दक्षिण अफ्रिकाले इजरायलविरुद्ध अन्तर्राष्ट्रिय न्यायालयमा हालेको मुद्दाले कस्तो प्रभाव पर्ला ?

दक्षिण अफ्रिकाले आईसीजेमा दायर गरेको मुद्दाले अमेरिकालगायत इजरायल समर्थक पश्चिमा देश नैतिक सङ्कटमा परेका छन् । उनीहरूले कुनै प्रतिक्रिया दिएका छैनन् ।

नेपालभ्युज

दक्षिण अफ्रिकाले इजरायलविरुद्ध अन्तर्राष्ट्रिय न्यायालयमा हालेको मुद्दाले कस्तो प्रभाव पर्ला ?

काठमाडौं। दक्षिण अफ्रिकाले गाजा क्षेत्रमा प्यालेस्टिनीको ‘नरसंहार’ गरेको आरोप लगाउँदै इजरायलविरुद्ध अन्तर्राष्ट्रिय न्यायालयमा मुद्दा दायर गरेको छ । इन्टरनेसनल कोर्ट अफ जस्टिस (आइसीजे) मा दायर गरिएको मुद्दामा भनिएको छ— इजरायलले गरिरहेको कार्य र गल्तीको विशेषता नरसंहार हो ।

आरोपपत्रमा थप भनिएको छ— इजरायलले गाजा क्षेत्रमा गरिरहेका कार्य ‘प्यालेस्टिनी राष्ट्रियता, जातीयता र जातीय हिस्साको रूपमा गाजामा रहेको समुदायलाई नष्ट गर्ने’ अभिप्रायले प्रेरित छ ।

दक्षिण अफ्रिकी अन्तर्राष्ट्रिय सम्बन्ध तथा सहकार्य विभागले निकालेको प्रेस विज्ञप्तिमा भनिएको छ— इजरायल विशेषगरी सन् २०२३ अक्टोबर ७ पछि नरसंहार रोक्न असफल भएको छ । नरसंहारका लागि भइरहेका प्रत्यक्ष सार्वजनिक उक्साहटलाई अभियोजन गर्न असफल भएको छ ।

इजरायलले भने दक्षिण अफ्रिकाको आरोप अस्वीकार गरेको छ । इजरायली विदेश मन्त्रालयबाट जारी प्रेस विज्ञप्तिमा भनिएको छ— दक्षिण अफ्रिकाको आरोप आतङ्कवादलाई सहयोग हो । गाजाका जनता इजरायलका दुश्मन हैनन् । हामी इजरायललाई नष्ट गर्न चाहने त्यहाँका आतङ्कवादी समूहविरुद्ध मात्र लक्षित छौँ । गैरसशस्त्र नागरिकलाई हानी नपुगोस् भन्नेमा इजरायल सचेत छ ।

राष्ट्रपति महबुद अब्बास नेतृत्वको प्यालेस्टिनी प्रशासनले भने दक्षिण अफ्रिकी कदमको स्वागत गरेको छ । प्यालेस्टिनी प्राधिकारको विदेश मन्त्रालयले जारी गरेको प्रेस वक्तव्यमा भनिएको छ— यो प्यालेस्टिनी जनताको सुरक्षाका लागि तत्काल गरिनुपर्ने कार्य थियो । इजरायलका नीति, कार्य र गल्तीको चरित्र नरसंहार भन्न मिल्ने नै छन् ।

दक्षिण अफ्रिकाले मुद्दा दायर गर्दै आईसीजेलाई ‘इजरायलले नरसंहार अभिसन्धि सन्दर्भका आफ्ना दायित्व उल्लङ्घन गरेको तत्कालीन स्थितिका आधारमा सबै कार्य बन्द गर्न आदेश जारी गर्दै इजरायलमाथि आवश्यक कारबाही गर्न’ अनुरोध गरेको छ ।

इजरायलले आफ्नो राष्ट्र र प्रतिरक्षा सैन्य बलले प्यालेस्टाइन र गाजा क्षेत्रका जनताविरुद्ध नभएर हमास आतङ्कवादी सङ्गठनविरुद्ध मात्र प्रतिरक्षात्मक कारबाही गरेको दाबी गर्दै आएको छ । इजरायलले हमासलाई आतङ्कवादी सङ्गठन मान्दछ । अमेरिका, युरोपियन युनियनलगायत अरु धेरै देशले हमासलाई आतङ्कवादी सङ्गठनमा राखेका छन् ।

अक्टोबर ७ यता गाजा क्षेत्रमा २१ हजारभन्दा धेरै मानिसको मृत्यु भइसकेको छ भने लाखौं नागरिक विस्थापित भएका छन् । गत मंगलबार दक्षिण अफ्रिकाको संसद्‌‌‌मा बहुमतले इजरायलसँगको औपचारिक सम्बन्ध निलम्बन र दूतावास बन्द गर्ने पक्षमा मतदान गरेका थिए ।

आईसीजेको वेबसाइटमा यससम्बन्धी सूचना यसरी राखिएको छ— सन् २०२३ डिसेम्बर २९ मा दक्षिण अफ्रिकी गणतन्त्रले इजरायल राज्यविरुद्ध नरसंहार रोकथाम तथा दण्ड अभिसन्धिप्रतिका आफ्ना दायित्वहरू उल्लङ्घन गरेको अरोप लगाउँदै अदालतसामु संस्थागत प्रक्रिया अघि बढाएको छ ।

दक्षिण अफ्रिकाले आईसीजेमा दायर गरेको मुद्दाले अमेरिकालगायत इजरायल समर्थक पश्चिमा देश नैतिक सङ्कटमा परेका छन् । उनीहरूले कुनै प्रतिक्रिया दिएका छैनन् । तर, आईसीजेले मुद्दाको प्रक्रिया कसरी बढाउँछ त्यो सबैका लागि जिज्ञासाको विषय बनेको छ ।

आईसीजे सदस्य राज्यहरू बीचको विवाद अन्तर्राष्ट्रिय कानूनअनुसार समाधान गर्न स्थापना गरिएको संयुक्त राष्ट्र सङ्घीय न्यायालय हो । नरसंहार रोकथाम तथा दण्ड अभिसन्धि संयुक्त राष्ट्र सङ्घमा सन् १९४८ डिसेम्बर ८ मा पारित भएको थियो ।

प्रारम्भमा ३९ देश यसका पक्ष राष्ट्र थिए । अहिलेसम्म १५२ देशले यस अभिसन्धिमा हस्ताक्षर गरेका छन् । इजरायल, प्यालेस्टाइन, दक्षिण अफ्रिका, अमेरिकालगायतका सम्बन्ध राष्ट्रहरू पनि यस अभिसन्धिका हस्ताक्षरकर्ता हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved