के ट्रम्प फर्किँदै छन् ? यस्तो छ अमेरिकी राष्ट्रपतिहरूको हार-जितको इतिहास

यो वर्षको नोभेम्बरमा अमेरिकामा ६० औं राष्ट्रपतीय निर्वाचन हुँदैछ । यो निर्वाचनबाट हाइट हाउसमा फर्किए भने ट्रम्पले उन्नाइशौं शताब्दीको एक दूर्लभ उदाहरण दोहोर्‍याउने छन् । अमेरिकी इतिहासमा एकपटक पराजित भएको बहालवाला राष्ट्रपति अर्को चुनावमा विजयी भएको एक मात्र उदाहरण छ ।

के ट्रम्प फर्किँदै छन् ? यस्तो छ अमेरिकी राष्ट्रपतिहरूको हार-जितको इतिहास

काठमाडौं । अमेरिकामा सोमबार राति अयोवा राज्यबाट आगामी राष्ट्रपतीय निर्वाचनमा लागि रिपब्लिकन ककस तथा प्राइमरी सुरुवात भयो । र, सानदार बाजी मारे विवादास्पद पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले ।

त्यो रात १ लाख १० हजार २ सय ९८ जना अयोवा रिपब्लिकनले ककसमा मतदान गरेका थिए । ट्रम्पले ५६ हजार २ सय ६० अर्थात् ५१ प्रतिशत मत प्राप्त गरे । दोस्रो स्थानमा देखिए फ्लोरिडा गवर्नर रोन डिसेन्टिस उनले २३ हजार ४ सय २० अर्थात् २१ प्रतिशत मात्र मत पाए ।

२१ हजार ८५ मत प्रात गरेकी साउथ क्योरोलिनाकी पूर्वगवर्नर निक्की हेली १९ प्रतिशत मतमा सीमित भइन् । चौथो स्थानमा रहेका भारतीय मूलका युवा अभियानकर्ता विवेक रामास्वामीले करिब ८ प्रतिशत मत मात्रै पाए । पहिलो ककसमै निरासाजनक चौथो स्थान पाएपछि उनले डोनाल्ड ट्रम्पलाई समर्थन गर्दै आफू यो दौडबाट पछि हटेको घोषणा गरे ।

दोस्रो प्राइमरी आउँदो साता जनवरी २३ मा न्यू ह्याम्पसायरका हुँदैछ । सम्भवत: अबका ककस र प्राइमरीमा तीन उम्मेदवार ट्रम्प, रोन र निक्की रहनेछन् ।

रामास्वामी नयाँ पुस्ताका रिपब्लिकन मानिन्थे । नयाँ पुस्ताका रिपब्लिकन सन् २०१६-२०२० को ट्रम्पको राष्ट्रपतीय कार्यकालबाट असन्तुष्ट थिए र उनीहरू पार्टीभित्रको नेतृत्व परिवर्तन चाहन्छन् भन्ने कतिपयको अनुमान थियो ।

तर, रामास्वामीको अभिव्यक्तिले ट्रम्पलाई झनै बलियो देखाएको छ । उनले नयाँ पुस्ताको रिपब्लिकनको मात्र हैन, एसियन मतदाताको पनि प्रतिनिधित्व गर्दछन् । कठोर आप्रवासन नीतिका पक्षधर ट्रम्पलाई भारतीय मूलका युवा उद्यमी तथा राजनीतिक प्रतिस्पर्धी रामास्वामीको समर्थन उल्लेखनीय महत्त्वको छ ।

कन्जर्भेटिभ श्वेत तथा इसाई समाज ट्रम्पको मुख्य भोट बैंक हो । उनले आफ्नो राष्ट्रपतीय कार्यकालमा मेक्सिकोको सीमामा पर्खाल लगाउन सुरू गरेका थिए । रामास्वामीले नेतृत्व परिवर्तनका लागि युवा गभर्नर रोन डिसेन्टिसलाई समर्थन गर्न सक्थे । तर, ट्रम्पलाई समर्थन गर्नुको अर्थ हो कि उनी रिपब्लिकन पार्टीभित्र अझै बलियो र लोकप्रिय छन् ।

सोमबार रातिको अयोवा ककसपछि ट्रम्पको रिपब्लिकन लोकप्रियता व्यापक चर्चाको विषय बनेको छ । संसारभरिका सञ्चारमाध्यमले यही प्रश्न गरेका छन्— के ट्रम्प ४ वर्षपछि फेरि ह्वाइटहाउसमा फर्किँदै छन् ?

यो वर्षको नोभेम्बरमा अमेरिकामा ६०औं राष्ट्रपतीय निर्वाचन हुनेछ । यो निर्वाचनबाट हाइट हाउसमा फर्किए भने ट्रम्पले उन्नाइसौं शताब्दीको एक दुर्लभ उदाहरण दोहोर्‍याउने छन् । अमेरिकी राष्ट्रपतीय निर्वाचनको इतिहासमा एकपटक पराजित भएको बहालवाला राष्ट्रपति अर्को चुनावमा विजयी भएको एक मात्र उदाहरण छ ।

यो रेकर्ड अहिलेसम्म २२औं राष्ट्रपति स्टेमर ग्रोभर क्लेभलैण्डका नाममा छ । सन् १८८४ को चुनावमा विजय भएका उनी सन् १८८८ मा पराजित भएका थिए । तर, सन् १९९२ मा फेरि विजयी भएका थिए । के ट्रम्पको नाममा यो उदाहरण दोहोरिएला ?

बहालावाला राष्ट्रपति पराजित भएका उदाहरण भने धेरै छन् । त्यसको पछिल्लो उदाहरण त सन् २०२० को चुनावमा ट्रम्प आफैँ थिए । सन् २०१६ मा विजयी राष्ट्रपति ट्रम्प पदमा बहाल हुँदै सन् २०२० मा वर्तमान राष्ट्रपति जो बाइडेनसँग पराजित भएका थिए ।

ट्रम्पको यो पछिल्लो उदाहरणसमेत जोड्दा ११ बहालवाला राष्ट्रपति दोस्रो कार्यकालका लागि चुनाव हारेको उदाहरण छ । तसर्थ बाइडन पराजित भएमा पनि कुनै नौलो घटना हुने छैन र विजयी भए पनि । अधिकांश राष्ट्रपतिले दोस्रो कार्यकालका लागि चुनाव जित्ने गरेका छन् ।

दोस्रो कार्यकालका लागि चुनाव हार्ने पहिलो राष्ट्रपति जोहन अडम्स थिए । उनी जर्ज वासिङटनपछि दोस्रो राष्ट्रपति थिए । सन् १७७९ को चुनावमा आडम्स थोमस जेफरसनसँग हारेका थिए ।

जोहन क्वेन्सी आडम्स छैटौँ राष्ट्रपति थिए । उनी सन् १८२५ देखि १८२९ सम्म अमेरिकाको राष्ट्रपति थिए । सन् २०२८ को निर्वाचनमा उनी एन्ड्र्यु ज्याक्सनसँग हारेका थिए ।

आठौँ राष्ट्रपति मार्टिन भोन बुरेनको पहिलो कार्यकाल सन् १८३७ देखि १८४१ सम्म रह्यो । जब सन् १८४१ मा दोस्रो कार्यकालको लागि भएको निर्वाचनमा उनी विलियम हेनरी ह्यारिसनसँग पराजित भएका थिए ।

२२ औं राष्ट्रपति स्टेफन ग्रोभर क्लिभलैण्ड सन् १८८४ को चुनाव जितेर सन् १८८८ को चुनाव हारेका थिए । तर, रमाइलो कुरा सन् १८९२ को निर्वाचन उनले फेरी जिते र २४ औं राष्ट्रपति बने ।

स्टेफेनले दोस्रो कार्यकालको चुनाव बेन्जामिन ह्यारिससँग हारेका थिए । तेस्रो चुनावमा फेरि उनले बेन्जामिन हयारिसलाई पराजित गरे । ह्यारिस दोस्रो कार्यकाल चुनाव नजित्ने राष्ट्रपतिको सूचीमा दरिन पुगे ।

२७ औं राष्ट्रपति विलियम टाफ्ट पनि दोस्रो कार्यकाल चुनाव हार्ने राष्ट्रपतिमा पर्दछन् । उनको पहिलो कार्यकाल सन् १९०९ देखि सन् १९१३ सम्म थियो । सन् २०१२ को निर्वाचनमा उनी बिल्ड्रो विल्सनसँग हारेका थिए ।

३१ औं राष्ट्रपति रोवर्ट हुभर सन् १९२८ मा राष्ट्रपति भई सन १९३२ को निर्वाचनमा फ्राकंलिन डि. रुजबेल्टसँग हारेका थिए ।

३८ औं राष्ट्रपति जेरार्ड फार्ड सन् १९७७ को चुनावमा जिम्मी कार्टरसँग हारेका थिए । तर, उनी पहिलो कार्यकालका लागि निर्वाचित राष्ट्रपति थिएनन् । उनी रिचर्ड निक्सनका उपराष्ट्रपति थिए । रिचार्ड निक्सन वाटर गेट काण्डमा राजीनामा दिन बाध्य भएपछि जेरार्डले राष्ट्रपतिको पद सम्हालेका थिए ।

फोर्डलाई पराजित गरी ३९ औं राष्ट्रपति जिम्मी कार्टर पनि एक कार्यकालमै सीमित भए । सन् १९८० को चुनावमा रोनाल्ड रेगन एक जादुगरी राजनीतिज्ञमा रूपमा उदाए । उनले निक्कै भद्र, असल र लोकप्रिय बनेका जिम्मी कार्टरलाई दोस्रो कार्यकालमा पराजित गरिदिए ।

सन् १९९२ को चुनावमा बिल क्लिन्टनको उदय उत्तिकै चमत्कारिक युवा राजनीतिज्ञका रूपमा भयो, जसले जर्ज डब्लु बुस सिनियरजस्ता प्रभावशाली राष्ट्रपतिलाई ४२ वार्षको हुँदा पराजित गरिदिए ।

आगामी निर्वाचनका लागि ट्रम्प र बाइडन दुवैको उम्मेदवारी अहिलेसम्म निश्चित भइसकेको छैन । तर, सम्भावना भने दुवैबीच प्रतिस्पर्धाको छ । यी दुईबीच इतिहास-चक्र कसरी दोहोरिन्छ, धेरैलाई रोचक जिज्ञासाको विषय बनेको छ ।

ट्रम्पले गत चुनावको परिणामलाई अस्वीकार गरेका थिए । साथै, चुनावमा धाँधली भएको भन्दै संसद् भवनमा आक्रमण गर्न आफ्ना समर्थकलाई उक्साएका थिए । यो दंगामा ९ जनाको मृत्यु भएको थियो । अहिले पनि १ हजारभन्दा बढी रिपब्लिकन समर्थक यस दंगामा संलग्न भएबापत् जेलमा छन् । ट्रम्पमाथि अहिले पनि दर्जनौं संगीन मुद्दा छन् । तीमध्ये कतिपय मुद्दामा उनलाई सजायको फैसलासमेत भएको छ ।

त्यसका बाबजुद रिपब्लिनबीच ट्रम्प किन उत्तिकै लोकप्रिय र शक्तिशाली छन् ? यो प्रश्नले धेरैको ‘दिमाग खराब’ भएको छ । कतिपय विश्लेषक ठान्दछन् कि ट्रम्पको लोकप्रियता अमेरिकी मतदातामा अन्तर्निहित असुरक्षाको भावनासँग जोडिएको छ ।

अमेरिकाका कन्जर्भेटिभ मतदाता ट्रम्पलाई एक सामान्य रिपब्लिन उम्मेदवार वा पार्टी नेता मात्र मान्दैनन् । आफ्नो समयको ‘मसिहा’ ठान्दछन् । चीनसँगको व्यापार युद्ध र महाशक्ति प्रतिस्पर्धा, अन्तर्राष्ट्रिय आप्रवासनको दबाब, बहुपक्षीय अन्तर्राष्ट्रिय संस्थाहरूको खर्चभार र बढ्दो अमेरिकी राष्ट्रवादको भावनाले ट्रम्पको लोकप्रियतालाई सम्भव बनाइराखेको बताइन्छ ।

त्यसो त उनले आफू ह्याइट हाउसमा फर्किन पाए रुसी राष्ट्रपति पुटिनलाई युक्रेन युद्ध रोक्न २४ घन्टाभित्र सहमत गराउने ट्रम्पले उद्घोष नै गरेका छन् । यो उद्घोष आफैँमा आश्चर्यजनक लाग्दछ । तर, तधेरैलाई आशावादी पनि बनाउँछ ।

विश्लेषक भने रिपब्लिकन पार्टीभित्र बलिया प्रतिस्पर्धीको अभावलाई पनि ट्रम्पको भाग्य मान्दछन् । त्यसो त संयोगहरूको पासा पल्टिने सम्भावना समाप्त भएको छैन । ५० मध्ये एक मात्र राज्यमा रिपब्लिकन ककस सम्पन्न भएको छ । ट्रम्पले जीवनमा तेस्रोपटक उम्मेदवार हुने अवसर पाए नै भने पनि बाइडन वा अरु कोही डेमोक्र्याटिक उम्मेद्वारको सामना गर्न बाँकी नै रहन्छ ।

ह्वाइट हाउसको यात्रापथमा ट्रम्पका व्यवधान अझै धेरै छन् । तर, यो प्रश्न भने झन्‌झन् शक्तिशाली हुँदैछ— के ट्रम्प फर्किँदै छन् ?


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप विश्लेषण/टिप्पणी

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved