई सुन्दर धितालले निर्देशन गरेका छन् ।

मण्डला थिएटरको मण्डला स्टुडियोमा अमेरिकी नाटककार एडवर्ड अल्बीले लेखेको नाटक ‘ द जू स्टोरी’ मन्चन भइरहेको छ । नाटकलाई ‘द वल्ड थिएटर नेपाल’ले नेपालीमा रूपान्तरण गरी मञ्चन सुरु गरेको हो। एक्लोपन महसुस गरिरहेको युवा पुस्ता, मानसिक रोगले पीडित र लैंगिक पहिचान बुझ्न नसकेका समुदायको कथा प्रस्तुत गरिएको नाटकमा राजकुमार पुडासैनी, विजय ताम्राकार, नर क्षेत्री, अदिति श्रेष्ठ लगायतको अभिनय रहेको छ।

सजग रानाले निर्देशन गरेको नाटक यहीँ माघ २७ गतेसम्म सोमबारबाहेक हरेक दिन अपरान्ह ४ बजे र शनिबार दिउँसो १२:३० बजे अतिरिक्त शो मञ्चन हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved