को हुन् ‘सामाजिक मिडिया प्रभावक’ ? कसरी बढ्दैछ यिनको भूमिका ?

सामाजिक सञ्जालमा अत्याधिक फलोअर्स भएका, जसका स्टाटस, पोष्ट वा अपलोड्स धेरै प्रयोगकर्तासम्म पुग्दछन्, तिनलाई सामाजिक मिडिया प्रभावक भनिन्छ । सामाजिक सञ्जाल विज्ञले प्रभावकलाई ४ भागमा वर्गीकरण गरेका छन् ।

नेपालभ्युज

को हुन् ‘सामाजिक मिडिया प्रभावक’ ? कसरी बढ्दैछ यिनको भूमिका ?

काठमाडौं । सामाजिक सञ्जाल तथा सञ्चारको बढ्दो प्रयोग र भूमिकासँगै एक नयाँ शब्दावली प्रचलनमा आएको छ— सामाजिक मिडिया प्रभावक ।

अंग्रेजीमा यिनलाई ‘सोसल मिडिया इन्फ्लुयन्सर’ भनिन्छ । सामाजिक मिडिया प्रभावक भनेका को हुन् र यिनले के-के गर्न सक्दछन् ? यसबारे जान्नु उपयुक्त हुन्छ ।

डिजिटल प्रविधिमार्फत् विचार, सूचना र मनोरञ्जन सामग्री प्रचारप्रसार गर्न सकिने खुला प्लेटफर्मलाई सामाजिक मिडिया भनिन्छ । सामाजिक मिडिया परम्परागत प्रेस, रेडियो वा टेलिभिजनभन्दा फरक छ । परम्परागत मिडिया निश्चित मिडिया कम्पनी, सञ्चार क्षेत्रका विज्ञ वा पेशाकर्मीद्वारा सञ्चालित हुन्छन् । तिनमा प्रकाशक वा सम्पादकको नियन्त्रण हुन्छ ।

आधुनिक डिजिटल अनलाईन पोर्टल पनि यस अर्थमा सामाजिक मिडिया हैनन् । किनकि तिनका मालिक वा सम्पादक हुन्छन् । तर, सामाजिक मिडिया व्यक्तिगत एकाउन्टबाट चल्छन् । त्यसमा पोष्ट हुने सूचना र सामग्रीमा स्वयम् खातावालाको हात हुन्छ । यसर्थ सामाजिक मिडिया एकप्रकारको प्रत्यक्ष र दोहोरो सञ्चार हो भने परम्परागत मिडिया अप्रत्यक्ष र एकोहोरो सञ्चार हो ।

विश्वमा अहिले करिब ५ अर्ब मानिसले सामाजिक सञ्जाल प्रयोग गर्दछन् । सबैभन्दा लोकप्रिय सामाजिक सञ्जाल फेसबूक, टिकटक, ट्वीटर (एक्स), युट्यूब, इन्टाग्राम, ह्वाट्सएप, वीच्याट्, म्यासेन्जर आदि हुन् ।

सामाजिक सञ्जालमा अत्याधिक फलोअर्स भएका, जसका स्टाटस, पोष्ट वा अपलोड्स धेरै प्रयोगकर्तासम्म पुग्दछन्, तिनलाई सामाजिक मिडिया प्रभावक भनिन्छ । सामाजिक सञ्जाल विज्ञले प्रभावकलाई ४ भागमा वर्गीकरण गरेका छन् ।

पहिलो ‘नानो प्रभावक’ अर्थात् सबैभन्दा सानो आकारका प्रभावक । यस्ता प्रभावकसँग १ देखि १० हजारसम्म फ्लोअर्स हुन्छन् ।

१० हजारदेखि १ लाखसम्म फलोअर्स भएकालाई सूक्ष्म प्रभावक अंग्रेजीमा ‘माइक्रो इन्फ्लुयन्सर’ भनिन्छ । १ लाखदेखि १० लाखसम्म फलोअर्स भएकालाई ‘बृहत् प्रभावक’ अर्थात् ‘म्याक्रो इन्फ्लुयन्सर’ भनिन्छ भने १० लाख बढी फलोअर्स भएका सामाजिक सञ्जाल प्रयोगकर्तालाई ‘मेगा इन्फ्लुयन्सर’ अर्थात् ‘महा-प्रभावक’ भनिन्छ ।

सामाजिक सञ्जालमा धेरै फलोअर्स हुनुका कारण एउटै छैनन् । नाम चलेका राजनीतिक व्यक्तित्व, कलाकार, पत्रकारजस्ता सेलिब्रेटीका फलोअर्स धेरै हुन्छन । तर, कतिपयले सामाजिक सञ्जालमै निरन्तर सक्रियता र चोटिला पोष्ट वा स्टाटसमार्फत् पनि फलोअर्स आर्जन गरेका हुन्छन् । कतिपय व्यक्ति कुनै खास घटना वा संयोगले सामाजिक सञ्जालमा उदाउँछन् र ‘प्रभावक’ बन्न पुग्दछन् ।

सामाजिक मिडिया प्रभावकले कस्ता सूचना पोष्ट वा शेयर गर्छन् वा गर्दैनन् भन्ने कुराले अबको संसारमा धेरै ठूलो महत्त्व राख्दछ । किनकि परम्परागत मिडिया कमजोर भएसँगै आम मानिसको दृष्टिकोण निर्माणमा सामाजिक मिडिया प्रभावकको ठूलो हात हुन्छ ।

यदि धेरै फलोअर्स छैनन् भने राम्रा र उपयोगी स्टाटस वा सूचना पनि धेरै मानिसमा पुग्दैनन् । सामाजिक मिडिया प्रभावकले विचार, दृष्टिकोणमार्फत् राजनीतिक तथा सामाजिक ध्रुवीकरण मात्र गराई रहेका हुँदैनन्, प्रत्यक्ष, परोक्ष तिनले व्यावसायिक विज्ञापन र प्रयोजित विचार तथा सामग्री प्रवाह पनि गरिरहेका हुन सक्छन् ।

चुनावी प्रचार अभियानका समयमा सामाजिक मिडिया प्रभावकको भूमिका ह्वात्तै बढ्छ । कतिपय राजनीतिक दलले सामाजिक मिडियामा धेरै फलोअर्स भएका प्रभावक पहिचान गरी उनीहरूको भिन्नै बैठकसमेत गर्दछन् । आफ्ना पार्टीका विचार र प्रचार सामग्री प्रसारमा सहयोग गर्न आग्रह वा ‘डिल’ गर्दछन् । तर, जरुरी छैन कि सबै प्रभावकले आफ्नो खाताको व्यावसायिक तथा प्रायोजित प्रयोग गरेका हुन्छन् । त्यसको स्वतन्त्र र वैयक्तिक उपयोग गर्नेहरू पनि धेरै हुन्छन् ।

मानिसलाई संस्थागतभन्दा व्यक्ति एकाउन्टमा रुचि वा आकर्षण बढी भएजस्तो देखिन्छ । भारतीय प्रधानमन्त्रीको औपचारिक ट्वीटर ह्यान्डलमा ५५.५ मिलियन फ्लोअर्स छन् । तर, निजी ट्वीटर ह्याडलमा झण्डै दोब्बर ९४.६ मिलियन फलोअर्स छन्, जबकी भारतीय जनता पार्टीको आधिकारिक ट्वीटर खातामा त्यो भन्दा धेरै कम २१.३ मिलियन मात्र फलोअर्स छन् ।

भारतीय राष्ट्रिय कांग्रेसको स्थिति पनि त्यस्तै देखिन्छ । पार्टीको आधिकारिक ट्वीटर एकाउन्टमा १ करोड १० लाख मात्र फलोअर्स छन् भने पार्टीका सबैभन्दा मूख्य र लोकप्रिय नेता राहुल गान्धीको एकाउन्टमा दोब्बरभन्दा बढी २ करोड ४७ लाख फलोअर्स छन् ।

नेपालमा अहिलेसम्म निरन्तर सबैभन्दा धेरै फलोअर्स भएका ‘मेगा प्रभावक’ डा. बाबुराम भट्टराई हुन् । उनको ट्वीटरमा १५ लाख भन्दा बढी फलोअर्स छन् । तर, उनको दल नेपाल समाजवादी पार्टीको खातामा भने करिब ४ हजार मात्र फलोअर्स छन् ।

कांग्रेस नेतामध्ये सबैभन्दा बढी गगन थापाका करिब १३ लाख फलोअर्स छन् । तर, नेपाली कांग्रेस पार्टीको एकाउन्टमा धेरै कम करिब २२ हजार ।सभापति शेरबहादुर देउवाका भने करिब साढे ४ लाख फलोअर्स छन् ।

एमाले अध्यक्ष केपी ओलीको व्यक्तिगत एकाउन्टमा करिब साढे ८ लाख फलोअर्स छन् । तर, एमालेको आधिकारिक खातामा करिब ८ हजार मात्र ।

राजनीतिक विश्लेषकहरूको ठहर छ कि सामाजिक मिडिया नभएको भए बालेन शाह, हर्क साम्पाङ र रवि लामिछानेहरूको उदय असम्भव थियो ।

काठमाडौंका मेयर बालेन्द्र शाहको विजयमा ‘रुटिन अफ नेपाल बन्द’ एकाउन्टको ठूलो भूमिका भएको विश्वास गरिन्छ ।

राजनीति, अर्थतन्त्र, समाज व्यवस्था र कला, साहित्य, सिनेमा, सङ्गीतको क्षेत्रमा जुन सूचना हुन्छन्, हिजो तिनले प्रभावकारिता हासिल गर्न कि त प्रत्यक्ष जनताकै घरआँगनमा जानुपर्थ्यो, कि त सार्वजनिक समारोह आयोजना गर्नुपर्थ्यो । या त परम्परागत मिडियाबाट चर्चा वा प्रसारण हुनु पर्दथ्यो ।

अब त्यो क्षमता प्रत्येक दर्शकमा सरेको छ । तर, ‘प्रभावक’ अझ बढी शक्तिशाली किन छन् भने उनीहरूले त्यसलाई चर्को स्वर र गतिमा प्रसारण गर्दिन सक्दछन् । आउँदा दिनमा सायद सबैभन्दा ठूला चुनाव प्रचारक सामाजिक मिडिया प्रभावक बन्न सक्दछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved