रुस–युक्रेन युद्ध : सातामै ४० नेपाली रुसी सेनामा भर्ना

७ जना मारिएको आधिकारिक जानकारी आए पनि कयौं मारिएका हुनसक्ने आकलन, कतिपय बेपत्ता

नेपालदेखि रुस र युक्रेन करिब ५ हजारभन्दा बढी किलोमिटर दुरी टाढा छ । त्यहाँ झन्डै दुई वर्षदेखि भीषण युद्ध चलिरहेको छ । युद्धसँग नेपालको प्रत्यक्ष कुनै साइनो छैन । तर त्यहाँको दुईदेशबीचको युद्धमा नेपाली मोहरा बनिरहेका छन् । ७ जना नेपाली मारिएको आधिकारिक जानकारी आए पनि अझै केही मारिएका हुनसक्ने आकलन छ । कतिपय बेपत्ता छन् ।

नेपालभ्युज

रुस–युक्रेन युद्ध : सातामै ४० नेपाली रुसी सेनामा भर्ना

काठमाडौं । रुस–युक्रेन युद्धमा सहभागी हुन गत साता मात्रै ४० जना नेपाली रुसको सैन्य सेवामा भर्ना भएका छन् । युक्रेनविरुद्धको लडाइँमा सहभागी हुन रुसी सेनामा ४० जना नेपाली भर्ना भएका हुन् ।

युद्ध लम्बिँदै जाँदा त्यसमा नेपालीको संलग्नता बढिरहेको छ । युद्ध सुरु भएको दुई वर्ष बित्दा रुसी सेनामा भर्ना हुने नेपालीको सङ्ख्या करिब ७ सय पुगेको त्यहाँका नेपालीहरूले बताएका छन् ।

अघिल्लो साता प्रधानमन्त्री पुष्पकमल दाहालले काठमाडौंमा आयोजित एक कार्यक्रममा करिब दुई सय नेपाली भर्ती भएको जानकारी आएको बताएका थिए । तर त्योभन्दा धेरै नेपाली रुसी सेनामा रहेका नेपालीहरू बताउँछन् ।

नेपाली युवाहरू रूसी सेनामा भर्ना भएर युद्धमा होमिएका मात्र छैनन्, हालसम्म सात जनाले ज्यानसमेत गुमाइसकेका छन् । चार जना युक्रेनको बन्धक बनेका छन् । कैयौँ घाइते छन्, जसको एकिन सङ्ख्या आएको छैन ।

नेपालको परराष्ट्र मन्त्रालयले नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न आग्रह गरे पनि रुसले नेपाली युवालाई भर्ना गरिरहेको छ ।

१८ मंसिरमा मात्रै परराष्ट्रले ‘नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र गरिएको भए उनीहरूलाई तत्काल नेपाल फर्काउन’ भन्दै रुसलाई कूटनीतिक नोट पठाएको थियो।

रुसका लागि नेपाली राजदूतले पनि त्यहाँको परराष्ट्र मन्त्रालयमा गएर नेपाल सरकारको सन्देश सुनाएका थिए ।

तैपनि न त नेपाली युवाहरू रुस जान छाडेका छन् । न त रुसले सेनामा भर्ना गर्न नै छाडेको छ । यसरी रुसी सेनामा भर्ती भएका मध्ये पूर्वनेपाली सेना, पूर्वप्रहरीहरू, पूर्वमाओवादी लडाकु र अन्य सर्वसाधारण रहेका छन् ।

अधिकांश नेपालीहरू रोस्तोभ तालिम केन्द्रबाट भर्ना भएका छन् । त्यहाँ भर्ना भइसकेका नेपालीहरू भन्छन्, ‘‘सरकारले रुसी सेनामा भर्ना नहुन आग्रह गरे पनि अहिले पनि भर्ना रोकिएको छैन । दैनिकजसो नेपालीहरू भर्ना भइरहेका छन् । पछिल्लो साता मात्र ४० जना भर्ना भइरहेका छन् ।’’

परिबन्धनले फर्कन पाउँदैनन्

भर्ना हुनका लागि एक वर्ष, दुई वर्षलगायतको करारको सम्झौता हुने गर्छ । नेपालीहरू सोहीअनुसार भर्ना भइरहेका छन्।

तालिम लिएर सैन्य क्याम्पमा प्रवेश गरेपछि सम्झौता अवधि पूरा नभएसम्म फर्कन पाइँदैन । बीचमै फर्किए वा भागेमा रुसी सेनाले कारबाही गर्नेछ। यसैले सेनामा गएकाहरू करार अवधि नसकिएसम्म फर्कन पाउँदैनन् ।

युद्धमा घाइते भएर वा आरामका लागि सैन्य क्याम्प आइपुगेका नेपालीहरू आफन्त र नेपाली दूतावाससमक्ष उद्धारका लागि अपिल गरिरहेका छन् । उनीहरू सेनाबाट बाहिर निस्कन चाहेका छन् । तर सेनाको संहिता अनुसार उनीहरू बाहिर निस्कन पाएका छैनन् ।

रुसका लागि नेपाली राजदूतले पनि त्यहाँको परराष्ट्र मन्त्रालयमा गएर नेपाल सरकारको सन्देश सुनाएका थिए । राजदूतले रुसी सेनामा भर्ती भएका नेपालीको सम्झौता पत्र रद्द गरी नेपाल पठाइदिन अनुरोध गरेका थिए । तर, रुसले त्यसबारे अझै केही प्रतिक्रिया जनाएको छैन ।

रुस-युक्रेन युद्धको रेड जोनमा सयौं नेपाली : चारजना बन्धक, आएन सातवटै शव

मंसिर तेस्रो साता नेपालका लागि रुसी राजदूत एलेक्सेई नोभिकोभलाई बोलाएर नेपाल सरकारले ध्यानाकर्षण गराएको थियो । साथै कूटनीतिक नोट पनि हस्तान्तरण गरेको थियो ।

बुधबार पनि परराष्ट्र परराष्ट्र मन्त्रालयले राजदूत नोभिकोभलाई बोलाएर नेपाली युवालाई स्वदेश फर्काउन भनेको छ।

परराष्ट्रका एक अधिकारीले भन्छन्, ‘‘पछिल्लो समय रुसी सेनामा गएका नेपालीहरू मारिने क्रम बढेपछि सरकारले रुसको ध्यानाकर्षण गराइरहेको छ ।

उनीहरूले पनि नेपालीलाई आफ्नो सेनामा भर्ती नगर्ने प्रतिबद्धता जनाएका छन् । तर, भर्ती प्रक्रिया रोकिएको खबर आएको छैन ।’’

यसकारण गैरकानुनी भर्ती

नेपाली नागरिक भारत र बेलायतको सेनामा बाहेक अरू देशको सेनामा भर्ती हुन नमिल्ने सन्धि–सम्झौता भएको छ।

सन् १९४७ नोभेम्बरमा नेपाल, भारत र बेलायत सरकारको त्रिपक्षीय सन्धिअनुसार भारत र बेलायतको सेनामा नेपाली भर्ना हुन सक्ने प्रावधान छ । अन्य देशका सेनामा नेपालीलाई भर्ना गर्न मिल्ने गरी कुनै सन्धि–सम्झौता भएको छैन ।

त्यस्तै नेपाल १९४९ को जेनेभा कन्भेन्सनको पक्ष राष्ट्र हो । त्यो अनुसार कुनै पनि मुलुकले नेपालीलाई लगेर युद्धमा प्रयोग गर्न मिल्दैन । तर, रुसले त्यो सन्धि–सम्झौता उल्लंघन गरिरहेको छ ।

तर, महिनामा मासिक तीन लाखसम्म तलब र एक वर्षपछि रूसी पिआर (स्थायी बासिन्दाको परिचयपत्र) पाइने प्रलोभनमा उनीहरू भर्ती भइरहेका छन् ।

यसको लागि मानव तस्करहरूले नेपाली युवालाई ओसारिरहेका छन् । राम्रो पारिश्रमिक र पीआरको प्रलोभनमा पारेर नेपाली युवालाई दलालले भारत र खाडी मुलुक हुँदै रुस लगेर सेनामा भर्ती गराइरहेका हुन् ।

रुसी सेनाले पनि दुई देशको सम्झौताबिना नै नेपाली युवालाई भर्ती गर्दै युद्धमा पठाएको छ ।

नेपालीलाई रुसी सेनमा लैजान केही वैदेशिक रोजगार व्यवसायी (म्यानपावर कम्पनी) नै सक्रिय छन् । यससँगै रुसी सेनामा भर्ती गराउन मानव तस्करको सञ्जाल गाउँ गाउँसम्म फैलिएको छ ।

रुसी सेनामा भर्ना गराउन सक्रिय त्यस्ता १२ जना पक्राउ परेका छन् । यसबारे अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।

सस्तोमा ज्यान फाल्दै नेपाली युवा

रुस र युक्रेन नेपालदेखि करिब ५ हजारभन्दा बढी किलोमिटर दुरी टाढा छन् । त्यहाँ झन्डै दुई वर्षदेखि भीषण युद्ध चलिरहेको छ । युद्धसँग नेपालको प्रत्यक्ष कुनै साइनो छैन । तर त्यहाँको दुई देशबीचको युद्धमा नेपाली मोहरा बनिरहेका छन् ।

युद्धमा होमिँदा नेपालीको ज्यान गइरहेको छ । कति नेपाली घाइते त कति सम्पर्कविहीन भएका खबर छन् । रुसी सेनामा भर्ती भएका विदेशीहरूलाई रुसले युद्धकलासम्बन्धी पूरा तालिम नदिई ‘रेड जोन’ अर्थात् अति जोखिम क्षेत्रमा पठाइरहेको छ ।

जसकारण धेरै मानवीय क्षति भइरहेको छ । परराष्ट्र मन्त्रालयका अनुसार अहिलेसम्म मृत्यु हुने नेपालीको सङ्ख्या ७ पुगेको छ ।

जसमा स्याङ्जाको पुतली बजार–५ का प्रितम कार्की, इलाम–५ का गङ्गाराज मोक्तान, दोलखाको मेलुङ गाउँपालिका–६ का राजकुमार कार्की, कपिलवस्तुको वाणगंगा–१ का रूपक कार्की, कास्कीका देवान राई, गोरखाका सन्दीप थपलिया र कुन्दन सिंह नागल छन् ।

लडाइँबाट भागेर नेपाल आइपुगेका केही युवाहरूका अनुसार मृत्यु हुने नेपालीको सङ्ख्या अझै धेरै छ ।

युक्रेनसँग लड्न जाँदा चार नेपालीलाई युक्रेनी सेनाले कब्जामा लिएका छन् ।

उनीहरूमा बर्दियाका विवेक खत्री, काभ्रेका सिद्धार्थ ढकाल, मोरङका विकास राई र रोल्पाका प्रतीक पुन छन् । उनीहरूलाई छुटाउन नेपाल सरकारले युक्रेनसँग पहल गरिरहे पनि परिणाममुखी हुन सकेको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved