नेपाल विपद्को जोखिममा छ, सबै भवनको बीमा गर्न अध्ययन थालेका छौं : प्रधानमन्त्री प्रचण्ड

नेपालभ्युज

नेपाल विपद्को जोखिममा छ, सबै भवनको बीमा गर्न अध्ययन थालेका छौं : प्रधानमन्त्री प्रचण्ड
फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतका तुलनामा विपद्पछिको खोज, उद्धार र राहतमा सरकारी संयन्त्रको प्रभावकारिता अनुभूति हुने गरी वृद्धि भएको बताएका छन् ।

ललितपुरमा आज आयोजित भूकम्प प्रभावित क्षेत्रमा विपद् व्यवस्थापन तथा पुनःनिर्माणसम्बन्धी कार्यक्रममा उनले सरकारका तीनै तहको सक्रियता र समन्वयका कारण जाजरकोट भूकम्पमा उद्धार, उपचार र राहतको अभियान सफल भएको बताए ।

प्रधानमन्त्री दाहालले भूकम्पपूर्वको तयारी, भूकम्पपछि तत्काल उद्धार, उपचार र राहतको प्रबन्ध तथा दीर्घकालीनरूपमा त्यसको प्रभावको समाधानमा सबैका प्रयास केन्द्रीत गर्नुपर्ने बताए । जाजरकोट भूकम्पबाट प्रभावितको उद्धार र राहतसँगै पूर्ण क्षति भएका घरका परिवारलाई तत्कालका लागि अस्थायी आवास निर्माण गर्न प्रतिघरपरिवार रु ५० हजार उपलब्ध गराइएको जानकारी दिँदै उनले सांसद विकास कोषको बजेटसमेत थप गरी रु १० अर्ब विपद् व्यवस्थापन कोषमा राखिएको बताए ।

अस्थायी आवास निर्माणमा स्थानीय तहको नेतृत्व स्थापित हुनेगरी प्रक्रिया अगाडि बढाइएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले प्रदेश र स्थानीय तहले पुनःनिर्माणका लागि पहल लिनुपर्नेमा जोड दिए। “स्थानीय सरकार जति सक्रिय हुन्छन् त्यति छिटो जनताले पैसा पाउँछन्, म स्थानीय स्वशासन स्थापित हुनेगरी काम गरेर देखाउन स्थानीय जनप्रतिनिधिलाई आह्वान गर्दछु”, उनले भने ।

प्रभावित क्षेत्रमा क्षतिको आकलन तथा आवश्यकता पहिचानको काम लगभग सम्पन्न भएको जानकारी दिँदै प्रधानमन्त्री दाहालले यसका आधारमा उपयुक्त कार्ययोजना तय गरी प्रदेश र स्थानीय तहको अगुवाइ तथा तीनै तहको समन्वयमा पुनःनिर्माणको कार्य प्रारम्भ गरिने बताए । उनले यसका लागि सम्बद्ध सबैलाई आ–आफ्नो क्षेत्र र तहमा तीव्रताका साथ तयारी गर्न निर्देशन पनि दिए ।

“निजी आवास मात्रै बनाएर पुग्दैन, सार्वजनिक संरचनाको पुनःनिर्माण तथा आर्थिक, सांस्कृतिकसहित समग्र पुनःनिर्माणको योजना बनाएर अघि बढ्ने योजना हुनुपर्दछ”, प्रधानमन्त्री दाहालले भने । उनले कर्णाली र सुदूरपश्चिमका जनताको सामाजिक, सांस्कृतिक पहिचान र संस्कृतिको सम्मानका साथै उनीहरूसँगको छलफल र सहमतिका आधारमा पुनःनिर्माणको अभियान थालनी गरिनुपर्ने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved